कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्दीपको जादु

सुरेशराज न्यौपाने

नयाँदिल्ली — ४ ओभर, ३६ रन, ३ विकेट । क्रिकेटको ट्वान्टी–२० संरचनामा एउटा बलरका लागि एउटै खेलमा यस्तो आँकडा अलिकति खर्चिलो भए पनि विकेटको सफलता हिसाबले सपनासरह मानिन्छ ।

सन्दीपको जादु

त्यो पनि विश्वका नामी खेलाडीको जमघट, विश्वकै चर्चित र महँगो क्रिकेट प्रतियोगिता– इन्डियन प्रिमियर लिग (आईपीएल) मा । युवा नेपाली क्रिकेटर सन्दीप लामिछानेले नयाँ दिल्लीको फिरोज साह कोटलामा आइतबार आफ्नो स्पिनको जादुले त्यही सपना साकार पारे ।

मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएर सन्दीपले उत्कृष्ट खेल देखाएका हुन् । १० औं ओभरमा दोस्रो स्पेल गर्न आएका सन्दीपले पहिलो बलमै विस्फोटक किरन पोर्लार्डलाई ट्रेन्ट बोल्टको हातबाट क्याच गराए । उनी त्यतिमै रोकिएनन् । ओभरको तेस्रो बलमै क्रुणाल पाण्डेलाई पनि मात्र चार रनमा पेभेलियन फर्काए । सन्दीपले दुई बल अन्तरमा दुई विकेट लिएपछि ४२ डिग्री सेल्सियस तातोको परवाह नगरी मन्त्रमुग्ध भएर खेले र हेरिरहेका करिब ३० हजारभन्दा बढी दर्शकको खुसीको स्वरले रंगशाला गुन्जिएको थियो ।

यसअघि रोयल च्यालेन्जर बैंग्लोरविरुद्धको खेलमा जस्तै पुन: एक पटक दिल्ली डेयरडेभिल्सका कप्तान श्रैयस ऐय्यरले सन्दीपलाई बलिङ आक्रमणको सुरुआत गर्न लगाएका थिए । मुम्बईका ओपनर सूर्यकुमार यादव पहिलो दुई बलमा चौका र छक्का हान्दै सन्दीपविरुद्ध आक्रामक ढंगले उत्रिएका थिए । तर, सन्दीप हतास भएनन् । उनले चौथो बलमै यादवलाई मिड अनमा रहेका विजय यादवको हातबाट क्याच गराए ।

सन्दीपको व्यक्तिगत तेस्रो ओभर भने अलि महँगो रह्यो । हार्दिक पाण्डेले ओभरको पहिलो दुई बलमा छक्का र चौका प्रहार गरेर सन्दीपलाई केही दबाबमा राखे । सन्दीप अत्तालिएनन् । बाँकीका चार बलमा तीन रन मात्र दिए । उनले चौथो ओभरमा विकेट नलिए पनि निकै किफायती बलिङ गरे । १६ औं ओभरमा आफ्नो अन्तिम ओभर फालेका सन्दीपले कसिलो बलिङ गर्दै मात्र चार रन दिए । खेलसँगै सन्दीपको पहिलो आईपीएल सहभागिता अविस्मरणीय बन्न पुग्यो । आफूले खेलेका तीन म्याचमा १२ ओभर बलिङ गर्दै उनी ५ विकेट लिन सफल भए ।

सन्दीप आफूले मात्र उत्कृष्ट प्रदर्शन गरेनन्, टिमलाई नै जिताउन पनि अहम् भूमिका खेले । उनकै उत्कृष्ट बलिङका कारण तुलनात्मक रूपमा बलियो मानिएको मुम्बईमाथि उनको टिम दिल्लीले आफ्नो अन्तिम खेलमा ११ रनले जित हात पार्‍यो । जबकि खेल मुम्बईका लागि गर या मरको स्थिति थियो । अंक तालिकामा चौथो र पाँचौं स्थानमा रहेका मुम्बई र राजस्थान रोयल्सबीच प्लेअफको अन्तिम सिटका लागि प्रतिस्पर्धा थियो । आईपीएलको शीर्ष तीन टिमको टुंगो यसअघि नै लागिसकेको थियो । यो हारसँगै मुम्बई प्लेअफमा पुग्ने सम्भावना समाप्त भयो । आईपीएलका अघिल्ला दुई म्याचमा पनि उत्कृष्ट बलिङ गरेर सबैतिरबाट वाहवाही कमाएका सन्दीपको अन्तिम खेललाई नेपाल र विदेशमा निकै चासोका साथ हेरिएको थियो ।

