कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आउँदो पुसमै’ तामाकोसीको बिजुली

राष्ट्रिय गौरवका आयोजना ढिलो गर्नै पाइँदैन, हेलचेक््रयाइँ भए सीधै मलाई भन्नुस्, कारबाही गर्छु – प्रधानमन्त्री
राजेन्द्र मानन्धर

गोंगर (दोलखा) — प्रधानमन्त्री केपी ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना तोकिएको मितिमै सम्पन्न हुने बताएका छन् । राष्ट्रिय गौरवको उक्त आयोजनामा कुनै पनि बहानामा विलम्ब हुने कल्पना पनि गर्न नसकिने जनाउँदै प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन सुरु हुने विश्वास व्यक्त गरेका छन् ।

‘आउँदो पुसमै’ तामाकोसीको बिजुली

आयोजनाका काममा सरकारका कुनै निकायले ढिलासुस्ती गरे आफूलाई सीधै जानकारी गराउनसमेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् । ‘राष्ट्रिय गौरवको आयोजनालाई सरकारको कुनै निकायले ढिलासुस्ती गर्न पाउँदैनन्,’ बुधबार दोलखाको लामाबगरस्थित आयोजनास्थल निरीक्षणपछि प्रधानमन्त्री ओलीले भने, ‘कसैले यस्तो गरेको भए जानकारी पाउँm, तत्काल कारबाही गर्छु ।’ आयोजनाले कार्यप्रगतिका आधारमा २०७५ पुसदेखि व्यापारिक उत्पादन थाल्ने घोषणा गरिसकेको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले डलर सटहीमा अधिकृत कर्मचारीको समूह फेर्ने नाममा राष्ट्र बैंकले ढिलासुस्ती गरेर हैरान पार्ने गरेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । ओलीले एउटा कर्मचारीका कारण डलर सटहीमा हैरानी बेहोर्नुपर्ने कुरा उदेकलाग्दो भएको बताए । एक दिन ढिलो हुँदा दैनिक ४ करोड रुपैयाँ नोक्सान हुने भन्दै उनले आयोजनाका कामलाई सरकारी निकायबाटै बाधा पुर्‍याउने कुरा सह्य नहुने पनि बताए ।

ओलीले भूमिगत विद्युत् गृहको करिब एक घण्टा लगाएर निरीक्षण गरे । प्रधानमन्त्रीलाई लामोसाँघु–जिरी सडकको खाडीचौर–चरिकोट खण्डको काममा भएको ढिलासुस्तीको प्रत्यक्ष असर आयोजनामा परेको जानकारी गराइएको थियो । २०६७ सालमा सुरु भएको आयोजनाले करिब ९४ दशमलव ४ प्रतिशत काम सम्पन्न भएको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेको छ । भूकम्प, नाकाबन्दी र डिजाइनमा केही फेरबदल गर्नुपरेकाले आयोजनाको काम दुई वर्ष ढिलो भएको श्रेष्ठले बताए । आयोजनाका लागि विस्फोटक पदार्थ ल्याउने स्वीकृति लिन मात्रै ८ महिना लागेको सुनेर प्रधानमन्त्री छक्क परेका थिए । ऊर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिला तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गरिने बताए । आयोजनामा आइरहेका विभिन्न संकट समाधान गर्न सरकारले कदम चाल्ने जनाउँदै मन्त्री पुनले निर्धारित समयमै कार्य सम्पन्न गर्न सरकारले सहयोग गर्ने वचन दिए । निरीक्षण भ्रमणमा चिनियाँ राजदूत, ऊर्जा सचिव, प्राधिकरणका प्रमुखलगायत सहभागी थिए ।

आयोजनाका संकट
२०६७ मा निर्माण सुरु भएको ४ सय ५६ मेगावाटको आयोजनामा समयमै लगानी सुनिश्चितता नहुनु पहिलो समस्या बन्यो । प्रवेशमार्ग निर्माणमा अवरोध, भूकम्पबाट हेडवर्कमा समस्या र डिजाइनमा देखिएको त्रुटिले पनि समस्या थपे । नाकाबन्दीको चपेटाले आयोजना केही ढिलो हुन गयो । केही अवधि मजदुर हडतालका कारण पनि आयोजनाले पूर्वनिर्धारित कार्यतालिका पछ्याउन सकेन ।

जलविद्युत् क्षेत्रका कार्यमध्ये शिलान्यास, मुख्य सुरुङको ब्रेक थ्रु र विद्युत् उत्पादन भएको अवस्थालाई महत्त्वपूर्ण मानिन्छ । आयोजनाले तीनवटै काम सम्पन्न गरिसकेको छ । आयोजनाको प्रारम्भिक लक्ष्यअनुसार ३५ अर्ब २९ करोड भनिए पनि हाल ३७ अर्ब ३४ करोड खर्च भइसकेको छ । विभिन्न कारणले लागत बढेर ४६ अर्ब ६३ करोड खर्च पुग्ने प्रक्षेपण गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले तामाकोसी हाइड्रोपावर लिमिटेड कम्पनी गठन गरी लगानीको वातावरण सिर्जना गरेको थियो । आयोजनाले दोलखावासीलाई १० प्रतिशत, सर्वसाधारणका लागि १५ प्रतिशत सेयर व्यवस्था गरेको छ । प्राधिकरण, कर्मचारी सञ्चयकोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान तथा सरकारको समेत लगानी आयोजनामा छ ।

तामाकोसी आयोजनाले नेपालको जलविद्युत् इतिहासमा पहिलो पटक स्थानीयलाई सेयरको सुनिश्चितता गरेर नजिर बनाएको छ । तर, तीन वर्षअघि भइसक्नुपर्ने दोलखावासीको सेयर आन्दोलनका कारण अझै संकलन हुन सकेको छैन । दोलखालीबाट संकलन गरिसकेपछि मात्र सर्वसाधारणका लागि सेयर खोल्नुपर्छ ।

आयोजनाले २५ प्रतिशत अर्थात् २ अर्ब ६४ करोड सेयरबापतको रकम तत्काल संकलन गर्न नसक्दा आर्थिक संकटमा फस्ने अवस्था आउने छ । कार्यतालिकाअनुसार सेयर संकलन हुन नसक्दा आयोजनाले मासिक २ करोड ६४ लाख आर्थिक क्षति बेहोर्दै आएको छ ।

प्रकाशित : चैत्र २९, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?