कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदी भ्रमण: साँचो दिएर स्वागत

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले कलात्मक साँचो दिएर स्वागत गर्ने भएको छ ।

मोदी भ्रमण: साँचो दिएर स्वागत

नगरप्रमुख विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दन गर्नुअघि राष्ट्रिय सभागृहमा मोदीलाई स्वागत गर्दै सांकेतिक रूपमा साँचो प्रदान गर्ने कार्यक्रम छ ।

‘काठमाडौं महानगरमा सधैं स्वागत छ भन्ने संकेतका रूपमा साँचो दिन लागेका हौं,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘साँचोको अर्थ उच्च सम्मान गरेर सांकेतिक रूपमा काठमाडौं महानगरमा आउन स्वागत छ भन्न खोजिएको हो ।’ महानगरले २९ गते दिउँसो ३ बजे मोदीलाई अभिनन्दन गर्दै छ ।

उनलाई काठमाडौं महानगरको पहिचान झल्कने उपहार दिने कार्यक्रम पनि तय भएको छ । आँखीझ्याल, गौतम बुद्ध वा पशुपतिनाथ मन्दिरको मूर्ति उपहार प्रदान गरिने कार्कीले जानकारी दिए । ‘परराष्ट्र मन्त्रालयको समन्वयमा अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी लगभग पूरा भइसेकेको छ,’ उनले भने, ‘अभिनन्दनपत्रको व्यहोरा र उपहार दिने सामग्री पनि तय भइसकेको छ ।’ अभिनन्दन सकिएपछि मोदीले महानगरको ऐतिहासिक पुस्तिकामा आफ्नो भनाइ लेखेर हस्ताक्षर गर्नेछन् ।

भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न ठाउँमा महानगरले १० वटा स्वागतद्वार निर्माण गरेको छ । सिनामंगल, बानेश्वर, चाबहिललगायत मुख्य/मुख्य स्थलमा गेट बनाइएको हो । महानगरभित्र मोदी हिँड्ने सडकको मर्मतसमेत गरिएको प्रवक्ता कार्कीले बताए । मोदी बास बस्न पुग्ने होटललगायत उनले भ्रमण गर्ने रुटका खाल्डाखुल्डी सडक विभागको समन्वयमा पुरिएको महानगरले जनाएको छ । मोदी शुक्रबार जनकपुर हुँदै काठमाडौं आउनेछन् ।

प्रकाशित : वैशाख २८, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?