कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिविका दर्जन नयाँ भवनको निर्माण सकिँदै

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा एक दर्जन नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ । तीमध्ये ५ वटा निर्माण सम्पन्न भइसकेका छन्.। २०७२ वैशाखको भूकम्पले कीर्तिपुरस्थित त्रिविमा उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रारलगायत कार्यकक्ष भवन क्षतिग्रस्त भएका थिए ।

त्रिविका दर्जन नयाँ भवनको निर्माण सकिँदै

त्रिविले गठन गरेको क्षति अनुगमन तथा मूल्यांकन समितिले भूकम्पबाट १० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा ३९ भवन पुनर्निर्माण सिफारिस गरिएको थियो।


क्षतिग्रस्त भवन र भग्नावशेष यथावत् राखेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा नयाँ संरचना बनाइएका हुन् । शिक्षाध्यक्षको कार्यालय, उपकुलपति भवन, एग्रोबायोमेटेरियल भवन, सूचना प्रविधि केन्द्रको भवन, त्रिवि मुख्य प्रवेशद्वार र सेवा आयोगको द्वार निर्माण सम्पन्न भएको उपकुलपति तीर्थराज खनियाँले जानकारी दिए ।


राष्ट्रिय पुन:निर्माण प्राधिकरणको सहयोगमा कीर्तिपुरस्थित साबिक भवन भग्नावशेषलाई यथावत राखेर नयाँ ठाउँमा ती संरचना बनाइएका हुन् । निर्माण सम्पन्न भई शिक्षाध्यक्षको कार्यालय भवन प्रवेश खुलाइएको छ । त्यसैगरी निर्माण अन्तिम चरणमा रहेको उपकुलपतिको कार्यालयसमेत प्रवेश साइत जुराइएको छ ।


कीर्तिपुरस्थित त्रिवि हातामा निर्माण भइरहेका अन्य संरचना उपकुलपति कार्यालय, व्यवस्थापन डिन कार्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, डिन कार्यालयहरुको परीक्षा, शिक्षण अस्पताल बेसिक साइन्स, स्कुल अफ म्याथमेटिकल साइन्सेस भवन छन् भने भोटाहिटीमा ललितकला क्याम्पसबो भवन निर्माण भइरहेको छ । ‘अबको तीन महिनाभित्र निर्माण भइरहेको सबै संरचना सम्पन्न भइसक्ने छन्,’ भूकम्प गएको चार महिनापछि पदभार ग्रहण गरेका उपकुलपति खनियाँले भने, ‘सुरुमा निराशा थियो तर विभिन्न निकायसित सहयोग प्रस्ताव अघि बढायौं र सरकारले पनि चासो दिएकाले पुन:निर्माण प्राधिकरणको पूर्ण सहयोगबाट विश्वविद्यालयको ध्वस्त संरचनालाई नयाँ स्वरुपमा निर्माण गर्न सकेका हौं ।’ निर्मित भूकम्प प्रतिरोधी भवनले ९ रेक्टर स्केलसम्म धान्ने विश्वास गरिएको छ ।


त्रिविको काठमाडौं उपत्यकामा रहेका आंगिक क्याम्पसमध्ये शंकरदेव, रत्नराज्य, पाटन संयुक्त क्याम्पस, महेन्द्ररत्न, त्रिवि केन्द्रीय पुस्तकालय पुन:निर्माण प्रक्रिया अघि बढेको उपकुलपति खनियाँले बताए । पुन:निर्माण हुन बाँकी क्याम्पस भवन संरचनाहरू प्राधिकरण र अन्य स्रोतबाट बन्न लागेका हुन् ।


त्रिविको नवनिर्मित संरचना र लागत टेण्डर स्वीकृत

१) उपकुलपति कार्यालय भवन – १४ करोड ९५ लाख ३४ हजार

२) शिक्षाध्यक्ष कार्यालय भवन – १० करोड ४२ लाख ७२ हजार

३) व्यवस्थापन डिन कार्यालय भवन – ४ करोड ३७ लाख ४६ हजार

४) अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति प्रिफ्याब भवन– १ करोड ७ लाख ७ हजार

५) डिन कार्यालयहरुको परीक्षा भवन – १० करोड १६ लाख ८९ हजार

६) शिक्षण अस्पताल बेसिक साइन्स भवन – १४ करोड ९८ लाख ७२ हजार

७) स्कुल अफ म्याथमेटिकल साइन्सेस भवन – १० करोड १९ लाख ४९ हजार

८) त्रिवि मुख्य प्रवेशद्वार – ६६ लाख ५१ हजार

९) एग्रो बायोमेटेरियल भवन – ३ करोड ६८ लाख ९ हजार

१०) त्रिवि सेवा आयोग गेट र ग्यारेज – ३० लाख ५७ हजार

११) ललितकला क्याम्पस भवन – २५ करोड ८२ लाख ५ हजार

१२) सूचना प्रविधि केन्द्र भवन – ५१ लाख ६० हजार


प्रकाशित : वैशाख १३, २०७५ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?