कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीको जनकपुर भ्रमण: केसरिया रङले सजिनेछ सहर

प्रदेश सरकारले ८ वटै जिल्लामा एक–एक जना मन्त्री खटाएर तयारी थाल्यो
श्यामसुन्दर शशि

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुप्रतीक्षित जनकपुर भ्रमणको तयारी तीव्र पारिएको छ । प्रदेश सरकारले ८ वटै जिल्लामा मन्त्री खटाएर तयारीलाई तीव्रता दिएको हो । भौतिक पूर्वाधारमन्त्री तथा मञ्च व्यवस्थापन समिति संयोजक जितेन्द्र सोनलले उनीहरूलाई प्रत्येक जिल्लाको ‘कमान्ड’ सम्हाल्ने गरी जिम्मेवारी तोकिएको बताए ।

मोदीको जनकपुर भ्रमण: केसरिया रङले सजिनेछ सहर

मन्त्री सोनलले आइतबार भ्रमणको तयारीबारे सरोकारवालासँग छलफल गरे । ‘भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण प्रदेशका लागि मात्र होइन, मुलुककै प्रतिष्ठाको विषय हो । भ्रमणलाई भव्य एवं सभ्य बनाउन प्रत्येक नागरिकको सहयोग तथा सद्भाव आवश्यक छ,’ उनले भने । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको आधिकारिक तालिका सार्वजनिक नभए पनि प्रदेश सरकारले वैशाख २८ गते बिहान ९ बजेका लागि तयारी थालेको छ ।

मोदी र उनको टोली ३ वटा हेलिकप्टर चढेर जनकपुर आउनेछन् । हेलिकप्टर बाहबघा रंगभूमि मैदानमा अवतरण गर्नेछन् । त्यसपछि जानकी मन्दिरमा पूजापाठ हुनेछ । मन्दिरबाट मोदी पुन: रंगभूमि मैदान फर्किनेछन् । जहाँ प्रदेश सरकारका तर्फबाट उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

भौतिक पूर्वाधारमन्त्री सोनलले प्रदेश सरकार भारतीय प्रधानमन्त्री मोदीलाई सार्वजनिक अभिव्यक्ति (भाषण) का लागि आग्रह गर्ने जानकारी दिए । बाहबघादेखि जानकी मन्दिरसम्मको सडक निर्माण थालिएको छ ।

स्थानीय बासिन्दासँग प्रत्यक्ष भेट्न रुचाउने भारतीय प्रधानमन्त्री मोदी बाह्रबिघादेखि जानकी मन्दिरसम्म पैदल पनि जान सक्ने अनुमान गरेर प्रदेश सरकारले त्यसैअनुसारको वैकल्पिक व्यवस्था पनि मिलाएको छ । ‘मोदी जनतासँग प्रत्यक्ष भेट्न मन पराउनु हुन्छ । उहाँ मोटरमा जाने कि पैदल त्यो पछि टुंगो लाग्छ । तर, हामी दुवै विकल्पका लागि तयार छौं,’ मन्त्री सोनलले भने । उनका अनुसार झन्डै ५ सय मिटरको यो मार्गको दुवैतर्फ फूलका गमला राखिनेछन् ।

जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झाका अनुसार मार्गमा पर्ने घरहरूलाई केसरिया रङले रंगाउने तयारी हुँदैछ ।

एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जारी सडक विस्तारले जनकपुरका प्राय: सबै सडक अस्तव्यस्त छन् । हिलाम्मे र धुलाम्मे सडकलाई दुई साताभित्र मर्मत गर्नु उपमहानगरपालिकाका लागि ठूलो चुनौती बनेको छ । भौतिक पूर्वाधारमन्त्री सोनलले निर्धारित समयभन्दा अगाडि नै सडक मर्मत हुने दाबी गरे ।

भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिने रंगभूमि मैदानमा प्रदेश सरकारले करिब ५० हजार मानिस बस्न सक्ने वाटरप्रुफ पन्डाल र क्याबिन, शौचालयसहितको मञ्च निर्माण गर्ने तयारीमा जुटेको छ । मोदीको अभिनन्दन समारोहमा १ लाखभन्दा बढी मानिसको सहभागिता रहने प्रदेश सरकारको आकलन छ ।

यस्तै भ्रमणको सुरक्षा रणनीति बनाउन बुधबार विशेष बैठक बस्ने भएको छ । बैठकमा नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहने स्रोतको दाबी छ । मिथिलाभूमिमा हुन लागेको भ्रमणलाई आकर्षक बनाउन यस क्षेत्रका सांस्कृतिक झाँकी प्रदर्शन गर्नुपर्ने सुझाव स्थानीयले दिएका छन् ।

जानकी मन्दिरभन्दा उत्तरमा अवस्थित अंगराजसरको यात्री विश्रामस्थलमा झाँकी प्रदर्शन गर्ने तयारी गरिएको छ ।

सन् २०१४ मा नेपालमा सम्पन्न सार्क सम्मेलनमा सहभागी हुन आउने क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर हुँदै काठमाडाैं जाने कार्यक्रम थियो ।

उक्त भ्रमण अन्तिम समयमा रद्द गरिएको थियो । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका बेला मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

दिनभर सुरक्षा बैठक
भारतीय प्रधानमन्त्री मोदीको आसन्न जनकपुर भ्रमणमा शान्ति–सुरक्षाको बन्दोबस्त मिलाउन सुरक्षा अधिकारीको आइतबार दिनभर बैठक बसेको छ । मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सुरक्षा निकायका अधिकारीहरूसित छलफल गरेका छन् ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी सहभागी थिए । स्रोतका अनुसार मोदीको जनकपुर भ्रमणका बेला अपनाइने सुरक्षा योजनाबारे बैठकमा छलफल भएको थियो । मोदीको सुरक्षाका लागि प्रदेश सरकारले आन्तरिक मामिलामन्त्री यादवलाई जिम्मा दिएको छ ।

प्रकाशित : वैशाख १७, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?