कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खसालियो नरिवल

नरिवल प्राप्त गर्ने व्यक्तिलाई मत्स्येन्द्रनाथजस्तै ३२ लक्षणयुक्त पुत्र लाभ हुने जनविश्वास छ
प्रशान्त माली

ललितपुर — मत्स्येन्द्रनाथको रथ यात्राका क्रममा शुक्रबार नरिवल खसाल्ने जात्रा मनाइएको छ । यसलाई ‘भूज्या: जात्रा’ पनि भनिन्छ । रथ गाबहाल पुगेपछि गा:बा: या:, सुन्धारा पुगेपछि नुग: या: र लगनखेल पुगेपछि लग: या भनी भूज्या: जात्रा मनाइन्छ ।

खसालियो नरिवल

पाटनको मुख्यभित्री बस्तीभित्र मनाइने मुख्य जात्रा भूज्या: हो । यसक्रममा मत्स्येन्द्रनाथको पूजाअर्चना गरेर रथको टुप्पोबाट नरिवलका साथै योमरी र ल्होंचामरी (नेवारहरूले धान्यपूर्णिमामा पकाइने एक प्रकारका रोटी) ले अभिषेक गराइन्छ । ‘भू’ को अर्थ थाल अथवा जमिन हो । ‘ज्या:’ को अर्थ थालभरि जमिनमा उब्जनी भएका वस्तु भन्ने बुझिन्छ । रातो मत्स्येन्द्रनाथका प्रमुख ज्योतिषी खलक सदस्य कीर्तिमदन जोशी भन्छन्, ‘भूज्या: भनेको थालभरि जमिनमा उब्जनी भएका अन्न, मकै, गहुँ फूलफुललगायत धुपबत्ती राखेर मत्स्येन्द्रनाथलाई चढाउनु हो ।’


जोशीका अनुसार नेपालमा १२ वर्षसम्म अनिकाल पर्‍यो । ‘मत्स्येन्द्रनाथले गर्दा वर्षा भएकाले धर्तीमा उब्जनी हुने वस्तु राखेर सम्मान गर्ने चलन छ,’ उनले भने, ‘ज्योतिष कुण्डलीमा सम्बद्ध शब्द लग: (लगन) भन्नाले मुख्य स्थानको रुपमा लिइन्छ ।’ भूज्याको अवसरमा खसालिएको नरिवल टिप्न तँछाडमछाड भएको थियो । नरिवल प्राप्त गर्ने व्यक्तिलाई मत्स्येन्द्रनाथजस्तै ३२ लक्षणयुक्त पुत्र लाभ हुने जनविश्वास छ ।


एक पटक नरिवल जात्राको राती मत्स्येन्द्रनाथ रथबाट लोप भए । यसबारेमा पुजारीले राजदरवारमा खबर गरे । राजज्योतिषीले ध्यान गरेर हेर्दा कीर्तिपुरमा आफ्नी प्रेमिका भेट्न गएको थाहा पाउछन् । मत्स्येन्द्रनाथलाई फर्काउन दलबलसहित कीर्तिपुर पुग्छन् । प्रेमिकाले भने फिर्ता पठाउन मान्दिनन् । त्यसपछि महिलाको जात्रा पनि सम्मानपूर्वक चलाउने बाचासहित फिर्ता ल्याउँछन् ।


नरिवल खसालेको भोलिपल्ट ‘क्याक: मिसाया: भूज्या:’ भनी महिलाले मात्र रथ तानेर जात्रा गर्ने परम्परा रहेको जोशी बताउँछन् । महिलाले शनिबार बिहान सबेरै रथलाई तानेर थती टोलबाट अलिपर चारदोबाटो पुर्‍याइन्छ । अहिले पनि रथ चारदोबाटोमा पुगेपछि प्रेमिका भेट्न गएका मत्स्येन्द्रनाथलाई लिन जाने भनी पानेजुहरू कीर्तिपुर पुग्ने गर्छन् । पुल्चोकदेखि गा:बहालसम्मको रथयात्रा पहिलो चरणको हो । यो यात्रा स्वर्गलोकको भ्रमण तुल्य मानिन्छ । पहिलो चरणको जात्रा मत्स्येन्द्रनाथलाई नेपाल ल्याउन भूमिका खेलेका काठमाडांैका तान्त्रिक बन्धुदत्त आचाजुको स्मरणमा चलाएको जोशी सुनाउँछन् ।


