कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिंस्रक ‘ध्रुबे हात्ती’ भेटियो

रमेशकुमार पौडेल

चितवन — ‘ध्रुबे हात्ती’ आतंकको पर्याय नै हो । चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केर बस्ती छिर्दै धमाधम मान्छेको ज्यान लिन थालेपछि ‘ध्रुबे’लाई मार्ने निर्णयसमेत भयो । उसलाई मार्नका लागि १६ लाख रुपैयाँ खर्च भयो । तर एकाएक हराएको हात्ती भेटिएको छ ।

हिंस्रक ‘ध्रुबे हात्ती’ भेटियो

निकुञ्जको पश्चिम क्षेत्र सुखिभार जंगलमा आइतबार बिहान देखा पर्दा ‘ध्रुबे’ आफ्नो पहिलेको स्वभावभन्दा विपरीत पाइयो ।


कसैलाई नटर्ने व्यक्तिलाई ‘ध्रुबे’ उपनाम दिने क्रम गाउँ समाजमा मात्रै सीमित थिएन । देशका मुख्य राजनीतिक नेताले पनि एक अर्कालाई घोचपेच गर्दा यो नाम उच्चारण गर्दथे । निकुञ्ज वरपरका गाउँका १५ जनाको ज्यान लिएपछि सरकारले ‘ध्रुबे’ मार्नका लागि हेलिकप्टरसमेत परिचालन गर्‍यो । तर, उ एकाएक बेपत्ता भयो ।


हराएको झण्डै पाँच वर्षपछि सुखिभार जंगलमा पत्रकारहरुको टोली अगाडि आइतबार बिहान देखिँदा ध्रुबे शान्त थियो । अझ भनौं उ प्रेमक्रिडामा मग्न थियो । नयाँ वर्षको रातमा धेरैले रमाइलो गरे । दम्पती र प्रेमी प्रेमिकाहरु सकेसम्म सँगै बसे । संयोग पनि कस्तो भने जंगली हात्ती ‘ध्रुबे’ले पनि नयाँ वर्षको पहिलो रात आफ्नो प्रेमिकासँगै बितायो ।


निकुञ्जको सुखिभार पोष्टमा सिक्रिले बाँधेको पोथी हात्तीलाई सँगै लैजान उसले एक महिनादेखि दाउ हेर्दै आएको थियो । सुखिभार पोष्टमा दुईवटा हात्ती छन् । एउटा भाले हात्ती छ जसको नाम पारसगज हो । अर्को पोथी हात्ती तिर्थमानकली छ । सुखिभार पोष्टका माहुते राजेश सिंहका अनुसार ‘ध्रुबे’ एक महिना अघिदेखि पोथी हात्ती तिर्थमानकलीसँग नजिक हुँदै थियो ।


‘शनिबार राति आएर अलि उत्पात मच्चायो । पोष्टको भाले हात्ती पारसगजलाई पनि हानेर घाउ बनाएको छ । पोथी तीर्थमानकलीको सिक्री नै चुडाएर सँगै लिएर गएको हो’ माहुते राजेशले भने । पोष्टभन्दा लगभग एक किलोमिटर पर घोलसँगैको झाडीभित्र आइतबार बिहान देखिँदा ‘ध्रुबे’ र तीर्थमानकली सँगसँगै थिए । तर माहुतेलाई यसको मेसो थिएन ।


‘म त भित्रै जंगलमा लगेको होला भन्दै थिए । नजिकै रहेछ । अब एक दुई दिनपछि फर्केर आउँला’ माहुते राजेशले भने ।


पोथीसँग बसेपछि भाले हात्ती आक्रमक हुन छाड्छन् । चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जमा ३१ पोथी र २७ भाले हात्ती छन् । तर धेरै जसो पोथी हात्तीको गर्भाधान जंगली भाले हात्तीबाटै हुन्छ ।


पश्चिम क्षेत्रमा ध्रुबे र पुर्वी क्षेत्रमा रोनाल्डो नामको जंगली भाले हात्तीबाट निकुञ्जका धेरै पोथी हात्तीलाई गर्भधान हुने गरेको छ । भाले हात्तीहरु पोथी हात्तीसँग यौन संसर्ग गर्न नपाउँदा आक्रमक हुने माहुतेहरुको अनुभव छ । ‘पोथी हात्तीसँग बस्न रमाउन पाएपछि अब ध्रुबे त्यस्तो खतारनाक हुँदैन । त्यही भएर मैले बिहान पोष्टको भाले हात्ती चराउन हिँडेको छु’ माहुते राजेशले भने ।


चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल हराएको ध्रुबे हात्ती फर्केको बताउँछन् । 'तर अहिले उ पहिलेको जस्तो आक्रमक र हिंस्रक भने छैन' भन्छन् उनी । ध्रुबे हात्ती २०६९ सालको हिउँदमा निकै आक्रमक भएर निस्केको थियो । उसले त्यो वर्षको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चारजनाको ज्यान लिएको थियो ।


वि.सं. २०६६ साल माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको उसले तीन वर्षमा १५ जनालाई मारेपछि चितवन र खास गरेर माडीको अवस्था आतंकपूर्ण थियो । ०६९ सालको पुस १ गते बसेको चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो ।


त्यसपछि हात्ती नियन्त्रणमा लिन निरञ्तर दुई हप्तासम्म टोली जंगलमा परिचालित भयो । हात्ती नियन्त्रणमा लिन त्यो बेला १८ वटा घरेलु हात्ती, ४० जना निकुञ्जका कर्मचारी, सेनाको ३२ जनाको विशेष टोली र राष्ट्रिय प्रकृति संरक्षण कोषका सातजना कर्मचारी खटिएका थिए । त्यसपछि हात्तीलाई डार्ट (बेहोस) गराएर रेडियो कलर राख्नुका साथै उत्तेजना कम हुनका लागि माद रोकिने औषधि दिइएको थियो । हात्तीको घाँटीमा बाँधेको रेडियो कलर सोही वर्षको माघ २४ मा पर्सा जिल्लाको निर्मलवस्ती नजिक जंगलमा भेटिएको थियो । त्यसअघि नै पुस १५ गतेदेखि नै हात्ती सम्पर्कविहीन भएको थियो ।


‘पाँच वर्षअघि एकाएक हराएको सो हात्ती दुई तीन वर्षयता फेरि देखिएको छ । तर पहिलाको जस्तो कुनै आवेग र हिंस्रक स्वभाव खासै छैन’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले भने । हात्ती राम्रो स्मरण शक्ति भएको र विवेक पनि प्रयोग गर्न सकिने जंगली जनावर हो । मान्छे मार्दै जाँदा हेलिकप्टर समेतले पिछा गरेपछि अब मान्छेमाथि जाइलाग्नु हुँदैन भनेर हात्तीले सोचेको पनि हुन सक्ने त्यो बेला ध्रुबे नियन्त्रणमा खटेका एकजना अधिकारीले बताए ।

प्रकाशित : वैशाख २, २०७५ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?