कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कभर सङ’ मा झेली !

सजना बराल

काठमाडौँ — युटयुबमा नेपाली कभर सङको संख्या कति होला ? भन्न गाह्रो छ । यसो भन्न सजिलै सकिन्छ– कभर सङ ‘आकर्षक पेसा’ र ‘प्लेटफर्म’ बनेको छ । अरूका गीत गाएरै कतिले आफूलाई स्थापित गरेका छन्, धन पनि कमाइरहेका छन् ।

‘कभर सङ’ मा झेली !

तर, तिनले कभर गाउनका लागि न मूल स्रष्टासँग अनुमति लिन्छन्, न स्रष्टालाई क्रेडिट दिन्छन्, न त रोयल्टी नै । यसो गर्नु के उचित हो ? स्रष्टाहरू यो प्रवृत्तिबारे भन्छन्, ‘होइन, यो खुलेआम डकैती हो ।’

निकी कार्की, विजय/प्रीति, छेवाङ लामा, ज्योभान भुजु, स्वप्न सुमन, दीक्षा जे थापा, अल्मोडा राना, त्रिशाला गुरुङ, स्मृति श्रेष्ठ, प्रयत्न श्रेष्ठजस्ता कलाकार कभर सङमार्फत चिनिएका हुन् । नयाँ मात्र होइन, एड्रिन प्रधान, आस्था तामाङ मास्के, निखिता थापाजस्ता स्थापित कलाकारले समेत आफ्नो कभर गायन युटयुबमा राखेका छन् । कतिपयले त म्यासअप (दुईभन्दा बढी गीतको लय, शब्द वा संगीत जोडेर बनाइएका गीत) भन्दै अर्काकै सिर्जना थुपार्ने गरेका छन् । नारायणगोपाल, गुलाम अली, बच्चु कैलाश वा अरुणा लामादेखि उदय/मनिला सोताङ, नेपथ्य, १९७४ एडी हुँदै सुगम पोखरेल र समृद्धि राईका गीतसमेत कभरस्वरूप धेरैले गाएका छन् । हिन्दी र अंग्रेजी उत्तिकै ।

कतिपय युटयुब च्यानलले कभर सङ विशेष शृंखला नै निर्माण गरेका छन् । जस्तै– च्यानल आर्बिट्ररीको ‘टुबर्ग मी एन्ड माई गिटार सेसन’ मा प्रशस्त कभर सङ छन् । गत साता मात्रै निमा रुम्बाको ‘हुरी बतासझैं...’ को कभर भर्सन अपलोड भएको छ । त्यसमा श्रीजन श्यामा नामक युटयुब युजरले यस्तो कमेन्ट गरेका छन्, ‘कुनै गीत बाँकी नराख्ने भयो आर्बिट्ररीले ।’ कभर सङ नेपाल नामको त च्यानलै छ, जसमा द एज ब्यान्ड, सुशान्त केसी, बर्तिका राईहरूका गीत कभर भर्सनमा उपलब्ध छन् ।

मूल स्रष्टाको उपेक्षा
कृष्ण केसी र सुरेखा क्षत्रीले ‘ओल्ड इज गोल्ड नेपाली कभर सङ’ शीर्षकमा ‘सोह्र वर्षे उमेरैमा...’ र ‘ए कान्छा मलाई सुनको...’ गाएका मात्र छैनन्, भिडियो नै बनाएर युटयुबमा राखेका छन् । किसनराज गुरुङले कभर भन्दै गुलाम अलीको ‘गाजलु ती...’ गाइवरि आफैंले भिडियो निर्देशन गरेका छन् । म्युजिक नेपालको युटयुब च्यानलमा उपलब्ध उक्त कभर सङ तथा भिडियोमा करिब १७ लाख भ्युज छ । ‘हाम्रा गीतको लुट भइरहेको छ,’ संगीतकार दीपक जंगम भन्छन्, ‘यो कानुनकै मजाक हो । अनुमतिबिना हाम्रा गीत जथाभावी गाउन दिएर, पैसा कमाएर खुलेआम डकैती भइरहेको छ ।’

झन्डै ७४ हजार सबस्क्रिप्सन रहेको निकी कार्कीको च्यानलमा ९० प्रतिशत कभर सङ छन् । सबैमा लाखौं लाख भ्युज पनि । विजय/प्रीतिले लन्डन बसेरै भएभरका नेपाली गीतको कभर गाउन भ्याइसके । ज्योभान भुजुले आफ्नो च्यानलमा १ सय २५ वटा भिडियो राखेकोमा आधा त कभर गीतहरूकै छन् । १० महिनाअघि अपलोड भएको ‘त्रिशूली बगेर...’ मा साढे ११ लाख भ्युज छ । रोजलिन श्रेष्ठसँग युगल गाएको गीतको भिडियोमा ज्योभानले ‘नेपाली बाबु’ फिल्म खुलाए पनि मूल स्रष्टा को–को हुन्, उल्लेख छैन । यो मात्र होइन, उनले अधिकांश कभर सङ भिडियोमा क्रेडिट दिन जरुरी ठानेका छैनन् । आफ्ना अरिजिनल गीतमा भने मज्जैले नाम राखेका छन् ।

सबस्क्रिप्सन, भ्युज, विज्ञापन सबैका आधारमा कभर सङ आर्टिस्ट तथा कभर सङ राख्ने च्यानलले आम्दानी गरिरहेका छन् । तिनले मूल स्रष्टालाई रोयल्टी त दिँदैनन् नै, गाउँछु है भनेर अनुमतिसम्म लिँदैनन् । देशविदेशमा रहेका थुप्रै नेपाली युवायुवतीमा कभर सङ मोह देखिन्छ । तीमध्ये केहीले शब्द फेरेर, इम्प्रोभाइज्ड गरेर वा कहिलेकाहीँ बिगारेर गाइदिन्छन् । नयाँ भिडियोसमेत बनाएर अपलोड गर्छन् ।

यस्ता बेथितिले आजित गीतकार दिनेश अधिकारीले केहीअघि कान्तिपुर कोसेलीमा ‘कभर सङ कि ठगीको रङ’ शीर्षक लेख लेखेका थिए । उनले यसबारे नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा सूचना पनि दिएको बताए । ‘स्रोतामाझ आएका हाम्रा गीत जसले पनि गाउन पाउँछ,’ अधिकारी भन्छन्, ‘तर, त्यसबाट आम्दानी गर्न पाइँदैन । युटयुबमा राखेपछि त्यो व्यापारिक प्रयोजनका लागि भयो । यस्तो गर्न मूल स्रष्टासँग अनुमति लिएर र क्रेडिट उल्लेख गरेर मात्र अपलोड गर्न पाइन्छ । त्यसबाट आर्जन भएको रोयल्टी सेयर गर्नैपर्छ ।’

बौद्धिक सम्पत्तिको अधिकार हनन
विदेशतिर विशेष गरी अमेरिकामा अर्काको गीत गाउन पर्फर्मिङ राइट्स अर्गनाइजेसन (पीआरओ) सँग अनुमति लिनुपर्छ । त्यसले पर्फर्मिङ लाइसेन्स दिएपछि मात्र होटल, क्लब, स्टेज वा कुनै समारोहमा गाउन पाइन्छ । हामीकहाँ त होटलतिर पनि निर्धक्क कभर गाउन लगाउने चलन छ ।

युटयुबमा राख्न अमेरिकामा हयारी फक्स एजेन्सीसँग मेकानिकल लाइसेन्स लिनुपर्छ । बिनाअनुमति कभर गाएर युटयुबमा राखे कपिराइट ओनर (प्रतिलिपि अधिकार धनी) ले कारबाही गर्छन् । त्यहाँको कानुन पालना कति कडा छ भने आफ्नो गीतमा एउटा बालक नाच्दै गरेको भिडियो देखेपछि गायक प्रिन्स (हाल दिवंगत) ले युटयुबमा उजुरी गरेर त्यो च्यानलै डिलिट गराइदिएका थिए ।

