कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रमण तालिका सार्वजनिक : मोदी र ओली एकै पटक जनकपुर उत्रिने

रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर अवतरण गर्ने बेलामै समकक्षी केपी ओली पुग्ने कार्यक्रम बनेको छ । सोमबार मोदीको भ्रमण तालिका सार्वजनिक गर्दै दुवै प्रधानमन्त्री एकै समय जनकपुर उत्रिने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका हुन् । 

भ्रमण तालिका सार्वजनिक : मोदी र ओली एकै पटक जनकपुर उत्रिने

ज्ञवालीका अनुसार भारतीय प्रधानमन्त्री मोदीको रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले स्वागत गर्नेछन् । त्यसपछि मोदी जनकपुरको जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्न जानेछन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीवीच जानकी मन्दिरमै भेटघाट हुनेछ ।


जानकी मन्दिरमा मोदीले करीब ३० मिनेट विशेष पूर्जाअर्चना गर्नेछन् । पूजा पछि दुबै देशका प्रधानमन्त्रीले जानकी मन्दिर परिसरबाटै रामायण सर्किटको उद्घाटन गर्नेछन् । भारतीय पक्षले रामायण सर्किटको उद्घाटनपछि दुबै देशको प्रधानमन्त्रीको छोटो प्रेस बिफिङका लागि पनि कसरत भइरहेको छ । जानकी मन्दिरको विशेष पूजापछि भारतीय प्रधानमन्त्री मोदी जनकपुरको रंगभूमि मैदानमा उनको सम्मानमा आयोजित नागरिक अभिनन्दन समारोहमा सरिक हुनेछन् ।


परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार मोदीलाई जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साहले स्वागत र अभिन्नदन गर्नेछन् । ‘नागरिक अभिन्दनपछि महामहिम मोदीले सम्बोधन गर्ने कार्यक्रम छ,’ मन्त्री ज्ञवालीले भने, ‘त्यसपछि उहाँ काठमाण्डौं जानु हुनेछ ।’


भारतीय प्रधानमन्त्री मोदी काठमाडौं पुगेपछि दुबै देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता हुनेछ । वार्तापछि औपचारिक पत्रकार सम्मेलन गरिनेछ । त्यहि बार्तामा प्रधानमन्त्री ओलीले चैतको अन्तिम साता गरेको भारत भ्रमणको क्रममा भएको सहमतिमा समेत हस्ताक्षर गरिनेछ ।


भारतीय प्रधानमन्त्री मोदी बैशाख २९ गते विहान काठमाडौंबाट मुक्तिनाथको भ्रमणमा निस्कने छन् । मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेर विशेष पूजाअर्चनापछि मोदी फेरि काठमाडौं फर्किएर राष्ट्रपति बिद्यादेवी भण्डारी र उप–राष्ट्रपति नन्दकिशोर पुनसित शिष्टाचार भेटघाट गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । उनले भारतीय प्रधानमन्त्री मोदी भ्रमणको तीनै स्थल जनकपुर, काठमाडौं र मुक्तिनाथको सबै तयारी २/३ दिनमै पुरा हुने बताए ।


भारतीय प्रधानमन्त्री मोदी जनकपुरबाट काठमाडौं पुगेपछि टुडिखेलमा गार्ड अफ अनर दिने र काठमाण्डौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रमबारे परराष्ट्रमन्त्री ज्ञवालीले केही बताएनन् । यसअघि, भ्रमणको तयारी र सुरक्षा बस्दोबस्तबारे बुझ्न जनकपुर आएका गृहमन्त्री रामवहादुर थापाले मोदीको काठमाण्डौंको टुडिखेलमा गार्ड अफ अनर दिइने बताएका थिए ।

प्रकाशित : वैशाख २४, २०७५ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?