१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

ज्युँदो सहिदको जीवन कष्टकर 

शंकर आचार्य

पर्सा — मधेस आन्दोलनका ज्युँदो सहिद वीरगन्ज २३ प्रसौनीविर्ताका ४२ वर्षीय नगिना पासवानको जीवन कष्टकर बनेको छ । १३ वर्षअघि टाउकोमा लागेको गोली अडकिएर उनलाई शारीरिक पीडा हुन्छ ।

ज्युँदो सहिदको जीवन कष्टकर 

पहिलो मधेस आन्दोलन चरम उत्कर्षमा रहेका बेला २०६२ माघ २० गते प्रहरीले चलाएको गोली उनको टाउकोमा लागेको थियो ।

उति बेला स्थानीय प्रशासनले लगाएको कफ्र्यु तोड्न उनी गाउँबाट निस्किएको जुलुसमा सहभागी हुँदै वीरगन्ज तर्फ आउँदै थिए । त्यस क्रममा जिल्ला अदालत नजिक प्रहरीले गोली चलाउँदा उनको टाउकोमा गोली लागेका थियो । गम्भीर घाइते उनलाई उपचारार्थ हेलिकप्टरबाट राजधानी लगिएको थियो ।


२ महिना वीर अस्पतालमा उपचारार्थ भर्ना भएका उनको टाउकोबाट चिकित्सकले गोली निकाल्न सकेनन् । गोली निकाल्ने प्रयास गर्दा उनको ज्यान जान सक्ने भएकाले चिकित्सकले उक्त गोली ननिकाल्ने निर्णय गरे ।


अहिले टाउकोमा अडकिएको गोलीले उनको जीवन असहज बनाएको छ । टाउको दुख्ने, रिङ्गटा लाग्ने, घाममा हिँडडुल गर्दा अप्ठेरो हुने, मिहिनेतको काम गर्न नसक्ने जस्ता पीडा उनले भोग्दै आएका छन् ।


४ छोराछोरीका पिता नगिनाले घर चलाउन मिहिनेत मजदुरी नगरी हुँदैन । उनी दैनिक ज्यालादारीमा भवन रंगरोगन गर्ने काम गर्छन् । तर शरीरमा पहिले जस्तो ताकत छैन । घाममा काम गर्न सक्दैनन् ।


‘शरीर पहिले जस्तो सामान्य छैन, घाममा काम गर्न सक्दिनँ,’ उनले भने, ‘शरीरमा ताकत पनि छैन तर बालबच्चाको पेट पाल्न भए पनि जसोतसो ज्यालामजदुरी गरेको छुँ ।’ ज्युँदो सहिद भनिए पनि उनले सरकारबाट कुनै क्षतिपूर्ति वा जीवनवृत्ति पाएका छैनन् ।


नेताहरूले पनि आफ्नो खोजखबर नलिने गरेकाले उनी झनै दु:खी छन् । ‘आन्दोलनमा लागेर मेरो शरीर यस्तो जीर्ण बन्यो, न सरकारले न अन्य निकायबाट कुनै सहयोग पाएँ,’ नगिनाले भने, ‘नेताहरूले पनि कहिल्यै हाल खबर सोधेनन्, के हामीजस्ता आमजनताले सधैं बलिदानी मात्र दिने हो त ।’


२ नम्बर प्रदेशमा मधेसवादी दलको सरकार बनेपछि सहिद परिवारलाई रोजगारी दिने घोषणा सरकारले गरेकोमा आफूजस्तो ज्युँदाे सहिदको सोधखोज पनि नहुँदा धेरै दु:ख लागेको उनले बताए । ‘के ज्युँदो सहिदले सधैँ कष्टकर जीवनयापन गर्नुपर्छ,’ उनले भने, ‘ज्युँदो सहिदलाई कुनै सामान्य रोजगारी दिएर सहज जीवनयापन गराउनेतर्फ सरकारले विचार गर्नु पर्दैन ।’


नगिना अशक्त भएपछि उनका ४ छोराछोरीको पढाइ पनि अवरुद्ध हुन गएको थियो । सामाजिक अभियन्ता प्रकाश थारूको पहल तथा वीरगन्जका सुनचाँदी व्यवसायी भुलन सर्राफको सहयोगमा ३ वर्षयता उनका छोराछोरीले गाउँकै एक स्कुलमा नि:शुल्क पढन पाए पनि खेतबारी नभएका नगिनालाई परिवारको पेट पाल्न निक्कै गाह्राे छ ।

प्रकाशित : वैशाख १०, २०७५ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?