कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बम विस्फोटमा घाइते कांग्रेस नेता भन्छन्–‘दु:ख पर्दा पार्टीले हेरेन’

काठमाडौँ — ‘आज ठीक १ सय ७३ दिन भएछ,’ चुनावी प्रचार क्रममा २०७४ मंसिर १३ गते बम विस्फोटमा परी घाइते भएका पूर्वसांसद नारायणबहादुर कार्कीले आइतबार कान्तिपुरसँग भने, ‘डाक्टर गोविन्द केसीले निको हुन अझै डेढदेखि दुई वर्ष लाग्छ भन्नुभएको छ ।’

बम विस्फोटमा घाइते कांग्रेस नेता भन्छन्–‘दु:ख पर्दा पार्टीले हेरेन’

कार्कीलाई दाहिने खुट्टाको गह्रुँगो भारीले मात्रै सताएको छैन, आर्थिक बोझ र समस्याले पनि उत्तिकै पीडा दिएको छ । पछिल्लो संसदीय निर्वाचनमा उदयपुर २ का उम्मेदवार कार्की दनुवार बेंसीमा आयोजित चुनावीसभामा जाँदै गर्दा गाडीमा बम विस्फोट भएको थियो ।

बोलेरो गाडीको अघिल्लो सिटमा उनी र विद्यार्थी नेता मीरा कटुवाल थिए । दुवै जनालाई गम्भीर चोट लाग्यो । कटुवालको दाहिने खुट्टा गुम्यो । ड्राइभर राजन कार्की पनि घाइते भए । उनको दाहिने खुट्टामै चोट लागेको थियो । ‘मलाई त मरें नै जस्तो लागेको थियो,’ घटनाको त्रासदी सम्झँदै कार्कीले भने, ‘धन्न बाँचेँ तर अझै दुई वर्ष कसरी बिताउने, अत्यास लागेको छ ।’ शिक्षण अस्पताल महाराजगन्जमा पाँच महिनाभन्दा बढी बसेर केही दिनअघि मात्रै कोटश्वरस्थित डेरामा सरेका कार्कीले पार्टीलाई चिन्ने मौका पनि यतिबेला पाए । चालीस वर्षभन्दा बढी कांग्रेस राजनीतिमा क्रियाशील उनलाई दु:खमा काँध थामिदिने कोही नभएजस्तो भएको छ ।

‘भन्न त त्यसबेला प्रधानमन्त्री रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले तँ चिन्ता नगर्, म छु । सम्पूर्ण खर्च र अरू व्यवस्थासमेत गर्छु । ढुक्क भएर बस् भन्नुभएको थियो,’ शिक्षण अस्पतालको एनएक्स क्याबिनको ६ सय १ कोठामा आएर सभापतिले भन्दा खुट्टाको सबै पीडा भुलेको उनले बताए । ‘तर त्यस दिनदेखि सभापति भेट्न आउनुभएन । के कस्तो छ भनेर खोजखबर पनि गर्नुभएको छैन,’ उनले गुनासो गरे ।

उनको दाहिने खुट्टामा झन्डै ८ केजीको उपकरण (स्टिल एलिजारो) को भारी छ । त्यसलाई उताउति चलाउन उनी सक्दैनन् । बमको छर्राले छेडिएको पैताला सुनिएर पाक्न थालेको छ । गोलीगाँठोदेखि पिँडुलासम्म ३० ठाउँमा हड्डी छेडेर साना सुइरा रोपिएको छ । जसको पीडाले उनी राम्ररी निदाउन सक्दैनन् । तीन ठाउँमा भाँचिएको खुट्टालाई स्टिल एलिजारो उपचार पद्धतिबाट जोड्ने प्रयास भएको छ । सिंगो खुट्टालाई सद्दे बनाउन तीनवटा औंला काटिएका छन् । उमेर र सुगर रोगका कारण पूर्ण रूपमा ठीक हुन समय लाग्ने डाक्टर केसीले बताएका छन् । डा. केसीकै नेतृत्वमा उनको उपचार भइरहेको छ ।

कार्की बम विस्फोटमा परेपछिका झन्डै तीन महिनासम्म देउवा नै प्रधानमन्त्री थिए । तर, उनले महँगो उपकरण र औषधिमा पार्टी र सरकारबाट सहयोग पाउन सकेनन् । सरकारले नि:शुल्क उपचार गर्ने त भन्यो तर उपकरण र महँगो औषधि बाहिरबाट किन्नुपर्‍यो । एम्बुसमा परेको गाडीको समेत क्षतिपूर्ति नपाएको उनले बताए । ‘सरकारले तत्कालै क्षतिपूर्ति दिने निर्णय गरेको थियो तर अझै पाएको छैन,’ उनले भने । हालै भेट्न आएका नेता कृष्णप्रसाद सिटौलाले १५ दिनमा परिणाममा पुर्‍याउने आश्वासन दिएको उनले बताए । ‘उहाँको आश्वासनले केही ढाडस मिलेको छ,’ उनले भने ।

कांग्रेसले अहिलेसम्म यस्ता दु:खमा परेका कार्यकर्ताको उद्धार गर्न कुनै कोष खडा गरेको छैन । क्रियाशील सदस्यताबाट उठेको रकमसमेत निर्वाचनमा दुरुपयोग गरेको आरोप लागिरहेको छ । सरकारबाट पाँच लाख पाए पनि पार्टीबाट एक रुपैयाँ पाएका छैनन् । ‘पार्टीले सहयोग नगरे पनि साथीभाइ र नेताहरू आएर भेटिदिँदा सान्त्वना मिलेको छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?