रथ गाबहाल पुगेको दिन त्यहाँका स्थानीयबासीले छ्याला बू: भनी जात्रा मनाइन्छ । जोशीका अनुसार मत्स्येन्द्रनाथका बुवा शशी भारत, आसामको कामरुपकामाक्ष पर्वतमा राक्षस गणका राजा थिए । शशिका एक सयभन्दा बढी छोरा थिए । त्यसमध्ये सबभन्दा कान्छा मत्स्येन्द्रनाथ थिए । शशीकी श्रीमती डोलामाजुलाई कान्छा छोरा अत्यन्त प्रिय थियो । डोलामाजु अन्य छोरा नेपाल लगे पनि कान्छो छोरालाई नपठाउने पक्षमा थिइन् । अन्त्यमा भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक आचाजु र ललितपुरका ललित ज्यापुले अनेक इन्द्रजाल गरेर मत्स्येन्द्रनाथलाई नेपाल मण्डल ल्याए । यसक्रममा मत्स्येन्द्रनाथसँगै राक्षसी गण पनि नेपाल आएका थिए । ‘छ्याला बू: भनेकै भूतप्रेत, पिशाच, गन्र्धव, किन्नरलाई भोजन गराउने पन्छाउने दिन हो,’ जोशी भने, ‘नेवारहरूले प्रत्येक जात्रामा छोय्ला बू: अनिवार्य मनाउने गर्छन् ।’


छोय्ला बूको भोलिपल्ट पञ्चमीमा गा:बहाल र त्यस वरिपरिका स्थानीयवासीले मूल जात्राका रुपमा मनाउँछन् । मत्स्येन्द्रनाथको स्तोत्र पाठ पूजा गर्छन् । अन्न, फूलफुल चढाउनछन् । बिहानैदेखि बत्ती बाल्छन् । रथ गा:बहाल पुर्‍याएपछि जटाधारी लोकेश्वर नामबाट प्रसिद्ध मीननाथको रथलाई पनि गा:बहाल पुर्‍याइन्छ । गाबहालबाट पञ्चमीमा रथ तानेर मंगलबजार चारदोबाटो पुर्‍याइन्छ । लिच्छविकालमा चारदोबाटो हक: खोला बग्दथ्यो । पहिला रथ त्यहाँ पुग्दा मत्स्येन्द्रनाथले धोती फर्ने गर्दथे । अहिले पनि गुठी संस्थानबाट मत्स्येन्द्रनाथको नाममा धोती र रूमाल चढाउने परम्परा छ । गा:बहालदेखि सुन्धारासम्मको यात्रा राजा नरेन्द्रदेवको सम्झनामा चलाइएको मानिन्छ । यस यात्रालाई मत्र्यलोक भ्रमण तुल्य मानिन्छ ।
रथलाई सुनधारामा षष्ठी र सप्तमी दुई दिन राखिन्छ । अष्टमीमा तानेर चक्रबही थैनामा पुर्‍याइन्छ । भोलिपल्ट लगनखेल पुर्‍याइन्छ । सुन्धारादेखि लगनखेलसम्मको यात्रालाई पाताल लोकको भ्रमण तुल्य मानिन्छ । र यो यात्रालाई रथचक्र भनिने ललित ज्यापूको नाममा चलाइएको मानिन्छ । लगनखेल बीचमा कोको सिमा (अर्जुन वृक्ष) छ । त्यहाँ मत्स्येन्द्रनाथको आमा भनिने डोलामाजुको मन्दिर छ । रथ यात्राकाक्रममा डोलामाजुलाई तीनपटक परिक्रमा गराइन्छ । यस दिन राती रथ अगाडी एक/एकवटा राँगा, बोका, जिउँदो माछा र हाँसको फूल बलि चढाएर महाबलि पूजा गरिन्छ ।


