मौलिकता गुमाउँदै गाउँ

भूकम्पपछि निर्माण भएका अधिकांश घर नौला छन् । ढुंगा र माटाको गारोको ठाउँ इँटा र सिमेन्टले लिएका छन्, स्लेट र खरको साटो छानामा जस्तापाता टल्किएका छन् ।
सुदीप कैनी

दोलखा — कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीको थामी बस्ती पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । अधिकांश घर बनिसके पनि स्थानीय भने खुसी छैनन् । उनीहरू सबैको एकै गुनासो छ– ‘हामीले परम्परागत घर पाएनौं ।’

दोलखाको कालिञ्चोक गाउँपालिका–९ को धामी बस्तीमा पुनर्निर्माण भइरहेका घर । तस्बिर : सुदीप

पुनर्निर्माणमा स्थानीय सामग्रीको साटो इँटा, सिमेन्ट र जस्तापाता प्रयोग भएको छ । ‘पहिले ढुंगा र माटाका दुईतले घर थिए, अहिले आरसीसी गरेका घर धेरै बन्न थाले,’ स्थानीय मंगलबहादुर थामीले भने । आरसीसी नगरेका नवनिर्मित घरमा पनि ढुंगा, माटो प्रयोग भएको छैन । तला भएका घरको संख्या घटेको उनले जनाए ।

२०७२ वैशाखमा भूकम्प आउनुअघि ढुंगा र माटाले बनेका घरले भरिभराउ थियो थामी बस्ती । पुनर्निर्माणसँगै थरीथरीका जस्तापाताले गाउँ झिलिमिली भएको छ । भत्केका घरका ढुंगा अलपत्र छाडेर महँगो इँटा गाउँमा भित्रिएका छन् । इँटा र सिमेन्ट लगाएर घर बनाउने फेसन चलेको मंगलबहादुरले सुनाए । कालिञ्चोक–९ मा एक हजारभन्दा बढी घरधुरी छन् । तीमध्ये ६० प्रतिशत थामी जातिको बसोबास छ । ९१ वर्षीय धन्चु थामी पनि नयाँ वर्षसँगै नयाँ घर सर्ने तयारीमा छन् । उनले बनाएको दुईतले घर पनि मौलिक खालको छैन ।

‘भूकम्पअघि ढुंगाको गारो, खरको छानो भएको घर थियो,’ उनले सम्झिए । नवनिर्मित धन्चुको घरको माथिल्लो तलो जस्तापाताले बेरिएको छ । सरकारले अनुदान लिन समयसीमा तोकेपछि एककोठे/दुईकोठे घर बनाउनेको संख्या बढेको स्थानीयको भनाइ छ । सरकारबाट प्राप्त हुने अनुदान गुम्ने डरले भूकम्पपीडितले हतारमा साना प्रकृतिका घर बनाउने गरेका छन् । अधिकांश नयाँ घरको छानोमा जस्तापाता प्रयोग भएको प्राविधिक निशान पौडेलले बताए । ‘टिनको टहरामा बसेका भूकम्पपीडितले नयाँ घरमा पनि जस्तापाताकै प्रयोग बढी गरेका छन्,’ उनले भने । कालिञ्चोकको माथिल्लो क्षेत्र र दोलखाको उत्तरी भूभागमा हिउँदयाममा हिमपात हुन्छ । जस्तापाताका छाना भएका घरभित्र जाडोयाममा झनै चिसो हुने उनीहरूको अनुमान छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरेका १७ प्रकारका भूकम्पप्रतिरोधी घरको नक्साअनुसार घर बनाउने लाभग्राहीको संख्या बढी छ । दोलखा सदरमुकाम चरिकोटमा भूकम्पअघि नै आरसीसी गरेका घर ठडिएका थिए । पछिल्लो समय ग्रामीण बस्तीमा सदरमुकामको सिको गर्दै आरसीसी घर निर्माण गर्ने लहर चल्न थालेको हो । प्राधिकरणले दोलखाकै बिगुमा नमुना बस्ती निर्माण प्रयास गरेको थियो । नमुना बस्तीमा समेत मौलिक परम्परागत घर निर्माण गर्न नसकिएको प्राधिकरणका दोलखा एकाइ प्रमुख सागर आचार्यले बताए । ‘दोलखाका धेरै ठाउँमा ढुंगा र स्लेट खानी छन्, घर छाउन गाउँकै स्लेट प्रयोग गर्न भूकम्पपीडितलाई प्रोत्साहन गर्न सकिएको छैन,’ उनले भने । बिगुवासीले घर बनाउँदा स्लेट खानीको ढुंगा बिक्री गरेर इँटा किनेका छन् । ‘स्लेट ढुंगा काठमाडौं लगेर बेचियो,’ आचार्यले भने, ‘तराईबाट महँगो इँटा झिकाएर घर बनाउने क्रम बढेको छ ।’ सदरमुकामसम्म ढुवानी गरेर इँटा लैजाँदा प्रतिगोटा १७ रुपैयाँभन्दा बढी पर्ने गरेको स्थानीयले सुनाए ।

तामाकोसी गाउँपालिका–३ जामुनेमा पनि मौलिकभन्दा आरसीसी गरेका घर बनाउने क्रम बढदो छ । ‘ढुंगा र माटाका सबै घर लडे, सिमेन्ट लगाए लडदैन जस्तो लाग्छ,’ जामुनेका ६३ वर्षीय कोमलप्रसाद पौडेलले भने । इन्जिनियरहरूले पनि ढुंगा र माटाको भन्दा आरसीसी गरेको घरलाई अनुदानका लागि सिफारिस छिटो दिने गरेको उनको अनुभव छ । चरिकोटबाट झन्डै ७० किलोमिटर टाढाको ग्रामीण बस्तीमा समेत धमाधम आरसीसी गरेका घर ठडिन थालेका छन् ।

सदरमुकाम जोड्ने कालोपत्रे सडक स्तरोन्नति गर्न भत्काएपछि क्षतिग्रस्त छ । त्यही सडकबाट महँगो भाडा तिरेर स्थानीयले सिमेन्ट, इँटा ओसारिरहेका छन् । पुनर्निर्माणका लागि सामग्री बोकेर दैनिक ट्रक र ट्रिपर ग्रामीण बस्तीमा पुग्छन् । सरकारले दिएको १७ प्रकारको नक्सामा सिमेन्ट र इँटा प्रयोग भएका घरका नमुना बढी भएकाले पनि सोही प्रकृतिका घर बनाउन स्थानीय आकर्षित भएको ७८ वर्षीय भानुभक्त पोखरेलले बताए । पुनर्निर्माणमा सघाउन गएका संघसंस्थाले पनि आरसीसी गरेका नमुना भवन बनाउन जोड दिएका छन् । सोही अनुसरण गर्दै भूकम्पप्रतिरोधी घरका नाममा आरसीसी घर बनेका हुन् । ‘पहिलेजस्तो घर बन्न छाडे, कोठा संख्या घटेका छन्, तला नभएका घर धेरै बनेका छन्,’ उनले भने । तला नभएका घर गाउँमा असुरक्षित हुने उनको भनाइ छ । पोखरेलले भने, ‘गाउँघरमा घरभित्र धेरै कुरा राख्नुपर्छ, अहिले बनेका घर साँघुरा छन् ।’

आफ्नो आवश्यकताभन्दा पनि सरकारलाई देखाउन घर बनाउने क्रम बढेको उनले सुनाए । ‘पुसभित्र घर नबनाए सरकारले अनुदानको किस्ता नदिने भनेपछि भकाभक जग खनेर पिल्लर गाड्न थालियो,’ उनले भने । नयाँ बनेका घर हेर्दा गाउँ पनि बजारजस्तै देखिन थालेको छ ।

जिल्लाभरका ६२ हजार ८ सय ३३ लाभग्राहीमध्ये १६ हजार ३ सयले पुनर्निर्माण सकेर अनुदानको अन्तिम किस्ता लिएका छन् । ५७ हजार ५ सयले पहिलो र ३६ हजार २ सयले दोस्रो किस्ता लिएको प्राधिकरणको दोलखा एकाइ कार्यालयले जनाएको छ । प्रमुख आचार्यका अनुसार स्थानीय सामग्री प्रयोग गरेर घर निर्माण गर्न वडा/वडामा खटिएका प्राविधिक र जनप्रतिनिधिमार्फत पीडितलाई सचेत गराइएको छ । ‘प्राधिकरणले आरसीसी गरेका घर बनाउनु भनेको हैन,’ उनले भने, ‘भूकम्पप्रतिरोधी घर बनाउन भनेको हो ।’

