कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीको जनकपुर भ्रमणः बाह्र बिघामा ओर्लियो मानवसागर

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत बीचको आदिकालीन सम्बन्ध राजनीति भन्दा पनि देव नीतिले बाँधिएको बताएका छन् । मिथिलानगरी जनकपुरबाट दुई दिने नेपाल भ्रमण आरम्भ गरेका मोदीको स्वागतमा शुक्रबार जनकपुर उपमहानगरपालिकाले आयोजन गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल–भारतको समबन्ध राजनीति, कूटनीति, समरनीति भन्दा पनि देवनितीले बाधिएको छ । यो अटूट छ ।’

मोदीको जनकपुर भ्रमणः बाह्र बिघामा ओर्लियो मानवसागर

दुई देशका जनजन बीचको सम्बन्धलाई कसैले चाहेर पनि खण्डित गर्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘व्यक्ति र सरकार आउँछ, जान्छ तर दुई देशका जनताबीचको सम्बन्ध अजर/अमर छ ।’


तीन पटक ‘जयसियाराम’को उद्घोष गरी मैथिली भाषामा उनले आफ्नो सम्बोधन सुरु गरे- ‘जनक नन्दनी माँ जानकी केँ पवित्र भूमि, मिथिलाक सांस्कृतिक राजधानी जनकपुरधाम मेँ हमरा नौत दँकँ, बजेलौ आ सम्मान देलौं एकरालेल हम सम्पूर्ण मिथिलावासी, जनकपुरवासी आ प्रदेश २ के सम्पूर्ण जनता केँ नमन करैत छी । ’ अर्थात् जनकनन्दनी माता जानकीको पवित्र भूमि,मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाममा मलाई निम्तो लिएर बोलाई , सम्मान गर्नु भएकोमा म सम्पूर्ण मिथिलावासी,जनकपुरवासी तथा प्रदेश २ का सम्पूर्ण जनतालाई नमन गर्दछु ।’


कार्यक्रम सञ्चालक प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल मोदीलाई हिन्दीमा सम्बोधन गरे पनि भारतीय प्रधानमन्त्री मोदी भने मैथिली भाषाबाट आफ्नो सम्बोधन सुरु गरेका थिए । भारतीय प्रमंको मुखबाट आफ्नै मातृभाषा मैथिलीको भाका सुनेपछि , ऐतिहासिक बाह्र बिघा रंगभूमि मैदानमा भेला भएका डेढ लाख अधिक सर्वसाधारणले ‘ मोदी मोदी ’को जयकारा लगाएर उनलाई स्वागत गरेका थिए ।


आफ्नो सम्बोधनको अधिकांश समय उनी मिथिलाको भाषा, साहित्य, मिथिला चित्रकलाकला, संस्कृति, दर्शन आदिकै विश्लेषणमा खर्चेका थिए । उनको तर्क थियो, ‘मिथिलाका राजा जनकलाई विदेह पनि भनिन्छ, यो किन भने उनी आफूभन्दा पनि देश र जनताको लागि समर्पित थिए ।’


मिथिलाको सौन्दर्य, वैभव तथा संस्कृतिको बखान उनले एक कविताबाट गरेका थिए–


पग पग पोखर , माछ मखान । सरस बोल , मुस्की मुख पान ।

विद्या वैभव, शान्ति प्रतिक । सरस क्षेत्र मिथिलाञ्चल थिक ।।’


भारतीय प्रम मोदीले नेपाल–भारत बीचको सम्बन्ध परिभाषा भन्दा पनि भाषाले बाँधिएको बताए । उनले भने, 'त्रेतायुगमा राम–सीता बीचको वैवाहिक सम्बन्धलाई जनकपुर–अयोध्याबीचको सम्बन्धमात्र नभई नेपाल भारत बीचको सम्बन्धको प्रतिक हो । नेपाल र भारतबीच राम–सीता जस्तै बुद्ध–महावीर, रामेश्वरम–पशुपतिनाथ तथा लुम्बिनी–बौधगया लगायतका अनेकौ सम्बन्ध सूत्रहरु छन् ।’


शुक्रबारदेखि हुन लागेको आफ्नो दुई दिवसीय नेपाल भ्रमणलाई उनले भारतीय प्रधानमन्त्रीको भन्दा पनि तीर्थयात्रीको रुपमा हुन लागेको उल्लेख गर्दै उनले भने, ‘यसपालिको मेरो नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा होईन, प्रधानतीर्थयात्रीको रुपमा हुँदैछ ।’


भारतीय प्रधानमन्त्रीको सम्बोधन अघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलन, मधेसीसँग हुँदै गरेको विभेद तथा संविधान संशोधनको आवश्यकताबारे कडा अभिव्यक्ति दिए पनि मोदी भने यस विषयमा कुनै प्रतिक्रिया दिएनन् । उनले नेपालमा एक वर्षमा तीन तहको निर्वाचन गराएकोमा नेपाल सरकारलाई धन्यवाद दिए ।


उनले भने,‘लोकतन्त्र विकासको पहिलो सूत्र हो । एक वर्षमा तीन/तीनवटा निर्वाचन गराएकोमा नेपाली जनतालाई बधाई छ ।’

प्रकाशित : वैशाख २८, २०७५ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?