चार भैरव रूपी पाङग्रामा भूत बली चढाइन्छ । चार पाङग्रालाई ह्यग्रीव, टिकाभैरव, लुप्तसम्हार र नन्दकुन्दी भैरवका रूपमा पुजिन्छ । लगनखेलबाट इटिटोल पुर्‍याएपछि लगनखेलवासीले लग: या: ङयात भनी विशेष जात्रा गर्छन् ।


रथ थटिटोल चारदोबाटोबाट जावलाखेलतर्फ तान्न साइत हेर्न गुठी संस्थानबाट ज्योतिषीलाई पत्र काटिन्छ । यसबीच मत्स्येन्द्रनाथको देवाली पर्व हुन्छ । देवाली पर्वमा मंगलबजारस्थित मणिमण्डप पाटीको चार दिशाको चार थाममा चार जोशी बसेर साइत हेरिन्छ । साइत नजुरेसम्म रथलाई थती टोलको चार दोबाटो मै राखिन्छ । साइत जुरेको दिन रथलाई तानेर जावलाखेल पुर्‍याइन्छ र त्यसको चार दिनपछि भोटो जात्रा गरिन्छ । ‘मणिमण्डप पार्टीको बीचमा ढुंगाको राजसिंहासन छ,’ जोशी भन्छन्, ‘पहिला राजा बसेर साइत हेरिन्थ्यो ।’ उनका अनुसार पहिला पाटीको १६ थाममा हिरण्यवर्ण महाविहारका १६ गुरुजु, दायाँ र बायाँपट्टि क्रमश: ज्योतिषी र पानेजु बसेर साइत हेरिन्थ्यो । ‘अहिले सिंहासनमा पूजाथली, दायाबाया ज्योतिषी मात्र बसेर हेरिन्छ,’ उनले भने, ‘यसपालि जेठ २ बाट एक महिने मलमास छ । जेठभित्र साइत जुरेन भने जात्रा एक महिना लम्बिन्छ ।’


भोटो जात्रामा मत्स्येन्द्रनाथको जिम्मामा रहेको भनिने मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचीन भोटो जावलाखेलमा देखाइन्छ । उक्त भोटो वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मत्स्येन्द्रनाथकै जिम्मामा रहने ऐतिहासिक लोककथन छ । भोटो पचिम्हिचा: (कपडाको थैली) मा शिल गरेर राखिएको हुन्छ । गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुखले सबैका सामु शिल हेरी जाची मुचुल्कापछि तोडेर देखाइन्छ ।


भोटो देखाउँदा दाहिनेबाट क्रमश: घुम्दै ३/३ पटक देखाउने परम्परा छ । भोटोका बारेमा केन्द्रीय लगत तथा अभिलेख कार्यालय भद्रकालीमा रहेको विसं १९९७ को लगतमा मत्स्येन्द्रनाथको जात्रा सकिएपछि जाउलाखेलमा देखाउने भन्ने उल्लेख छ । भोटो देखाउने परम्परा सम्बन्धमा परम्परागत किंवदन्ती अनुसार भक्तपुरका कुनै ज्यापू वैद्यले कर्कोटक नागका पत्नीको दुखेको आँखा औषधि गरी निको पारिदिएकाले खुसीमा उपहार पाएका थिए । उक्त भोटो खेतमा फुकालेर राखेको बेलामा भूतले चोरेर लगेको थियो । भूतले त्यही भोटो लगाएर मानिसको भेषमा जावलाखेलमा मत्स्येन्द्रनाथको जात्रा हेर्न आएका थिए । त्यहीबेला भोटोका मालिक ज्यापू वैद्य र मानिस भेषधारी भुतका बीचमा भोटोको विषयमा लिएर ‘तेरो र मेरो’ भनी विवाद परेको थियो ।