कोटला रंगशालामा दिल्लीका समर्थक मात्र नभएर अतिथि टिम मुम्बई इन्डियन्स फ्यानको संख्या पनि बाक्लै थियो । साबिक बिजेता मुम्बई टिममाथि प्लेअफमा पुग्न दिल्लीसँगको खेल जित्नैपर्ने दबाब थियो । सन्दीपले आफ्नो दोस्रो स्पेल फाल्ने क्रममा एउटै ओभरमा दुई बलको अन्तरमा दुई विकेट झारेपछि मुम्बईका दर्शक स्तब्ध बन्न पुगे । भारतका महान् स्पिनरमध्येका एक विशन सिंह वेदीले कान्तिपुरसँगको कुराकानीमा ‘सन्दीपको खेलमा दम भएको’ बताए । ‘प्राविधिक रूपमा निकै दक्ष देखिन्छन् । तर एउटा कुरा पक्का हो, म जब उनीजस्ता युवा खेलाडी देख्छु आफैं निकै दंग पर्छु,’ उनले भने । अब आफूलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सन्दीपले धेरै ओभरको क्रिकेट खेल्नुपर्ने वेदीले सुझाए । सन्दीपले चाहेको खण्डमा आवश्यक सल्लाह र सहयोग दिन पनि आफू तयार रहेको उल्लेख गर्दै उनले भने, ‘अवसर मिल्यो भने म उनलाई भेटेर आफूले जानेको सल्लाह दिन चाहन्छु, त्यसले मलाई पनि खुसी नै मिल्नेछ ।’

दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले सन्दीपको खेलको खुलेर प्रशंसा गरे । पत्रकार सम्मेलनमा ‘पहिला सन्दीपलाई मौका नदिएकोमा पछुतो छैन ?’ भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, ‘सन्दीप निकै प्रतिभाशाली भएकोमा मलाई शंका छैन, तर चार जना मात्र विदेशी खेलाडी राख्न पाउने बाध्यताका कारण उनले मौका नपाएका हुन् ।’

दुई महिनाअघि दिल्लीले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा पोन्टिङले ‘सन्दीपले आईपीएल खेल्न पाउँछन् ?’ भन्ने प्रश्नको जवाफमा उनले अझै धेरै सिक्न र आफूलाई निर्खान बाँकी रहेको उल्लेख गर्दै यसै भन्न नसकिने बताएका थिए । ‘उनमा जतिबेला पनि खेलिरहने जाँगर र लगन थियो । उनको खेलबाट मलाई निकै खुसी लागेको छ । उनले आफूलाई प्रमाणित गरेका छन् । यस पटकको लिगका उत्कृष्ट खेलाडीमध्येका एक हुन् सन्दीप । उनको आईपीएलमा भविष्य उज्ज्वल छ । आगामी दिनमा उनले राम्रो मौका पाउनेछन्,’ पोन्टिङले भने ।

टस जितेर घरेलु टिम दिल्लीले पहिले ब्याटिङ गर्दै स्लो पिचमा १७४ रनको सम्मानजनक स्कोर बनाएको थियो । आइतबारको खेलपछि सन्दीपको प्रदर्शनलाई लिएर पूर्वभारतीय क्रिकेटर मनिन्दर सिंहले भने, ‘पहिलो ओभरमा विकेट लिए पनि उनको बलिङ त्यति राम्रो भएन । दोस्रो ओभरमा भने उनले लय समाते । र, नतिजा पनि उत्कृष्ट रह्यो । उनमा इच्छाशक्ति छ, जुन एउटा युवा खेलाडीका लागि महत्त्वपूर्ण कुरा हो ।’ सन्दीपमा गजबको धैर्यता रहेको उनले बताए । सामान्यत: स्पिनरहरू पहिलो दुई बलमा चौका र छक्का हान्नेबित्तिकै अत्तालिने गर्छन्, तर सन्दीपमा त्यो स्वभाव नरहेको र जुन उत्कृष्ट खेलाडीमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण भएको उनले बताए । ‘स्पिनरको मुटु ठूलो हुनुपर्छ, त्यस्तो मुटु सन्दीपमा रहेछ । अर्को महत्त्वपूर्ण खेलाडी त्यो राम्रो मानिन्छ, जसले गल्तीबाट सिक्छ, सन्दीपले त्यो प्रमाणित गरेर देखाए उनमा अन्तर्राष्ट्रियस्तरको खेलाडी बन्ने सबै गुण छ भन्ने,’ सिंहले भने ।

