आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा

पक्राउ गरेको आरोप एउटा मुद्दा अर्कै
देवनारायण साह

मोरङ — आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवासलाई प्रहरीले मुद्दा चलाएको छ । 

धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेका आचार्यलाई मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा उनलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले १० दिनको म्याद दिएको छ।

आचार्यलाई जिल्ला प्रहरी मोरङको हिरासतमा राखेर हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए। तर, आचार्यमाथि गोली प्रहार भएको पेस्तोल प्रहरीले बरामद गर्न गर्न सकेको छैन।

जिल्ला प्रशासन कार्यालयले हेर्ने उक्त मुद्दामा आरोप प्रमाणित भए १ वर्ष कैद वा १ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली भाग्न लागेका आचार्यलाई विशेष प्रहरी अनुसन्धान टोलीले सोमबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट पक्राउ गरेर विराटनगर ल्याएका थिए।

अधिवक्ता योगेन्द्र चौहानले आचार्यलाई लगाएको मुद्दामा हतियारसमेत प्रहरीले बरामद गर्न नसकेको अवस्थामा थुनछेक बहसमा छुट्नसक्ने संभावना बढी भएको बताए। ‘आचार्यले धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउने ष्डयन्त्र गरेको छ,’ उनले भने, ‘विराटनगरवासी आचार्यको लहेलहैमा लागेको भए काटाकाट र मारामारको स्थिति सिर्जना हुने थियो। यहाँका बासिन्दा सचेत भएकोले मुलुकमा धार्मिक तथा साम्प्रदायिक हिंसा फैलिनबाट जोगिएको हो।’

भारतमा धर्मगुरु आशाराम र बाबा रामरहिमलाई सानो घटनाबाट छानबिन गर्दै अनेक सत्यतथ्य बाहिर ल्याएर आजीवन काराबासको सजाय भएको छ तर यहाँ सामान्य हातहतियारको मुद्दा लगाएर प्रहरीले झारो टार्ने काम मात्रै गरेको उनको भनाइ छ। गोली प्रहारको घटनामा आचार्य घाइते भएपछि सरकारले उपचार खर्च ब्यहोर्ने भनेको थियो।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेको आचार्यको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन संघीय सरकारको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित आएका थिए।

प्रदेश १ का मुख्यमन्त्रीलगायतका मन्त्रीले आचार्यको स्वास्थ्य अवस्था नियमित जानकारी लिएका थिए र उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका थिए। प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सरकारले उपचार खर्च ब्यहोर्ने भनेको थियो तर दिई नसकेको अवस्थामा घटनाले अर्कै मोड लिएको बताए। अब संघीय र केन्द्र सरकारले के निर्णय गर्छ त्यहीअनुसार हुने उनले बताए।

गोली प्रहारको घटनापछि प्रदेश १ को संसदमा प्रतिपक्षी दलले सरकारको कडा आलोचना गर्दै आचार्य श्रीनिवासको सुरक्षाको ग्यारेण्टी गर्न माग गरेका थिए। उनको सुरक्षालाई लिएर प्रदेश र संघीय दुबै सरकारले सतर्कता अपनाएका थिए।

हिन्दु राज्यको मागसहितको आन्दोलन सार्थक नभएपछि हिन्दुधर्माबलम्बी र धर्मगुरुहरुलाई निर्णायक आन्दोलन गर्न उक्साउन आचार्यले आफैले स्वयंमाथि गोली प्रहार गर्न लगाएको प्रहरी उपरीक्षक बिसीले बताएका थिए।

आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय माधव चौधरी, गोली र पेस्तोल व्यवस्था गर्ने नवलपरासीको गैंडाकोट नगरपालिका-५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेर छानबिन गरिरहेको छ।

बाराको सिमरा-३ घर भई सुनसरीको चकरघट्टी लक्ष्मी बैंङकटेशको आश्रममा बस्ने आचार्य विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए। गत चैत २५ गते आचार्यमाथि गोली प्रहार भएको थियो। गोली लागी घाइते भएका उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए।

प्रकाशित : वैशाख २५, २०७५ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्

बीपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन : पौडेल

रासस

पोखरा — नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताएका छन् । 

बीपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले बीपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको उल्लेख गरे ।

नेपाली काँग्रेसले बीपीको बाटो नछाडेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यही बाटोबाटै सिंहदरबारको अधिकार गाउँमा पुगेको चर्चा गरे ।

“नेपालमा ७० वर्षसम्म लाग्न नसकेको राजनीतिक टुङ्गो संविधानसभाका माध्यमबाट लागेको छ”, उनले भने , “जनताको पक्षमा संविधान निर्माण भएको छ, बीपीको समाजवाद निमुखालाई न्याय, बिमुखालाई आय थियो, राजनीतिक पार्टीको र सरकारको एजेण्डा पनि अब त्यही नै हुनेछ ।”

बीपीको नाम बेचेर मूल पार्टी काँग्रेसलाई नै हराउने र उम्मेदवार खडा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउँदै वरिष्ठ नेता पौडेलले जनताको भावनालाई आत्मसात् गर्दै पार्टीलाई आगामी दिनमा सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : वैशाख २५, २०७५ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्