कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथा आरोहण तयारी अन्तिम चरणमा

ओखलढुंगा — गत वर्षको तुलनामा यस वर्ष हालसम्म मौसमले साथ दिएको कारण सगरमाथा आरोहणका लागि गएका आरोही उत्साहित बनेका छन् । आरोहीहरूले दोस्रो शिविरसम्म पुगेर फर्किने (परिक्रमा गर्ने) काम थालिसकेका छन् ।

सगरमाथा आरोहण तयारी अन्तिम चरणमा

अब शिखरसम्मको बाटोमा डोरी टाँग्ने काम सकिएपछि आरोहण गर्ने तयारीमा उनीहरू छन् । ‘दोस्रो शिविर पुगेर सकुशल आधारशिविर आइपुगेका छौं,’ पिक प्रमोसनमार्फत आरोहणका लागि गएकी दिकी शेर्पाले भनिन्, ‘आशा छ यसपालि हामी समयमै आरोहण गरी फर्किनेछौं ।’


२२ औं पटक सगरमाथा आरोहणका लागि गएका कामीरिता शेर्पाले पनि यस वर्ष सगरमाथा आरोहणको अवस्था ठीक भएको र आफू सोमबार मात्रै दोस्रो क्याम्पबाट फर्केर आधारशिविर झरेको बताए ।


चीनतर्फको मोहडाबाट आरोहणका लागि गएकाहरूले समेत छिटै आरोहण गर्ने आशा रहेको बताएका छन् । चीनपट्टिको मोहडामा ८ हजार ३ सय मिटरको उचाइसम्म डोरी टाँग्ने काम सकिसकेको आरोहणका लागि गएका झापाका आरोही अनिश लुइँटेलले बताए । उनले आधारशिविरमा रहेका अधिकांश आरोहीहरूले पहिलो परिक्रमा गरी आधारशिविर आउने काम सुरु भएको बताए ।


चीनतर्फको आधारशिविर ६ हजार ५ सय मिटरको उचाइमा अवस्थित छ । करिब २ सय आरोहीले तिब्बती मोहडाबाट सगरमाथा आरोहण गर्ने अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ३८ समूहको ३ सय ६४ आरोही छन् ।

अनुमति लिएका ३८ समूहमध्ये ४ समूह नेपाली आरोहीको छ । चार समूहमा जम्मा २० नेपाली आरोही छन् । त्यसैगरी आमादब्लमका लागि ४ समूहमा २८ जनाले अनुमति लिएका छन् ।

प्रकाशित : वैशाख १९, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?