कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

३३ किलो सुन तस्करी र हत्या प्रकरण

थप ३४ जना खोज्दै प्रहरी
सुन भारत पुर्‍याउने जिम्मा पाएका शाक्य एकाएक सम्पर्कविहीन भएका थिए

विराटनगर — ठूलो परिमाणमा सुन तस्करी र ओसारपसारमा संलग्न मुख्य अभियुक्त भनिएका गोरे भनिने चूडामणि उप्रेतीसहित ३४ जनालाई प्रहरीले खोजी गरिरहेको छ ।

३३ किलो सुन तस्करी र हत्या प्रकरण

प्रहरी स्रोतका अनुसार खोजीमा रहेका अन्यमा मोहनकुमार अग्रवाल, नर्वदा खरेल उप्रेती, दुर्गा खरेल, भीमकुमारी खरेल, रमेश उप्रेती, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, मोहमद उस्ताम मियाँ, भविन राई, कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, रक्षा भण्डारी, प्रयास पराजुली र सुरेन्द्र गौतमलगायत खोजीको सूचीमा छन् ।


घटनाका सम्बन्धमा गृह मन्त्रालयले सहसचिव ईश्वर पौड्यालको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएर छानबिन गरेको थियो । यसअघि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले समेत अनुसन्धान गरेको थियो । महाशाखाको अनुसन्धानमा ‘कैफियत देखिएको’ भन्दै महाशाखा प्रमुख एसएसपी दिवेश सुवेदी र डीएसपी प्रजित केसीलाई मुख्यालय तानेर गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा सहसचिव पौड्यालको संयोजकत्वमा समिति बनाएर अनुसन्धान गरिएको हो ।


प्रहरी अनुसन्धानअनुसार गत माघमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३३ किलो सुन तस्करी भएर भित्रिएको थियो । उक्त सुन भारत लैजाने तयारीमा शाक्यले झापाको भद्रपुर पुर्‍याएका थिए । त्यसपछि उनी सुन मालिकसँग सम्पर्कविहीन बनेको स्रोतको दाबी छ । शाक्य सम्पर्कमा नआएपछि मालिकले उनलाई पटक–पटक सम्पर्क गर्ने प्रयासमा खोजी गरेका थिए । तर फेला नपरेपछि अरू भरिया काभ्रेका टेकराज मल्ल ठकुरी, उर्लाबारीका नरेन्द्र कार्की र मोहन काफ्लेलाई परिचालन गरेका थिए । उनीहरूले करेन्ट लगाएर यातना दिँदै शाक्यको हत्या गरेको प्रहरीले जनाएको छ । उनको शव बरामद गर्ने क्रममा प्रहरीले इन्भर्टरका दुई ब्याट्री र करेन्ट लगाउन प्रयोग गरिने विद्युतीय उपकरण फेला पारेको थियो ।


अभियुक्तविरुद्ध मुद्दा दर्ता आज
सुन तस्करी र ओसारपसारमा संलग्न एकजनाको हत्याका सम्बन्धमा बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । यो प्रकरणमा संलग्न भनिएका ६२ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्ने तयारी गरेको हो । यीमध्ये उच्च प्रहरी अधिकृत, व्यवसायीलगायत गरी २८ जना पक्राउ परिसकेका छन् । फरार अरूको प्रहरीले खोजी गरिरहेको छ ।


तस्करीको ३३ किलो सुन गायब भएको र यसमा संलग्न भनिएका सनम शाक्यको यातनापछि हत्या गरिएको विषयमा प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा आइतबार प्रतिवेदन बुझाएको थियो । जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार बुधबार पक्राउ परेका २८ र फरार अन्यविरुद्ध मुद्दा दर्ता गरिने भएको हो । उनका अनुसार सबै अभियुक्तविरुद्ध अपहरण, कर्तव्य ज्यान, संगठित अपराध र भन्सार छलीमा मुद्दा दर्ता गरिनेछ । दर्तापछि बयानको प्रक्रिया सञ्चालन हुने र त्यसपछि थुनछेकको आदेशका लागि बहस हुने पाठकले बताए । प्रहरीको मिसिलसहितको प्रतिवेदन प्राप्त गरेपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरेको हो । जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार बुधबार अभियोगपत्र आउने तयारी छ । फागुन १८ गते सुन तस्करीमा संलग्न समूहका व्यक्तिहरूले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेका थिए । हत्याको भोलिपल्ट विराटनगर आएको बा१२च ५९६३ नम्बर स्कारपियो गाडीमा शाक्यको शव फेला परेको थियो । त्यही दिन प्रहरीले समूहमा संलग्नमध्ये गाडी चालक टेकराज ठकुरी, नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको थियो ।


त्यसबेला पक्राउ परेका तीनै जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । यसैगरी पक्राउ पर्ने अन्यमा महाबीर गोल्यान, सम्बिरप्रसाद तोलाङ्गे, मदनप्रसाद घिमिरे, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, लाक्पा शेर्पा, कपिलराज पुरी, हेमन्त गौतम, पुण्यप्रसाद लामा, लालबहादुर मगर, राजु महर्जन, भुजुङ गुरुङ छन् । यस्तै तुलाराम थारू, अमरमान डंगोल, राजन कुमार, राजन थापा, लालबहादुर मगर पनि पक्राउ परेका छन् ।


यस्तै बहालवाला प्रहरी उपरीक्षक विकासराज खनाल, पूर्वप्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ गोविन्द निरौला, प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वय सञ्जयबहादुर राउत र प्रजित केसी तथा प्रहरी सहायक निरीक्षक बालकृष्ण सन्जेल र प्रहरी जवान सञ्जीव शाक्य, काठमाडौंको आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलगायत प्रहरीको नियन्त्रणमा छन् । डीएसपी केसी महानगरीय प्रहरी अपराध महाशाखाबाट खटेर मोरङ आई हत्या गरिएका शाक्यको शव बरामद गर्ने टोलीमा थिए ।


प्रधानमन्त्रीको निर्देशनमा चैत ३० का मन्त्रिपरिषद् बैठकले संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वर पौडेलको नेतृत्वमा ९ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरेपछि यो घटनाले नयाँ मोड लियो । घटनास्थल झापा, मोरङ र काठमाडौंसम्म छानबिनको घेरा रहेको यो काण्डमा पक्राउ परेकाहरूको संख्या तीन दर्जन पुग्न लागिसकेको छ । स्रोतले भन्यो, ‘बयान र मुद्दाको क्रम लामै चल्ला ।’ हजारौं जनशक्ति कार्यरत प्रहरी संगठनमा कार्यरत सबै जना अपराधी वा बदमास त छैनन् तर यो घटनाले उनीहरूको नैतिक एवं सामाजिक रूपले मनोबल गिराएको देखिन्छ । त्यही भएर अन्य विषयवस्तुमा बोले पनि सुनको प्रसंगमा उनीहरू मौन हुन्छन् ।

प्रकाशित : वैशाख १९, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?