कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा एक महिनामा चार बाघ मरे

रमेशकुमार पौडेल

चितवन — चितवनको पूर्वी क्षेत्रमा एक महिनायता चार बाघ मरेका छन् । दुई बाघ राष्ट्रिय वन क्षेत्रमा र दुई चितवन राष्ट्रिय निकुञ्जमा मृत फेला परेका हुन् । 

चितवनमा एक महिनामा चार बाघ मरे

आइतबार बिहान चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाबाट लगभग तीन किलो मिटर पश्चिम बद्रहनी गाउँ पारिको निकुञ्ज जंगलभित्र एउटा पोथी बाघ मृत फेला परेको छ । उक्त क्षेत्र वरपर एक महिना अघि गत चैत १० गते पनि एउटा पोथी बाघ मृत फेला परेको थियो ।


चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालय प्रमुख रहेका सहायक संरक्षण अधिकृत अविनय पाठकका अनुसार मृत फेला परेको बाघको घाँटी र पेटमा गहिरो घाउ छ । अर्को बाघसँग जुधेर मरेको हुन सक्ने सहायक संरक्षण अधिकृत पाठकले बताए ।


एक महिनाअघि पनि चोटका कारण मरेको पोथी बाघ नै फेला परेको थियो । पाठकका अनुसार त्यो बाघ पनि अर्को बाघसँग जुधेको थियो । बाघका बच्चाहरु दुई वर्षसम्म आमासँगै रहन्छन् । त्यसपछि अलग बस्ने गर्छन् । मरेका बाघहरु करिब तीन वर्षका थिए । ठाउँ र आहाराका लागि अरु बाघसँग लडाइ भएको निकुञ्जका अधिकारीहरुको अनुमान छ ।


एक महिना नबित्दै निकुञ्जभित्र दुई बाघ मृत फेला परे जस्तै निकुञ्ज बाहिरको जंगलमा पनि त्यस्तै घटना भएको छ । राष्ट्रिय वन क्षेत्र अन्तर्गत पर्ने रत्ननगरको पञ्चकन्या सामुदायिक वनभित्र शुक्रबार एउटा बाघ मृत फेला परेको थियो । त्यसअघि पञ्चकन्या वनभित्रै चैत्र ७ गते पनि मृत बाघ भेटिएको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले बताए ।


वन अधिकृत पौडेलका अनुसार बरण्डाभार क्षेत्रको वनभित्र गएको साउनमा पनि एउटा बाघ मरेको अवस्थामा फेला परेको थियो । पछिल्लो गणनामा नेपालभर १ सय ९८ बाघ मध्ये चितवनमा मात्रै १ सय २० बाघ छन् ।

प्रकाशित : वैशाख ९, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?