कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वरीयता घटाएकोमा खनालको आपत्ति

‘मलाई एकता हुने दिनको सुइँकोसम्म दिइएन’

काठमाडौँ — तत्कालीन एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो अनुपस्थितिमा पार्टीभित्रको वरीयता तलमाथि पारिएको भन्दै आपत्ति जनाएका छन् ।

वरीयता घटाएकोमा खनालको आपत्ति

एमाले र माओवादी केन्द्रबीच एकता हुँदा चीन भ्रमणमा रहेका खनालले आइतबार स्वदेश फर्केलगत्तै अध्यक्ष केपी ओली र नेता माधव नेपालको रवैयाप्रति असन्तुष्टि जनाएका हुन् । एकता प्रक्रियाबाट बनेको नेकपाको वरीयतामा दुई अध्यक्षपछि माधव नेपाललाई राखिएको छ ।


‘म पार्टीको महाधिवेशनबाट वरिष्ठ नेता चयन भएको हो । अहिले म नभएको मौका पारेर मलाई सोध्दा पनि नसोधी वरीयता तलमाथि गरिएको छ, यसमा मेरो आपत्ति छ,’ नेता खनालले भने, ‘यदि यही गर्नु थियो भने पनि मेरो उपस्थितिमा गर्नुपथ्र्यो, मलाई छलेर निर्णय गर्ने ?’


दुई पार्टीबीचको एकता भएकाले सबै नेताको विगतको ‘पोजिसन’ नरहने अन्य नेताले बताउँदै आएका छन् । नेता खनालले भने यही विषय पनि ठोस छलफलबिना टुंग्याइएकाले आफूलाई चित्त नबुझेको बताए । ‘पार्टी एकता भएको छ, म एकताको पक्षमा पहिलेदेखि नै लागेको हुँ,’ खनालले भने, ‘तर मलाई बाइपास गरेर जुन निर्णय भयो, यो कार्यशैलीचाहिँ ठीक भएन ।’


उनले यो विषयमा आफूले पार्टीभित्र कुरा राख्ने बताए । यस्तै प्रवृत्ति नयाँ पार्टीमा पनि बस्यो भने त्यसले समस्या निम्त्याउने खनालको भनाइ थियो ।


पार्टी एकता हुने अघिल्लो दिनसमेत आफूलाई अध्यक्ष ओलीले एकता हुँदै छ भन्ने सुइँकोसम्म नदिएको गुनासो खनालले गरे । ‘पार्टी एकता हुने अघिल्लो दिन हामी युवा संघको एउटा कार्यक्रममा सँगै थियौं । मैले उपचार र एउटा सांस्कृतिक कार्यक्रममा भाग लिन चीन जान लागेको कुरा गरेको थिएँ । त्यसबेला ठीकै छ नि त भन्नुभयो, पार्टी एकता तत्कालै हुन्छ भन्ने कुरा गर्नुभएन,’ उनले भने, ‘एकता घोषणाबारे थाहा भएको भए कार्यक्रम रद्द गर्ने थिएँ ।’


एकता प्रक्रियाका कतिपय निर्णय र छलफल पारदर्शी नभएको उल्लेख गर्दै उनले यो विषयमा अन्य नेताहरूको पनि मन दुखेको बताए । ‘पार्टीका गतिविधि पारदर्शी हुनुपर्छ, अनि मात्र राम्ररी चल्न सक्छ, यो विषयमा सबै नेताहरूले उत्तिकै गम्भीरता देखाउनुपर्छ,’ खनालले भने । उनी चीनको छेन्दुमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भएर आइतबार फर्केका हुन् ।

प्रकाशित : जेष्ठ ६, २०७५ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?