कञ्चनजंघा शिखरमा ५ आरोही

कान्तिपुर संवाददाता

ताप्लेजुङ — विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर) मा चार वर्षपछि सफल आरोहण भएको छ । बुधबार बेलुका पाँचजनाको टोली चुचुरो पुगेको हो ।

एक्सपिडिसन बेसका प्रथम निर्देशक संखुवासभाका लाक्पा शेर्पा, सोलुखुम्बुका पेम्बा ग्याल्जेन शेर्पा र अस्ट्रेलियाका क्रिश्चिन प्याट्रिसियन बुर्कले सफल आरोहण गरेको एक्सपिडिसन बेसका द्वितीय निर्देशक लाक्पागेलु शेर्पाले बताए । उनका अनुसार बुधबारै सेभेन समिट ग्रुपबाट रसियन नागरिक सेर्गे र जर्मनका थर्वो पनि चुचुरोमा पुगेका छन् । कञ्चनजंघा क्षेत्रमा टेलिफोन सम्पर्क नभएकाले सूचना पाउन कठिन छ । आरोहण दलका सदस्यले बेसक्याम्प फर्किएपछि स्याटलाइटबाट जानकारी गराएका हुन् । उनीहरूले पूर्वी मोहडाबाट आरोहण गरेका थिए ।

गत वर्षको आरोहण प्रयास विफल भएको थियो । त्यसअघिका दुई वर्ष कसैले प्रयासै गरेन । त्यसअघिका दुई वर्ष आरोही लगातार दुर्घटनामा परेका थिए । यस वर्ष करिब चार दर्जन आरोही चुचुरो छुने प्रयासमा छन् । एसियन ट्रेक प्रालिका २१ जना दोस्रो र तेस्रो बेसक्याम्पमा रहेको म्यानेजर सञ्जय बराल काजुले जानकारी दिए । उनीहरूले जेठ ६ र ७ गते आरोहण गर्ने योजना छ । वेल कर्पोरेट इन्डियाको टिम पनि आरोहणको तयारीमा छ । कञ्चनजंघामा यस वर्ष सबैभन्दा ठूलो टोली गएको हो ।

आरोहण टोलीमा भारत, रसिया, सिंगापुर, जापान, स्विस, अस्ट्रेलियालगायत देशका नागरिक छन् ।

मलेसियाली आरोहीको मृत्यु
विराटनगर– सोलुखुम्बुको अमादब्लम हिमाल आरोहण गर्ने क्रममा चिप्लिएर एक मलेसियाली नागरिकको मृत्यु भएको छ । अमादब्लम हिमालको तेस्रो आधारशिविर पुगेका ४३ वर्षीय रमन नैय हाचोडनको लडेर दुई दिनअघि मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

Yamaha

प्रकाशित : जेष्ठ ६, २०७५ ०७:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सुन तस्करी र हत्या प्रकरण : प्रमाण खोज्दै सरकारी वकिल

माधव घिमिरे,विनोद भण्डारी,

विराटनगर — सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा अभियोग पुष्टि गर्ने भरपर्दो प्रमाण नभएको भन्दै प्रतिवादीका वकिलले अभियुक्तहरूलाई साधारण तारिखमा छाड्न माग गरेपछि सरकारी वकिलले त्यसको खण्डन गर्न छलफल थालेका छन् ।

प्रतिवादीतर्फबाट थुनछेक बहस गरेका ४५ भन्दा बढी कानुन व्यवसायीले उक्त प्रकरणमा गरिएको अनुसन्धान नै त्रुटिपूर्ण र पूर्वाग्रही भएको तर्क गरिरहँदा सरकारी वकिल प्रभावकारी बहसको तयारीमा जुटेका हुन् ।

अभियोग पुष्टि गर्ने खालका तथ्यसहित प्रत्युत्तर बहस नगरे अधिकांश अभियुक्त तारिख वा धरौटीमा मुक्त हुन सक्ने भएकाले उनीहरू थप दसी प्रमाण जुटाउने योजनामा छन् । अपराधमा संलग्नहरूलाई फेला पार्न उनीहरूकै समूहमा सहभागी भएजस्तो गरेर ‘अन्डर कभर अप्रेसन’ गरिएको भनिए पनि हत्या घटनापछि प्रहरीले दिएको प्रतिवेदनमा मुख्य अभियुक्तबारे उल्लेख नगरिएको विषयलाई उनीहरूले प्रमुखतासाथ इजलाससमक्ष राख्ने भएका छन् ।प्रतिवादीका वकिलको बहस जारी छ । शुक्रबार सबैको बहस नसकिएकाले आइतबार पनि चल्ने अदालतले जनाएको छ । यसक्रममा सरकारी वकिलहरूको समूहले प्रतिवादीको खण्डन र तर्कलाई कसरी प्रभावकारी रूपमा ‘ट्याकल’ गर्ने भन्नेबारे छलफल गरिरहेको स्रोतले जनाएको छ ।

मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार प्रतिवादीको बहस सकिएपछि ‘प्रत्युत्तर बहस’ गरिनेछ । यो बहस पनि सकिएपछि अदालतबाट थुनछेकको आदेश हुने उनले बताए । बहसका लागि उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीको नेतृत्वमा सरकारी वकिलको समूह बनाइएको छ । यो समूहमा मोरङका न्यायाधिवक्ता पाठक, सहायक न्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्ती छन् । वस्ती प्रतिवादीको बहसका क्रममा इजलास कोठामै बसेर उनीहरूको तर्क र खण्डन टिपोट गरिरहेका छन् । त्यसैका आधारमा प्रत्युत्तर दिन सरकारी पक्षका वकिलले छलफल गरेका हुन् । तत्काल प्राप्त प्रमाणका आधारमा सबै अभियुक्त कसुरदार रहेको र उनीहरूलाई थुनामै राखेर पुर्पक्ष गरिनुपर्ने भन्दै यो समूहका सहित ७ जनाले थुनछेक बहस गरिसकेका छन् ।

सरकारी तर्कको खण्डन
सरकारी वकिलहरूले सबै अभियुक्त कसुरदार रहेको भन्दै धरौटी वा साधारण तारिखमा छाड्न नहुने माग गरेका थिए । प्रतिवादीका वकिलहरूले भने यो मुद्दामा संगठित अपराध ऐन आकर्षित नहुने र भरपर्दो प्रमाणसमेत नभएकाले अभियोग पुष्टि हुने आधार नभएको दाबी गरेका थिए । उनीहरूले अनुसन्धान नै त्रुटिपूर्ण र पूर्वाग्रही भएको आरोपसमेत लगाए । बिहीबार पूर्वडीआईजी गोविन्द निरौलाका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ता भानुभक्त निरौलाले बहस गर्दै यो मुद्दाका क्रममा विवेक नपुर्‍याई अभियोग लगाइएको तर्क गरे ।सरकारी वकिलहरूले ‘भिक्टिमलेस’ (प्रत्यक्ष पीडित नदेखिने प्रकृतिको) अपराध भएको उल्लेख गर्दै प्रतिवादीहरूलाई छाडा अपराध अझ मौलाउन सक्ने, प्रमाण लोप हुने, अभियुक्त स्वयंको ज्यान जोखिममा पर्ने र राज्यले थप क्षति बेहोर्नुपर्ने अवस्था आउने तर्क गरेका थिए ।

अभियुक्तका घरबाट बरामद रजिस्टर र अन्य कागजात तथा टेलिफोन वार्ताका आधारमा उनीहरू सुनका कारोबारी हुन् भन्ने प्रस्ट भएको बताएका थिए । प्रतिवादी स्वयंले बयानमा सुन आएको समेत स्वीकारेकाले सुन बरामद हुनु/नहुनु नै मुख्य कुरा नभएको उनीहरूको तर्क थियो ।यसको खण्डन गर्दै प्रतिवादीका वकिलले प्रमाणका रूपमा पेस गरिएका कागजातको विश्वसनीयतामाथि नै प्रश्न उठाएका थिए । तस्करी गरिएको भनिएको सुन बरामद नभएको अवस्थामा चोरी/पैठारी गरेको पुष्टि हुने आधार नभएको तर्क उनीहरूको थियो । वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल र राजु बस्नेतलगायतले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस प्रस्तुत गर्दै आफ्ना पक्षका अभियुक्तहरूले साधारण तारिखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका थिए ।

‘साढे ३३ किलो सुन तस्करी भएको भनिएको छ,’ इजलाससमक्ष प्रतिवादी वकिलहरूको प्रश्न थियो, ‘तर, त्यो सुन खोइ कहाँ छ ?’ ‘संगठित अपराध’ काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भएको मानिएको उल्लेख गर्दै उनीहरूले यो मुद्दाको कार्यक्षेत्र मोरङ नभएको जिकिर पनि गरेका थिए । प्रमाण संकलनको कार्यविधि नियमसंगत नभएको आरोप पनि उनीहरूको छ ।

यो प्रकरणमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरिएको छ । अभियुक्तहरूमा उच्च प्रहरी अधिकृत, सुन व्यवसायी, विमानस्थलका कर्मचारीलगायत छन् ।यो मुद्दाका ६३ अभियुक्तमध्ये मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) सहित ३३ जना फरार छन् । पछिल्लोपटक यसै साता दुई हुन्डी कारोबारीहरूलाई पनि पक्राउ गरिएको छ । उनीहरूको गोरेसँग आर्थिक कारोबार भएको दाबी सरकारी पक्षको छ । यीसमेत गरी प्रहरी नियन्त्रणमा रहेकाको संख्या ३२ पुगेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०७:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT