कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोभले लाप, नक्कली सुनले विलाप

जनकराज सापकोटा

काठमाडौँ — गत वर्ष पुस २३ को कुरा हो । भक्तपुर सूर्यविनायकका राजेन्द्र थापा नार्गजुनको सेतो गुम्बा जाने बाटोको एकान्त स्थलमा पुगे । आफ्ना साथीसँग मोटरसाइकलमा पुगेका थापाले झोलामा २८ लाख ६० हजार रुपैयाँ बोकेका थिए ।

लोभले लाप, नक्कली सुनले विलाप

एकैछिनमा त्यहीँ आइपुगे रामेछापको दोरम्बा स्थायी घर भई भक्तपुर सल्लाघारी बस्ने अजय तामाङ, विष्णु मोक्तान, झापा घर बताउने कर्ण लिम्बू र अर्का एक जना । थापाले बिटाका बिटा रकम उनीहरूको समूहलाई दिए र त्यसबापत बिस्कुट आकारका एक केजी सुन लिए ।

करिब १५ लाख रुपैयाँ फाइदा हुने सोचमा सुनमा लगानी गरेका थापा त्यतिबेला झसंग भए जतिबेला उनले सुन बेच्न सुन पसलेकहाँ पुगे । पसलेले सुन नक्कली भएको बताएपछि थापा झसंगमात्रै भएनन्, उनको होसहवास नै उड्यो किनकि तस्करीको सुन सस्तोमा किनेर बेच्ने र मनग्गे कमाउने लोभमा उनले नजिकका साथीभाइबाट रकम सापटी लिएका थिए । सुन नक्कली भएको थाहा पाउनेबित्तिकै उनले सुन बेच्ने गिरोहलाई सम्पर्क गर्न खोजे । सबै सम्पर्कबाहिर पुगेको थाहा पाएपछि थापा निष्कर्षमा पुगे, नक्कली सुनमा फसियो । त्यसपछि उनी महानगरीय प्रहरी वृत्त स्वयम्भू पुगे । प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोख्रेलले सुन भनेर बेचिएको बिस्कुट पित्तलमा सुनको जलप लगाइएको तथ्य खुलेको बताए ।


घटनाको दुई महिनापछि वृत्तले नक्कली सुन बेच्ने गिरोहका चारमध्ये दुई जनालाई पक्राउ गरेको छ । वृत्तले सुन बेच्ने काममा संग्लन अजय र मोक्तानलाई पक्राउ गरेको छ भने कर्ण लिम्बूसहित अन्य एक फरार छन् । वृत्तका डिएसपी किशोर श्रेष्ठले फरारको खोजी जारी रहेको बताए । प्रहरीले दुवै जनामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने अनुमति लिइसकेको छ ।

प्रहरीसँग बयानका क्रममा दुवैले सुन बेचेबापत चार–चार लाख रुपैयाँ लिएको र बाँकी रकम अन्य दुईले लिएको बताएका छन् । डीएसपी श्रेष्ठले धेरै कमाउने लोभमा नक्कली सुन किनबेच भएको बताए । स्रोतका अनुसार तस्करीको सुन किन्ने काममा संग्लन थापामाथि पनि प्रहरीले थप अनुसन्धान अगाडि बढाइसकेको छ ।

प्रकाशित : वैशाख ६, २०७५ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?