कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अखिर को हुन्, हिंसा भड्काउन आफैलाई गोली हान्न लगाउने श्रीनिवास?

भक्तहरुलाई खराउ पुजा गराउथे श्रीनिवास
देवनारायण साह

मोरङ — हिन्दुराज्य स्थापनाका लागि आफैलाई गोली हान्न लगाएर हिंसा भड्काउन खोजेको आरोपमा आचार्य श्रीनिवास हिरासतमा छन् । प्रहरीले पक्राउ गरेकै दिनदेखि बिरामी भएको बहानामा अस्पतालमा बसेका छन् । पछिल्ला दिनहरुमा उनी निराहर बस्न थालेका छन् । 

अखिर को हुन्, हिंसा भड्काउन आफैलाई गोली हान्न लगाउने श्रीनिवास?

प्रहरीले भने उनलाई पक्राउ गर्दाको आरोप भन्दा बाहिर गएर मंगलबार हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा उनलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, मोरङले मंगलबारै १० दिनको म्याद दिएपनि सर्वसाधारणले भने मुद्दा कमजोर बनाउन फरक मुद्दा दर्ता गरिएको आशंका गरेका छन् ।


पुरान बाचकको परिचयबाट सुरु भएको श्रीनिवासको सार्वजनिक जीवन आफु नभएको बेला भक्तजन र अनुयायीहरुलाई आफ्नै खराउमा पुजा गराउने कार्यसम्म पुगेको थियो ।


अखिर को हुन् त यि श्रीनिवास ? यसरी सबै ठाउँमा चलखेल गर्न सक्ने श्रीनिवासको हैसियत कसरी बन्यो ? प्रश्नहरुको उत्तर खोज्दा अन्य बाबाहरुकै जस्तो देखिन्छ, यिनको पनि जीवन चक्र ।


बाराको सिमरा ३ पानीटंकी नजिक घर भएका दिपप्रसाद पण्डित र कान्तिमतीका एक मात्र छोरा हुन् श्रीनिवास, उनको वास्तविक नाम दिनेशप्रसाद पण्डित हो ।


२०४८ भदौ ९ गते नुवाकोटको तारुकास्थित मामा घरमा जन्मेका पण्डितले ५ कक्षासम्म सिमरास्थित बोर्डिङ्ग स्कूलमा र एसएलसी स्थानीय सामुदायिक विद्यालयबाट उतिर्ण गरेका हुन् ।


नेपाली सेनाका सिपाही पिता दिपप्रसादले उनलाई उच्च शिक्षा अध्ययनका लागि कक्षा ११ मा स्थानीय उच्च माध्यमिक विद्यालयमा भर्ना गराएपनि पढ्दापढ्दै घर छाडेर धार्मिक अभियानमा लागेको आमा कान्तिमतीले बताउँछिन् ।


‘उनी भागेर सर्लाहीको हरिवौनका पण्डित अजित शरणको घरमा बसेर पूजापाठ बिधि सिके,’ आमाले भनिन्, ‘म रुँदै खोज्न गएको बखत दिनेशले पूराण बाचन बिधि सिकेर घर फर्किने भन्यो र नभन्दै २/३ महिनामा फर्केर १६ वर्षको उमेरमा आफ्नै घरबाट श्रीमद्भागवत पूराण बाचन सुरु गरे ।’

छोराले घरमा पूराण बाचन गरेको शैली धेरैले मन पराएर छोटो समयमा नै लोकप्रिय बनेको सम्झन्छिन्, उनी । ‘१८ वर्षको युवाले प्रभावशाली शैलीमा पूराण बाचन गरेको देखेर अन्य ठाउँमा पनि बाचनका लागि माग बढदै गयो,’ कान्तिमतीले भनिन् । पूराण बाचनका लागि २०६७ सालमा सुनसरीको चक्रघटीस्थित शिवालय मन्दिरमा आएदेखि फर्केर घर गएका छैनन् । बाबुआमा नै एउटै छोरालाई भेट्न आउने गरेका छन् । धार्मिक अभियानमा लागेपछि काठमाडौंस्थित बैंकटेशका मठाधिस पद्मधर श्वामी जीले दिनेशलाई आचार्य श्रीनिवास नाम दिएका थिए ।


