कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथामा पुग्यो नेपाली टोली

संसारकै जोखिमयुक्त हिमालका रूपमा चिनिएको अन्नपूर्ण–प्रथमको चुचुरोमा आइतबार बिहान दक्षिण कोरियाका ५३ वर्षीय आरोही किम हङ विन पुगेका छन्

काठमाडौं/ओखलढुंगा —  यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियानअन्तर्गत आठ जना नेपाली (शेर्पा) को समूह आइतबार दिउँसो बाटो बनाउँदै चुचुरोमा पुगेको छ । सगरमाथा आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस सिजनमा चुचुरोमा पुग्ने यो पहिलो टोली हो ।

सगरमाथामा पुग्यो नेपाली टोली

‘आज (आइतबार) दिउँसो साढे तीन बजे आठ जना नेपाली गाइडको टोली चुचुरोमा पुगेर फर्किंदै छ,’ सम्पर्क अधिकृत श्रेष्ठले आधार शिविरबाट आइतबार दिउँसो कान्तिपुरसँग भने । उनका अनुसार चुचुरोमा पुग्नेमा पासाङ तेन्जिङ शेर्पा, पासदाबा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जेनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा र दातुक भोटे छन् ।

यी सबै काठमाडौंस्थित हिमालयन गाइड्स नेपालका हाई अल्टिच्युड शेर्पा गाइड हुन् । कम्पनीका महाप्रबन्धक ईश्वरी पौडेलका अनुसार यसपटक सगरमाथासम्म उक्लिने बाटो खोल्ने जिम्मा हिमालय गाइड्सले पाएको थियो । अघिल्ला वर्ष आरोही लगेर आधार शिविर पुगेको आरोहण दलका हाई अल्टिच्युड गाइडहरूले मिलेर बाटो बनाउँथे तर यसपटक आरोहण सञ्चालन गर्नेहरूको संस्था ‘एक्सपिडिसन अपरेटर्स एसोसिएसन’ ले हिमालयन गाइड्सलाई बाटो बनाउने जिम्मा दिएको थियो ।

यो टोली तीन दिनअघि ८ हजार मिटर उचाइमा रहेको चौथो क्याम्पभन्दा माथिको बालकोनीसम्म बाटो बनाउँदै पुगेको थियो । ‘उनीहरू तीन दिनअघि नै क्याम्प फोर पुगेका थिए, मौसमका कारण चुचुरोमा उक्लिन सकेका थिएनन्,’ महाप्रबन्धक पौडेलले कान्तिपुरसँग भने, ‘आइतबार चुचुरोभन्दा ४ सय ४८ मिटरमुनिको बालकोनी (८४०० मिटर उचाइ) बाट हिँडेका थिए ।’ बिहानै पुगेको टोली आइतबार ६ हजार ४ सय मिटर उचाइमा रहेको दोस्रो क्याम्पतर्फ फर्किसकेको छ । गाइडहरूले वाकीटाकीबाट आधार शिविरमा रहेका आफ्ना सहकर्मीलाई खबर पठाउँछन् । आधार शिविरमा मोबाइलको नेटवर्क पहुँच छ ।

नेपालतर्फको मोहडाबाट चुचुरोमा पुग्न सफल टोलीले बाटो बनाइदिएपछि अब अन्य आरोहीलाई सजिलो भएको छ । यस वर्ष सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट ३८ वटा आरोहण दलका ३ सय ४६ सदस्य सगरमाथातर्फ गएका छन् । यो समूहमा २० जना नेपाली आरोही पनि रहेको सम्पर्क अधिकृत श्रेष्ठले बताए । यी आरोहीलाई सगरमाथा चुचुरोसम्म पुर्‍याउन कम्तीमा ५ सय हाराहारी हाई अल्टिच्युड शेर्पा गाइड खटिने पौडेलले बताए ।

यसैबीच दक्षिण कोरियाका ५३ वर्षीय आरोही किम हङ विन आरोहीहरूबीच संसारकै जोखिमयुक्त हिमालका रूपमा चिनिएको अन्नपूर्ण–प्रथमको चुचुरोमा आइतबार बिहान पुगेका छन् । काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका निर्देशक मिग्मा शेर्पाका अनुसार उनले ११ बजेर ३० मिनेटमा चुचुरोमा पाइला राखेका थिए । उनीसहित चार जना शेर्पा गाइड पनि चुचुरोमा पुगेका छन् । दुवै हातको औंला नभएका किम चैत २० गते अन्नपूर्ण आरोहणका लागि काठमाडौंबाट त्यसतर्फ लागेका थिए ।

गत वर्षको वसन्तकालीन सिजनमा स्वदेशी र विदेशी गरी ४ सय ४८ आरोही सगरमाथा चुचुरोमा पुग्न सफल भएका थिए । चैतदेखि सुरु भई जेठमा सकिने आरोहण सिजनमा १ सय ८९ विदेशी र २ सय ५९ नेपाली गरी ४ सय ४८ आरोही गत वर्ष सगरमाथा टुप्पोमा पुगेका थिए । सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर (११ लाख हाराहारी) र नेपालीले ७५ हजार रुपैयाँ सलामी दस्तुर तिर्नुपर्छ । गत वर्ष आरोहणक्रममा एक नेपालीसहित ५ जनाको सगरमाथामा मृत्यु भएको छ ।

नेपालले ५ हजारभन्दा अग्ला ८ हजार ८ सय ४८ मिटरसम्मका १३ सय १० वटा हिमचुचुरा पहिचान गरेको छ । यीमध्ये ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ । तर हरेक वर्षको वसन्तकालीनलगायत सिजनमा सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, नुप्से, अन्नप्ूर्ण, मनास्लु र धौलागिरि आरोहण गर्न अनुमति लिनेको संख्या धेरै हुन्छ । सरकारले वर्षमा चारपटक (वसन्त, वर्षा, शरद र हिउँदयाम) हिमाल आरोहणका लागि खोल्ने गरेको छ । यी चार सिजनमध्ये वसन्तयाममा सबैभन्दा धेरै आरोही हिमालका आधार शिविर पुग्ने गर्छन् ।

प्रकाशित : वैशाख ३०, २०७५ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?