२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

जीएमआरको कार्यालयमा शंकास्पद वस्तु 

आश गुरुङ

लमजुङ — भारतीय कम्पनी जीएमआरले निर्माण प्रस्ताव गरेको ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत आयोजनाको साइड कार्यालयमा बमजस्तो देखिने शंकास्पद वस्तु राखिएकाे छ । 

जीएमआरको कार्यालयमा शंकास्पद वस्तु 

लमजुङको मस्र्याङदी गाउँपालिका–४ रामबजारमा रहेको आयोजनाको प्रवद्र्धक कम्पनी हिमताल हाइड्रोपावरको साइड कार्यालयमा शनिबार बिहान प्रेसरकुकरलाई बेरिएर राखेको अवस्थामा फेला परेको हो ।

यसअघि शनिबार बिहान लमजुङ प्रवेशद्वार पाउँदी र दुइपिप्लेमा विष्फोटक पदार्थजस्तो शंकास्पद वस्तु फेला परेको थियो ।


कार्यालयमा रहेका भिन्न कोठामध्ये कोठा नम्बर २ को पछाडि कोठासंगै टाँसिने गरी उक्त वस्तु राखिएको छ ।कार्यालयका सामाजिक विकास कार्यक्रम संयोजक राजन गुरुङका अनुसार बिहान १० बजेतिरमात्रै उक्त वस्तु देखिएको हो । ‘बिहान देखिएको थिएन । एक्कासी १० बजेतिर डेढ दुई लिटर अट्ने प्रेसरकुकरमा बेरेर राखेको देखें र त्यहाँबाट भागें,’ उनले भने । प्रेसरकुकर बमजस्तो देखिएपछि कार्यालय छोडेर बाहिर बसेको उनले बताए ।


कार्यालयका कर्मचारीका अनुसार शुक्रबार बुटवल पावर कम्पनीका कर्मचारी जीएमआरको गाडी लिएर आएका थिए । गाडीमा जीएमआरका ब्यक्ति तथा कर्मचारी आएको आशंका गरेर उक्त वस्तु राखिएको हुनसक्ने कर्मचारीले बताएका छन् ।


प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जीएमआर कम्पनीको साइड कार्यालयमा प्रेसरकुकर बमजस्तो देखिने वस्तु देखिएको जानकारी आएको र उक्त ठाउँमा सुरक्षाकर्मी खटाइसकेको बताए । खुदी र बाहुनडाँडाबाट प्रहरी साथै बाहुनडाँडा क्षेत्रमा निर्माण भइरहेको ङ्यादी हाइड्रोपावरको सुरुङ निर्माणका लागि विष्फोटक पदार्थ पड्काउँदै आएका अनुभवी सैनिक पठाएको प्रजिअ ढकालले बताए ।


उत्तरी क्षेत्रको ताघ्रिङ र मनाङको ताललाई प्रभावित क्षेत्र बनाएर निर्माण गर्ने भनिएको ६ सय मेगावाटको उक्त आयोजना पटक–पटक नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको निशानामा पर्दै आएको छ । चन्द नेतृत्वको विप्दव समूहले ३ बर्षअघि २०७१ माघ १८ गते आयोजना निर्माण गर्न नदिने भन्दै कार्यालयमा झण्डा गाडेका थिए । आयोजना निर्माण नगर्न चन्द नेतृत्वको माओवादीले पटक–पटक धम्की समेत दिँदै आएको छ ।


तत्कालीन माथिल्लो मस्र्याङ्दी २ जलविद्युत आयोजना भारतीय कम्पनी जीएमआर इनर्जी प्रालिको ८२ प्रतिशत र नेपालको हिमताल हाइड्रोपावर कम्पनीको १८ प्रतिशत लगानीमा निर्माण हुन लागेकोमा डीपीआर पुरा हुन लाग्दा आयोजना बन्द गराएको थियो ।

प्रकाशित : वैशाख २२, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?