कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या अभियोगमा मेयरलाई पक्राउ गर्न निर्देशन

शिव पुरी

रौतहट — हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कटहरिया नगरपालिकाका मेयर सियाराम कुसवाह (फिरोज) लाई पक्राउ गर्न उच्च अदालतको वीरगन्ज कार्यालयले जिल्ला प्रहरी गौरलाई मंगलबार पत्र पठाएको छ ।

हत्या अभियोगमा मेयरलाई पक्राउ गर्न निर्देशन

जिल्ला प्रहरीले मेयर कुसवाहलाई तत्काल पक्रेर बुझाउन मातहत चौकीलाई निर्देशन दिइएको छ ।

उच्च अदालत जनकपुरको वीरगन्जस्थित अस्थायी इजलासले युवासंघ पर्साका अध्यक्ष तिवारीको हत्यामा दोषी ठहर गर्दै मेयर कुसवाहलाई फागुन २८ गते २० वर्ष जेल सजायको फैसला गरेको थियो ।

उच्च अदालत जनकपुरको वीरगन्जस्थित अस्थायी इजलासले अध्यक्ष तिवारीको हत्यामा दोषी ठहर गर्दै मेयर कुसवाहलाई फागुन २८ गते २० वर्ष जेल सजायको फैसला गरेको थियो । अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले फैसला सुनाएको हो । फैसलाको झन्डै डेढ महिनापछि कुसवाहलाई पक्राउ गरी बुझाउन उच्च अदालतबाट पत्र आएको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए । ‘उच्च अदालतको पत्रपछि जिल्लाभरिका चौकीलाई पक्राउ गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘उनी पक्राउ पर्नासाथ वीरगन्ज पठाउँछौं ।’


सरकारवादी फौजदारी मुद्दामा दोषी ठहर भई सजाय पाएका व्यक्तिले सरकारी कामकाजको जिम्मेवारी बहन गर्न नसक्ने कानुनी व्यवस्था भए पनि मेयर कुसवाह पदमै बसेर कामकाज गर्दै आएका थिए । कुसवाहले भने अदालतको फैसलापछि हाजिर हुन पाउने म्यादको समय नसकिँदै पक्राउ पुर्जी जारी भएकोमा आश्चर्य जनाएका छन् । ‘अदालतभित्र बसेका केही भ्रष्ट व्यक्तिको खेल हो,’ उनले भने, ‘यो हदैसम्मको लापरबाही हो । मैले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने ७० दिनको म्याद पाएको छु । त्यसअगावै पक्राउ पुर्जी जारी हुनु दु:खद हो ।’


वीरगन्जको अशोकबाटिकास्थित शिवपार्वती मन्दिर परिसरमा तत्कालीन हिन्दु युवासंघका अध्यक्ष तिवारीलाई मोटरसाइकलमा आएका व्यक्तिले २०६७ साल असार १२ गते गोली हानी हत्या गरेका थिए । मोटरसाइकल चालक बाराको हरैयाका अमन कुसवाह पक्राउ परेपछि मेयर कुसवाहको संलग्नता खुलेको हो । घटनापछि फरार कुसवाहलाई तीन वर्षपछि २०७० साल पुस १ गते चितवनको भण्डाराबाट पक्राउ गरी जिल्ला अदालत पर्सामा पेस गरिएको थियो । हत्यामा कुसवाहको संलग्नता नरहेको भन्दै अदालतले सफाइ दिएको थियो । जिल्ला अदालतले सफाइ दिन गरेको फैसला उल्टाई उच्च अदालतले उनलाई जन्मकैदको फैसला गरेको हो ।

प्रकाशित : वैशाख २५, २०७५ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?