सन्दीपले खेलेका तीनवटा म्याचमा उनले विश्वका उत्कृष्ट ब्याट्सम्यानलाई आफ्नो बलिङको जादुले कायल पारे । महेन्द्रसिंह धोनी, शेन वाट्सन, विराट कोहली, एबी डिभिलियर्स, सुरेश रैना जस्ता धुरन्धर खेलाडी पनि उनको बलका सामु रक्षात्मक देखिए । बलपिच्छेको फरक शैलीले ती नामी खेलाडीलाई पनि सन्दीपको बलिङ बुझ्न हम्मेहम्मे परेको थियो । विस्फोटक वाट्सनदेखि क्लासिकल कोहलीलाई समेत उनको स्पिनले काबु बनाएको थियो । गत जनवरीमा दिल्लीसँग आईपीएलको जारी सिजनका लागि अनुबन्ध भएसँगै सारा नेपालीको ध्यानमा सन्दीपमाथि केन्द्रित थियो । आईपीएलको अक्सनमा झन्डै ६ सय खेलाडीको सूचीबाट सन्दीपलाई दिल्लीले नै २० लाख भारुमा अनुबन्ध गर्ने निर्णय गरेको थियो । दिल्लीको उक्त निर्णयसँगै विश्वकै महँगो खेल प्रतियोगितामा दरिएको आईपीएलमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी पनि बने उनी । उनको अनुबन्ध र आईपीएलमा देखाएको उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेट र क्रिकेटरलाई विश्व क्रिकेटको गर्बिलो पहिचान बनेको छ ।

४ जेठमा भएको म्याचमा पनि सन्दीपको प्रदर्शन सम्झनालायक थियो । सन्दीपले भारतीय क्रिकेट टिममा खम्बा मानिने सुरेश रैनालाई एलबीडब्लू धराप पारेका थिए । म्याचमा उनले महत्त्वपूर्ण विकेट मात्र लिएनन् किफायती पनि गरे । सन्दीप र अमित मिश्रको कसिलो र उत्कृष्ट बलिङकै अगाडि महेन्द्र सिंह धोनीको चेन्नई सुपर किंग्स दिल्लीका सामु निरीह बनेको थियो । दिल्लीले दिएको १६२ रनको लक्ष्यसमेत पुर्‍याउन नसकेर चेन्नई ३४ रनले पराजित भएको थियो । आफ्नो पूरै चार ओभरमा सन्दीपले जम्मा २१ रन मात्र दिएका थिए । किफायती बलिङ र महत्त्वपूण विकेट लिएका कारण उनले एक लाख भारु पुरस्कार राशिको ‘स्टायलिस प्लेयर’को पुरस्कारसमेत हात पारेका थिए ।

३० वैशाखमा करिब डेढ महिनाको लामो पर्खाइपछि सन्दीपले पहिलो पटक खेल्ने मौका पाएका थिए । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध आईपीएलको डेब्यु म्याचमै उनी विकेट लिन सफल भए । आईपीएलमा सन्दीपको पहिलो सिकार बनेका थिए पार्थिव पटेल । आरसीबीविरुद्ध आफ्नो पूरै चार ओभर बलिङ गर्दै पच्चीस रन दिएर एक विकेट लिन सफल भए । आरसीबीका ओपनर ब्याट्सम्यान पटेल सन्दीपको दोस्रो ओभरको चौथो बल खेल्ने क्रममा उनको स्पिनको सिकार भएका थिए ।

गत वर्ष मुम्बईलाई आईपीएल जिताउन महत्त्वपूर्ण भूमिका खेलेका रिकी पोन्टिङ नै चालु सिजनमा दिल्लीका प्रमुख प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा सन्दीपले आईपीएलमा दुई महिना बिताए । आईपीएलमा खेल्न पाउने पहिलो नेपाली खेलाडी बन्नासाथ सन्दीपको चर्चाले आकाश चुमिसकेको थियो । दिल्लीका लागि आफूले खेलेका तीनवटा खेलमा उनको गरेको प्रदर्शनले विश्व क्रिकेटमा उनलाई मात्र चिनाएन, नेपालको परिचय नै गर्बिलो बनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?