२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महिलामाथि एसिड फ्याक्ने प्रहरी जेल गए

रमेशकुमार पौडेल

चितवन — महिलामाथि तेजाब (एसिड) फ्याँकेको आरोपमा पक्राउ परेका चितवन रत्ननगरमा कार्यरत ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक (सई) रामचन्द्र खनिया पुर्पक्षका लागि थुनामा राख्न बिहीबार भरतपुर कारागार चलान भएका छन् ।

महिलामाथि एसिड फ्याक्ने प्रहरी जेल गए

चितवन जिल्ला अदालतका न्यायाधीस सुर्यबहादुर थापाले सई खनियालाई थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी केशव पौडेलले बताए ।


बैशाख नौ गते दिउँसो भरतपुर महनगरपालिका–४ मा सोही ठाउँ डेरा गरेर बस्ने गोरखा घर भएकी २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड फ्याँकेको आरोपमा सई खनियालाई उसै दिन प्रहरीले समाएको थियो । खनियाका विरुद्ध कल्पनाका श्रीमान किसान श्रेष्ठले ज्यान मार्ने उद्योग (प्रयास) अन्तर्गत मुद्दा चलाउन माग गर्दै बैशाख १० गते प्रहरीमा उजुरी दिएका थिए ।


चितवन प्रहरीले घटनाका विषयमा अनुशन्धान गर्न सई खनियालाई २५ दिनसम्म हिरासतमा राखेको थियो । अनुशन्धान पुरा भएपछि सरकारी वकिलको कार्यालय मार्फत चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । बिहीबार मुद्दाको फैसला नहुँदासम्म खनियालाई थुनामा राख्न कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने विषयमा अदालतमा बहस भएको थियो ।


पिडितका तर्फबाट जिल्ला न्यायाधीवक्ता (सरकारी वकिल) परमेश्वर पराजुलीले बहस गरेका थिए । अभियुक्त खनियाका तर्फबाट वरिष्ठ अधिवक्ता माधव खनिया र अधिवक्ताहरु जगन्नाथ भण्डारी, इन्दु कोइराला र उद्धव लोहनीले बहस गरेका थिए । अदालतलाई दिएको बयानमा अभियुक्त सई खनियाले आफुले एसिड आक्रमण नगरेको बताएका छन् ।


सई खनियाले दिएको बयानमा कल्पना आफैले आफुमाथि एसिड खनाएको उल्लेख छ । ‘मसँग दुई लाख रुपैयाँ ऋण लगेपछि फिर्ता माग्दा दिएकी थिइनन् । पैसा लेनदेनको विषय उनको श्रीमानलाई पनि थाहा भयो । श्रीमनाले थाहा पाएपछि झनै रिसाएकी थिइन् । त्यसैले म पैसा माग्न गएका बेलामा के सोचेर उनी आफैले आफुमाथि एसिड खन्याइन मलाई जानकारी भएन’ खनियाको बयानमा छ ।


तर कल्पनाले आफुले खनियाबाट दुई लाख रुपैयाँ ऋण लिदै नलिएको बताएकी छन् । दुई तीन वर्षअघि खनियासँग आफुहरुको चिनजान भएको, सुरुमा सहयोगी भावना देखाए पनि पछि गलत नियत राखेर दुख दिने गरेको कल्पनाका श्रीमान किसान श्रेष्ठले बताएका छन् । बैशाख १० गते गृहमन्त्री रामबहादुर थापाले पनि भरतपुर अस्पतालमा उपचार गराउँदै गरेकी कल्पनालाई भेटेका थिए ।


बलात्कारको अभियोगमा आश्रम सञ्चालक पनि जेल चलान

अपाङ्गता भएका महिलाहरुलाई यौन शोषण गरेका आरोपमा गिरफ्तार भएका एकजना आश्रम सञ्चालक पनि बलात्कार अभियोगमा मुद्दा दर्ता भएपछि पुर्पक्षका लागि भरतपुर कारागार चलान भएका छन् । गएको बैशाख ६ गते भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको गणेश अपाङ धार्मिक सेवा केन्द्रका सञ्चालक विष्णुप्रसाद शर्मालाई चितवन प्रहरीले समाएको थियो ।


केन्द्रका सल्लाहाकार प्रद्युम्न सापकोटाले शर्मा विरुद्ध बलात्कार मुद्दा दर्ता गर्न माग गर्दै बैशाख ७ गते चितवन प्रहरीमा उजुरी दिएका थिए । घटनाका सम्वन्धमा प्रहरीको अनुशन्धान पुरा भएपछि बैशाख ३१ गते अदालतमा मुद्दा दायर गरेको थियो । चितवन जिल्ला अदालतका न्यायाधीस राजेन्द्रप्रसाद अधिकारीले जेठ एक गते मंगलबार शर्मालाई थुनामा राख्न कारागार पठाउने आदेश दिएका थिए ।


प्रहरीका अनुसार शर्माले बैशाख १ गते राति आश्रममा रहेका दुईजनालाई जर्बजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा अनुशन्धान अगाडी बढेको हो । पिडित हुनेमा एकजना १९ वर्षीया किशोरी छन् । जसको खुट्टा राम्रोसँग चल्दैन । त्यस्तै अर्को एकजना २७ वर्षीया महिला छन् । प्रहरीका अनुसार उनी बौद्धिक अपाङ्गता (सुस्त मनस्थिती) भएकी महिला हुन् ।


प्रकाशित : जेष्ठ ३, २०७५ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?