कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकताबाट उम्कने ठाउँ छैन : ओली

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले निकट भविष्यमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने दृढता व्यक्त गरेका छन् । 

एकताबाट उम्कने ठाउँ छैन : ओली

नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवस मनाउने क्रममा आइतबार काठमाडौंमा पार्टी एकता संयोजन समितिले गरेको कार्यक्रममा ओलीले एकतालाई सफल पार्नुबाहेक आफूहरुसँग अरु बाटो नभएको बताए । ‘एकता रोक्नु पर्ने कारण छैन, एकता रोक्ने केले ? रोक्न सक्ने ठाउँ केही पनि छैन’ उनले भने, ‘निकट भविष्यमा एकता हुन्छ ।’

एमाले र माओवादी केन्द्रले एकता गर्ने वाचा जनतासँग गरिसकेकोले अब कसैलाई दोष लगाएर उम्कने ठाउँ नभएको उनको भनाइ थियो । ‘एकता प्रक्रिया बडो मेहनतले यहाँसम्म आएको छ । अरु कसैलाई दोष लगाउने, कसैको टाउकोमा हालेर पन्छिने अवस्था अब छैन’ उनले भने, ‘जुत्ता मिलेन भन्ने हैन, खुट्टा तासेर पनि लगाउनुपर्ने विन्दुमा पुगिसक्यौं । एकता गर्नुपर्छ, जनतासँग प्रतिबद्धता गरिसक्यौं ।’

उनले एकता हुनेमा ढुक्क रहन नेता, कार्यकर्तालाई आग्रह गरे । ‘म ढुक्क रहन आग्रह गर्न चाहन्छु । आजको घटनाले टुसो पलाएको होला, त्यो बेकार छ । एकताविरोधी तत्वहरुले आश नगरे हुन्छ, एकता हुन्छ ।’

विगतमा कम्युनिस्ट पार्टी टुटफुटले अरुले फाइदा लिएको भन्दै अब त्यसो हुन नदिने ओलीले दाबी गरे । ‘हामी फुटेर अरुलाई फाइदा दिन हुँदैन । हामी जुट्ने हो । समृद्धिको यात्रामा मिलेर अगाडि बढ्नुछ ।’

एमाले र माओवादीको मिलनको प्रक्रिया ‘मेलामा लाएको मित होइन’ भन्दै ओलीले देशमा स्थिरता, शान्ति र समृद्धिको एउटै बाटो, गन्तव्य, नीतिगत एकता रहेको बताए ।

दुई पार्टीको संयुक्त कार्यक्रम सुरु हुनुअघि व्यानर माओ, लेलिनको फोटो नराखिएको भन्दै कार्यकर्ताहरुले विरोध जनाएका थिए । पछि नेताहरुको छलफलपछि दुई व्यानर राखेर कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रकाशित : वैशाख ९, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?