कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उड्ससँगै प्रतिमाको स्विङ

सुबास हुमागाईं

काठमाडौँ — विश्व गल्फका सर्वकालीन महान् खेलाडी टाइगर उड्सले आफ्नो ट्विटमा लेखे– ‘आजको दिन मेरो टिमका लागि निकै हौसलापूर्ण रह्यो । हामीले नेपालकी उत्कृष्ट गल्फर प्रतिमा शेर्पालाई भेट्यौं । हामी सबैले उनको कडा परिश्रम, मिहिनेत र लगावबाट धेरै कुरा सिक्यौं ।’

उड्ससँगै प्रतिमाको स्विङ

नेपाली गल्फर प्रतिमाले मंगलबार अमेरिकाको फ्लोरिडास्थित मेडलिस्ट गल्फ क्लबमा पूर्वविश्व नम्बर–१ गल्फर उड्ससँग प्रशिक्षण गर्ने अवसर पाएकी हुन् । विश्व चर्चित टेलिभिजन ईएसपीएनले निर्माण गरेको आफ्नो वृत्तचित्रको प्रिमियरका लागि अमेरिका पुगेकी प्रतिमाको उड्सलाई भेट्ने कार्यक्रम त्यहीं पुगेपछि बनेको थियो ।

निर्धारित कार्यक्रमअनुसार उड्सले प्रतिमासँग केही समय भेटघाट गर्ने भनिएको थियो । भेटमा उड्सलाई ‘मायाको चिनो’ का रुपमा आफ्नो घरेलु कोर्स रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को क्याप दिने सोच बनाएकी थिइन्, प्रतिमाले । तर उड्सले प्रतिमा आउने थाहा पाएपछि निधारित कार्यक्रमभन्दा अगाडि नै पुगेर उनलाई ड्राइभिङ रेन्जमा आधा घण्टा प्रशिक्षण दिए । प्रतिमाले रेन्जमा उड्सकै क्लब प्रयोग गरेर खेलिन् । ‘मैले उड्ससँग आधा घण्टा प्रशिक्षण गरें, सपनामा पनि यो हुन्छ भन्ने सोचेको थिइनँ,’ कान्तिपुरसँग प्रतिमाले भनिन्, ‘उड्ससँग उहाँकै क्लबमा भेट्ने भनेपछि निकै उत्साहित थिएँ र उहाँलाई आरएनजीसीको क्याप दिने सोचेकी थिएँ । एकछिन भेट गरेर फर्कने होला भनेर खेल्ने सामग्री बोकेकी थिइनँ । तर त्यहाँ पुग्नेबित्तिकै उहाँले मलाई नाम लिएर बोलाउनुभयो । मेरो स्विङ हेर्ने भन्दै रेन्जतर्फ लैजानुभयो ।’

आफ्नो केही सामान नलगेकी उनले उड्सकै क्लब प्रयोग गरी खाली खुट्टा केही बल हानिन् । ‘उहाँले मेरो स्विङमा केही गल्ती औंल्याइदिनुभयो,’ उनले भनिन्, ‘एकछिनपछि निर्धारित कार्यक्रमको समूहमा लगेर मेरो परिचय गराइदिनुभयो । म त अचम्भित भएँ ।’


गल्फका सर्वकालीन महान् खेलाडी उड्सले ईएसपीएनको वृत्तचित्रमार्फत प्रतिमाको गल्फ संघर्षबारे थाहा भएको बताए । ‘प्रतिमा साँच्चै नै प्रतिभावान गल्फर हुन् । मैले उनीबारे बुझेपछि उनलाई प्रत्यक्ष भेट्न पाउँदा निकै हौसला मिलेको अनुभूति गरेको छु । यहाँसम्मको उनको यात्रा र खुसी देख्दा निकै विशेष महसुस गरिरहेको छु,’ उड्सले भने । १४ पटक मेजर च्याम्पियन उड्सले यसअघि पनि प्रतिमालाई आफैंले प्रशंसापत्र पठाएका थिए ।

आरएनजीसीको तेस्रो होलनजिकै बसोबास गर्ने प्रतिमाले त्यहींबाट गल्फ सिकेकी हुन् । उनका बावुआमा दुवै क्लबमै काम गर्छन् । सानै उमेरमा गल्फमा गरेको प्रगतिका कारण प्रतिमालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाले चर्चामा ल्याएका छन् । उनको खेल र जीवन समेटेर ईएसपीएनले तयार पारेको वृत्तचित्र फ्लोरिडामा आयोजित ट्रिबेका फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । यसै चर्चाबीच बुधबार प्रतिमा नेपाल खेलकुद पत्रकार मञ्चले बर्सेनि आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्ड विधाको मनोनयनमा परेकी छन् ।

प्रकाशित : वैशाख १३, २०७५ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?