चक्रघटीका स्थानीय ५८ बर्षीय राधा पराजुलीले श्रीनिवासको पूरानो बाचन प्रभावशाली भएकोले कोशीटप्पुस्थित ठाकुरबारीमा मन्दिर स्थापनार्थ अर्को पूरानो लगाएर त्यही आश्रम बनाएर राख्ने स्थानीय आग्रह गरेको बताइन् । त्यहाँ असुरक्षा महसुस गरेर प्रकाशपुरस्थित त्रिदण्डी जियर शनी महराज जीको आश्रममा बस्न थालेको बताउँछन् । पछि चक्रघटीबासीले ५ कठ्ठा ऐलानी जग्गामा आश्रम निर्माण थालेपछि २०७३ असोजबाट यहाँ आएर थाले ।

स्थानीय ५६ बर्षीया इन्दिरा पोख्रेलले आचार्यको शक्तिशाली वाककलाले बराह नगरपालिकाका ११ वटै वडामा अनुयायी बनेको बताइन् । ‘आचार्यको अनुयायीमा अधिकांश महिला छन्,’ उनले भनिन्, ‘आचार्यको प्रवचन क्रान्तिकारी हुन्छ जसले मानिस चाँडै प्रभावित हुन्छन् ।’


श्रीनिवाससँग सहयोगीका रुपमा नुवाकोट बिदुर नगरपालिका २ का प्रजुन प्याकुरेल, ब्यबस्थापकमा सप्तरीको फत्तेपुरका इन्दिरा श्रेष्ठ, पूराण उपवाचकमा बाराको सिमरा बजेनीका नारायणप्रसाद आचार्य, भान्सेमा इटहरीका पुरुषोत्तम भट्टराई बस्दै आएका छन् । आचार्य सधैं कतै न कतै पूराण बाचनका लागि गइराख्ने उनीहरु बताउँछन् ।


श्रीनिवासका सहयोगी प्याकुरेलका अनुसार श्रीनिवासले पूरान बाचन गर्ने क्रममा हिन्दु राष्ट्र कायम, गौ हत्या बन्द र धर्म परिवर्तनकारीलाई कारबाहीको पक्षमा समेत प्रवचन दिंदै आएका थिए । ‘पूराण बाचनसँगै हिन्दु राष्ट्रको पक्षमा जनमत तयार गर्ने अभियान आचार्यले सञ्चालन गर्दै आउनु भएको छ,’ उनले भने । उनले पूराण बाचन गरेको हरेक ठाउँमा १/२ दिन हिन्दु राष्ट्रका लागि सडकमा अनुयायीहरुलाई उतार्ने गरेको उनी बताउँछन् ।


हन्दु राष्ट्र, गौ हत्या बन्द र धर्म परिवर्तनकारीलाई कारबाहीको माग गर्दै २०७१ बैशाख ४ गतेबाट काठमाडौंमा लगातार १ वर्षसम्म अनसन बसेको थिए । पूरान लगाएपछि हुने आम्दानी पनि त्यही अभियानमा खर्च गर्थे । काठमाडौंमा बसेको अनसन प्रभावकारी नभएपछि इटहरीमा पूराण लगाएर ४६ लाख रुपैयाँ जम्मा गरी दुई महिनासम्म २०७२ सालमा आन्दोलन गरेको सहयोगीहरु बताउँछन् । लहान, चितवन, बुटबल, नवलपराशीलगायतका ३४ जिल्लामा कार्यक्रमहरु गराएका थिए ।


उनी झण्डै ७ सय महिलासहितको आफ्ना अनुयायीहरुका साथ काठमाडौंमा पनि आद्द्दोलन गर्ने भन्दै आएका थिए । लक्ष्मी बंङ्कटेशका सचिव रमेश कार्कीका अनुसार त्यही क्रममा उनले पूर्व राजा ज्ञानेन्द्र, बिभिन्न पार्टीका ठूला नेता, भारतीय धर्मगुरुलगायतसंग सम्पर्क स्थापित गरे । सहयोगीहरुका अनुसार उनी भारत पनि गइरहन्छन्, पूर्व राजा ज्ञानेन्द्रले मन पराउँछन् ।

प्रकाशित : वैशाख ३०, २०७५ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?