ज्यापू वैद्य र भूत दुवैले उक्त भोटो आफ्नै हो भनी यकिनका साथ सबुत दिन सकेनन् । त्यसैले जसले सप्रमाणसहित मेरो भनी दाबी गर्दछ उसलाई दिने र त्यसरी सप्रमाणसहित दाबी गर्न नसकेसम्म मत्स्येन्द्रनाथकै जिम्मा राखिएको कथन छ ।


भोटो जात्रा अवलोकन गराउन ललितपुरकी जीवित देवी कुमारीलाई जावलाखेलस्थित पाटीमा ल्याएर राखिन्छ । ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि राजकीय सम्मानका साथ समारोहस्थलमा ल्याइन्छ । समारोहमा राष्ट्रप्रमुख, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्ति उपस्थित परम्परा छ । भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमतीस्थित मन्दिरमा र मत्स्येन्द्रनाथको बुवा भनिने मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिलमा पुर्‍याइन्छ ।


रथको टुप्पोबाट ‘धकिं बायम्व:’ खसालिन्छ । यसरी खसाल्दा बायम्व: घोप्टो परेमा रोपाइका लागि यसपालि वर्षा राम्रो हुने र उत्तानो परेमा राम्रो वर्षा नहुने जनविश्वास छ । यसदिन काठमाडौं, भक्तपुर र पाटन तीनै सहरका मानिसहरूले विशेष जात्राका रूपमा मनाउने गर्दछन् ।


रथ तान्न तिथि विवाद
सामान्यतया रथारोहणको चार दिनपछि चतुर्थीमा रथ तान्ने परम्परा छ । यस वर्ष द्वितिय र तृतिया एकै दिन पर्‍यो । यसले गर्दा रथारोहणको चार दिनपछि तान्दा पञ्चमीमा पर्छ । ‘चतुर्थी वा पञ्चमी कुन दिन तान्ने भन्ने विषयमा विवाद भएको छ,’ जोशी भन्छन्, ‘वैशाख शुक्लपक्ष प्रतिपदादेखि चतुर्थीको बीचमा कुनै तिथि क्षय वा वृद्धि नभई क्रमबद्ध नै रहेको अवस्थामा प्रतिपदामा रथारोहण गरेर चतुर्थीमा रथयात्रारम्भ: हुने गर्छ ।


तर, कहिलेकाहीं वैशाख शुक्लपक्ष प्रतिपदादेखि चतुर्थीबीच कुनै तिथि टूटन् वा क्षय हुने गर्छ ।’ सौह्र दिन गन्तीले तीन दिन भए तापनि रथारोहणको तिथि गणनाले चौंथो तिथि समाउने हुँदा चतुर्थी तिथिमै रथयात्रा गर्नुपर्ने उनको भनाइ छ । अन्य ज्योतिषीले भने जस्तै चार दिन पाँचौं तिथि अर्थात् पञ्चमीमा रथयात्रा हुँदैन । यस वर्ष मात्र नभई १९८५, १९८६ र २००४ मा पनि तृतीया तिथि टुट्न (क्षय) गई चतुर्थी तिथिमा रथ यात्रा सुभारम्भ गरिएको थियो ।

लुभुमा पनि जात्रा

लुभुमा पनि महालक्ष्मी र महाभैरवको खट यात्रा गरी भूज्या: जात्रा मनाइएको छ । लुभुमा नरिवल नखसालीकनै महालक्ष्मी र महाभैरवको खट यात्रा गरी ‘भूज्या:’ जात्रा मनाइएको हो । मत्स्येन्द्रनाथको रथमा भैरवको प्रतीकका रूपमा चार पांग्रामध्ये अगाडिको दायाँ पांग्रा लुभुको भैरवका रूपमा पुजिन्छ । त्यसैले मत्स्येन्द्रनाथको रथ जात्रा जस्तै लुभुमा खट यात्रा गरी जात्रा मनाउने गरिन्छ । लुभुको खट देवीस्थान पुगेपछि गा:बा:या:, तगु: तु: पुगेपछि नुग: या: र तल्लो लाछीमा पुगेपछि भूज्या: मनाउने चलन छ ।


मत्स्येन्द्रनाथको रथारोहणसँगै लुभुको मुख्य क्षेत्रमा ८ दिन जात्रा चल्छ । जात्रा सुरु भएको दिनदेखि हालसम्म माथिल्लो लाछी शोभा भगवती मन्दिर, बाकुननी:, पाउली, नासल, तगु: तु:, तल्लो लाछी, ननी: र माथिल्लो लाछीमा जात्रा भैसकेको छ । अन्त्यमा भन्सरीबाट आकाश भैरव, महालक्ष्मी र महाभैरवलाई विशेष पूजापछि आ–आफ्नो मन्दिरमा देवता भित्र्याइएको थियो । महालक्ष्मीलाई पार्वती र महाभैरवलाई शिवका रूपमा पुजिन्छ । जात्रामा धिमे, नायखिं, धाँ, बासुरी, कपाली बाजा बजाइन्छ ।

चुनिखेलमा आज
चुनिखेलमा शनिबारबाट नौ लिंगेश्वर भद्रकालीको खट जात्रा सुरु हुँदैछ । जात्रा २० गतेसम्म चल्नेछ । जात्रा मुख्य गरी बुद्ध जयन्ती र त्यसको भोलिपल्ट मनाइन्छ । स्थानीय शरद श्रेष्ठका अनुसार चुनिखेलमा हुने जात्रामा पाँच गुठीका गुठीयार सहभागी हुन्छन् । ‘यसपाली टुटेक टोलका नौ लिंगेश्वर गुठीको पालो हो,’ उनले भने ।


जात्राको पहिलो दिन पञ्चबलि पूजा हुन्छ । भद्रकाली मन्दिरबाट देवता बाहिर ल्याइन्छ । दोस्रो दिन घरआँगन टोल चोक सफा गरिन्छ । साँझपख रथलाई सिँगारपटार गरेर भद्रकाली मन्दिरमा पुर्‍याइन्छ । बुद्ध जयन्तीमा प्रत्येक घरबाट पूजा हुन्छ ।


साँझ खटलाई नगर परिक्रमा गराइन्छ । यसपालि बुद्ध जयन्तीको अवसर पारेर टुसाल टोल र भोलिपल्ट टुटेक टोलमा सांस्कृतिक कार्यक्रम पनि राखेका छौं,’ उनले भने । बुद्ध जयन्तीको भोलिल्ट सिना जात्रा गरिन्छ । नौ लिंगमा बलिसहितको पूजा गरिन्छ । चौथो दिनमा टुसाल टोल भद्रकालीको खट र टुटेक टोलका भद्रकालीको खट एक आपसमा दर्शन भेट गराइन्छ । त्यही दिन टुसाल टोलको भद्रकालीलाई जात्रा गरेर मन्दिर भित्र्याइन्छ भने भोलिपल्ट टुटेको टोलमा सिन्दूर जात्रा गरेर देवता मन्दिर भित्र्याइन्छ । यहाँका स्थानीयवासी टुटेक र टुसाल टोलको भद्रकालीलाई दिदीबहिनीका रूपमा पुज्छन् । जात्रा गाम्चा, चपली, सापाटार गाउँका स्थानीयवासीले विशेष रूपमा मनाउँछन् ।

प्रकाशित : वैशाख १५, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?