भूकम्पप्रतिरोधी हुन इँटा–सिमेन्ट नै प्रयोग गर्नुपर्छ भन्ने भ्रम पीडितहरूमा परेको हुन सक्ने उनले बताए । ‘ढुंगा र माटो प्रयोग गरेर पनि भूकम्पप्रतिरोधी घर बनाउन सकिन्छ, तर भन्दाभन्दै पनि ग्रामीण बस्तीको मौलिकता गुम्दै गएको छ,’ उनले भने ।

प्रकाशित : वैशाख ४, २०७५ ०७:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आफ्नै समूह सम्हाल्न पौडेललाई सकस

समाचार टिप्पणी
महामन्त्री शशांक कोइरालाको भूमिका पौडेलको मुख्य टाउको दुखाइ बनेको छ
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सभापति शेरबहादुर देउवालाई जस्तै आफ्नो समूह सम्हाल्न सकस देखिएको छ ।

निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेबार ठहर्‍याएर अग्रिम महाधिवेशनको आवाज उठाइरहेका बेला पौडेललाई नेतृत्वका आकांक्षी आफ्नो समूहका नेता व्यवस्थापनमा चुनौती देखिएको हो ।

निर्वाचन हारका विषयमा पार्टीभित्र संस्थापन र इतर पक्षबीच मतान्तर बढदो छ । १३ औं महाधिवेशनबाट पार्टीभित्र तेस्रो धारको नेतृत्व लिएर छुट्टै समूह खडा गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत देउवाको कार्यशैलीबाट असन्तुष्ट बन्दै पौडेलसँग निकट भएका छन् । त्यसअघि यी दुई नेताको सम्बन्ध पानी बाराबारको थियो । सिटौलाकै शब्दमा देउवालाई सभापति बनाउनेदेखि दुई वर्षसम्म ‘ब्ल्यांक चेक’ दिएर सहयोग गर्ने काम भएको थियो । त्यसैलाई लिएर पौडेल सिटौलासँग आक्रोशित मात्रै थिएनन्, औपचारिक संवादसमेत टुटेको थियो ।

संघीय संसद्, प्रदेश र स्थानीय तहकै निर्वाचनमा पार्टीले हार बेहोरेपछि यी दुवै नेता एउटै निष्कर्षमा पुगे– ‘सभापति देउवाको यस्तै कार्यशैली र भूमिकाबाट अब पार्टी चल्न सक्दैन ।’ मुद्दामा एक भएपछि पौडेल र सिटौलालाई जोड्ने भूमिकामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीदेखि युवा नेताहरू गगन थापा, प्रदीप पौडेलसम्म जुटे । आधा दर्जनजति गोप्य बैठक बसेर यी दुई नेताबीचको सम्बन्धलाई जोड्ने काम भएको छ । नेतृत्वका सवालमा भने दुवैका आआफ्ना स्वार्थ र प्रतिस्पर्धा छन् ।

पौडेलका लागि सबभन्दा बढी टाउको दुखाइ महामन्त्री शशांक कोइरालाको भूमिकालाई लिएर भएको छ । कोइराला सभापति देउवासँगको सम्बन्ध चिढाउन चाहँदैनन् । सभापति देउवा पार्टी नेतृत्वमा रहिरहने रणनीतिक योजनामा कोइराला फँसेको बुझाइ पौडेल पक्षको छ । तर, कोइराला भने आगामी महाधिवेशनमा देउवा र आफू नै सभापतिको उम्मेदवार हुन सक्ने बताउँदै देउवाको भुलभुलैयामा आफू नलागेको दाबी गर्छन् । उनले केही दिनअघि कान्तिपुरसँग आफूले देउवाको गल्ती र कमजोरीलाई समर्थन गरेको नभई पार्टीभित्रको विभाजन बढ्न नदिन तटस्थ रहेको प्रतिक्रिया दिएका थिए ।

पौडेल संसदीय दलका नेताको चुनावमा देउवाविरुद्ध कोइरालालाई नै उठाउन चाहन्थे । तर, कोइरालाले सर्वसम्मत भए मात्रै स्विकार्ने भन्दै मानेनन् । देउवाको प्रतिस्पर्धामा पौडेलले महामन्त्री प्रकाशमान सिंहलाई अघि बढाए । सिंहको प्रस्तावक बस्न गरिएको आग्रहसमेत कोइरालाले मानेनन् । भनाइ र गराइमा कोइरालाको दोहोरो चरित्र देखिएको भन्दै पौडेल थप सशंकित छन् ।

केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेलसहित १६ केन्द्रीय सदस्यले अग्रिम महाधिवेशनको माग राख्दै केन्द्रीय कार्यसमिति बैठकमा लिखित प्रस्ताव ल्याउने तयारी गरेका थिए जसलाई पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेतको समर्थन थियो । सुरुवातमा महामन्त्रीनिकट केही सदस्यसमेतले हस्ताक्षर गर्ने बताए । तर, पछिल्लोपटक उनीहरूमध्ये केही पछि हटे । पौडेलले अघि बढ्न कोइरालानिकट सदस्यलाई पनि आग्रह गरे । तर, उनीहरूले मानिसकेका छैनन् जसका कारण युवा नेताहरूले अग्रिम महाधिवेशनको लिखित प्रस्ताव ल्याउन ढिलाइ भइरहेको बताए । महामन्त्री कोइराला नै अग्रिम महाधिवशेनका पक्षमा छैनन् । त्यसैको असर उनी निकट नेताहरूमा पनि परेको देखिन्छ । ‘महामन्त्री कोइरालाकै भूमिकाले सभापति देउवा निर्वाचन हारमा जिम्मेवारी लिनसमेत तयार नदेखिएका हुन्,’ ती युवा नेताको भनाइ छ, ‘नत्र भने सभापतिलाई अग्रिम महाधिवेशनमा जानैपर्ने बाध्यतामा हामी पार्न सक्थ्यौं ।’

महामन्त्री कोइरालाको ‘संदिग्ध’ भूमिकाका बीच पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले पनि भावी नेतृत्वका लागि आआफ्नो तयारी थालेको बताएका छन् । नेतृत्वका विषयमा यतिबेला पौडेल र सिटौला मौन देखिन्छन् । यद्यपि पौडेलको भित्री चाहना एकपटक आफैं अघि बढ्ने देखिन्छ । यही समूहमा आबद्ध अधिकांश युवा नेता पनि पार्टी नेतृत्व अब पहिलो पुस्ता (शेरबहादुर देउवा र रामचन्द्र पौडेल) बाट हस्तान्तरण गर्नुपर्छ भन्ने पक्षमा देखिन्छन् । पौडेल दोस्रो पुस्ताका नेतामा एकले अर्कोलाई नस्विकार्ने समस्या हुने र त्यसबीचमा आफैं अघि बढ्न सकिने आसमा छन् । नेतृत्वका सबै आकांक्षीलाई व्यवस्थापन गर्दै संस्थापनविरोधी धारको नेतृत्व लिन पौडेललाई सकस परेको छ ।

केन्द्रीय सदस्य केसीका अनुसार अहिल्यै नेतृत्वको विषय उठाउँदा विवाद होला भनेरै संस्थापनइतर पक्षलाई गोलबद्ध पार्ने काम मात्रै भएको छ । केसी १३ औं महाधिवेशनमा देउवा समूहबाटै महामन्त्रीका उम्मेदवार थिए । पछिल्लो पटक देउवाको कार्यशैली मन नपराएर उनी पौडेलतिरै आइपुगेका हुन् । ‘पार्टीलाई सम्पूर्ण रूपमा रूपान्तरण गर्नुपर्छ भन्ने दिशामा मात्रै हामीले छलफल गरेका छौं,’ केही दिनअघि कान्तिपुरसँग केसीले भनेका थिए, ‘नेतृत्वको विषय अहिले थाती राखिएको छ । तत्कालीन परिस्थितिअनुसार जसलाई अघि बढाउँदा उचित हुन्छ, उसैलाई स्वीकार गरेर जाने नीति लिएका छौं ।’ महासमिति बैठकमा विधान संशोधन भएपछि अग्रिम महाधिवेशनमा जानुपर्ने मुद्दा पौडेल पक्षले लिएको छ । महामन्त्री कोइरालाको मौनताका कारण अहिले यो मुद्दासमेत ओझेलमा पर्न लागेको छ । भावी दिनमा संस्थापनइतर पक्ष कसरी अघि बढ्छ भन्नेमा महामन्त्री कोइरालाको भूमिकामा निर्भर
रहने देखिन्छ ।

प्रकाशित : वैशाख ४, २०७५ ०७:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT