कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले पुनर्जीवन पाउँछ : नेता पौडेल

प्रताप रानामगर

दमौली — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले पुनर्जीवन पाउने दाबी गरेका छन् । १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार ट्रेड युनियन कांग्रेस तनहुँले दमौलीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेस कार्यकर्ता गाउँ गाउँमा पुगी संगठन गरे पार्टीले पुनर्जीवन पाउने बताए ।

कांग्रेसले पुनर्जीवन पाउँछ : नेता पौडेल

'कांग्रेस कार्यकर्ता जनताको घरदैलोमा जानुपर्छ ’ , उनले भने, ‘जनतासँग प्रत्यक्ष सरोकारका विषयमा केन्द्रित भएर जनताको पक्षमा काम गर्न आवश्यक छ । ’

‘पार्टी संगठन गर्न म पनि गाउँ गाउँमा आउँछु’, नेता पौडेलले भने, ‘अहिले सांसद संख्या कम भएपनि अझै पनि कांग्रेससँग जनमत छ । कर्मशील कांग्रेसले मात्र पार्टीलाई पुनर्जीवन दिन्छ । ’

पार्टीको संगठन मजबुत बनाएर पाँच वर्षपछिको निर्वाचनमा नेपाली कांग्रेसले पूर्ण बहुमत ल्याउने नेता पौडेलले दाबी गरे । यसका लागि आजैदेखि कर्मशील भएर पार्टीको संगठन बनाउन कांग्रेस कार्यकर्तालाई निर्देशन दिए । कांग्रेस कार्यकताहरु आत्मविश्वासका साथ गाउँमा जानुपर्छ । कांग्रेस सरकारले गरेका विकास निर्माणका कार्यहरु बारेमा जनतामा प्रचारप्रसार गर्न नेता पौडेलले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कांग्रेस सरकारका पालामा गाउँ गाउँमा सडक, विद्युत, पुल, खानेपानी, स्वास्थ्यचौकी लगायतका पूर्वधार विकास पर्‍याए पनि यसका बारेमा कांग्रेसले जनतासम्म प्रचारप्रसार गर्न नसक्नु कमजोरी भएको नेता पौडेलले बताए । ‘विकास गर्ने पार्टी कांग्रेस हो’ , उनले भने, ‘वामपन्थीहरु विकासको नारा मात्र दिन्छन् तर विकास गर्दैनन् ।’ अहिलेको वामपन्थी सरकारले देश विकासको नारा दिएर जनतालाई नझुक्याउन उनले आग्रह गरे ।

फरक प्रसंगमा नेता पौडेलले सभापति शेरबहादुर देउवाले एकलौटी गरे आफ्नो समूहले बाहिष्कार गर्ने चेतावनी दिए । पार्टीको विधान छ, विधान भन्दा दायाँबायाँ गरे आफू चुप लागेर नबस्ने उनले बताए । ‘विद्यान अनुसार पनि नगर्ने र सहमति पनि नगर्ने कार्यशैली अपनाए संस्थापन पक्षको हरेक छलफल नै बहिष्कार गरिन्छ’ , उनले भने ।

प्रकाशित : वैशाख १८, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?