कतिपय विदेशी गीतको कभर भर्सनमा युटयुबले अटोमेटिक रेभेन्यु सेयरिङमार्फत स्रष्टाको रोयल्टी रकम सुरक्षित गरिदिन्छ । जस्तो– नेपाली आर्टिस्टले एड सरिनको ‘सेप अफ यु...’ को कभर भर्सन युटयुबमा राख्दा त्यसमा कन्टेन्ट आईडी क्लेम आउँदैन । बरु त्यसबापतको रोयल्टी रकम स्वत: एडसम्म पुग्छ । कभर गाउन अनुमति दिइएका केही गीतमा भने कपिराइट होल्डरले मोनिटाइज गर्न नमिल्ने नीति बनाएका हुन्छन् जसले कभर आर्टिस्टले एक सुका आम्दानी गर्न पाउँदैन । नेपालमा भने यस्ता कुनै प्रावधान छैन ।

तसर्थ, कभर गाउने वा कभर भिडियो अपलोड गर्ने च्यानलहरूले स्रष्टासँग व्यक्तिगत रूपमा भेटेरै अनुमति लिनुपर्छ र रोयल्टी बुझाउनुपर्छ । कभर सङ गायक ज्योभान यो सिस्टम ठीक नभएको तर्क गर्छन् । उनका अनुसार स्रष्टालाई खोजीखोजी अनुमति लिन वा रोयल्टी बुझाउन सम्भव छैन । ‘कसलाई तिर्ने रोयल्टी हामीले ?’ उनले भने, ‘कोसँग अनुमति माग्ने ? एक–एक मान्छे भेट्न सम्भव छैन । लिगल सिस्टम बन्नुपर्‍यो, हामी रोयल्टी तिर्न तयार छौं ।’ कभर गाउनु गैरकानुनी नभएको र विश्वस्तरीय ट्रेन्ड रहेको पनि उनले बताए । ‘सिनियर आर्टिस्टहरूले कुरा नबुझी इगो पालिरहनुभएको छ,’ उनले थपे, ‘जुनसुकै पपुलर सिंगरले पनि कभर गाएकै हुन्छ ।’

अर्काका गीत खोजीखोजी गाउन सक्नेले अनुमति लिन र रोयल्टी दिन भने स्रष्टा खोज्न नसक्ने तर्क गर्नु बदमासीको पराकाष्ठा भएको स्रष्टाहरूको भनाइ छ । गायक हेमन्त शर्मा यस्ता तर्कलाई बेतुक मान्छन् । कसैले स्रष्टालाई क्रेडिट दिएर ‘फेयर युज’ (जस्तै शैक्षिक प्रयोजन) का लागि गीत गाएका छन् भने त्यो स्वीकार्य हुने उनले बताए । ‘तर, त्यो प्रयोग पनि आंशिक मात्र हुन्छ,’ उनले भने, ‘यहाँ त स्रष्टा र श्रोतालाई छक्याएर, व्यावसायिक प्रयोजनका लागि धमाधम गाइँदै छ ।’

कभर सङमार्फत सर्जकको नैतिक अधिकार हनन भइरहेको भन्दै प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुलीले सर्जकहरू अब चुप बस्न नहुने बताए । ‘हाम्रा स्रष्टा सचेत भइसक्नुभएको छैन,’ उनले भने, ‘उहाँहरूले पाइला चाल्नुभयो भने हामी साथ दिन र कारबाहीको प्रक्रिया अघि बढाउन सघाउँछौं ।’ गीतसंगीतको सम्पूर्ण अधिकार स्रष्टासँग निहित हुने भएकाले विदेशमा झैं प्रस्तोता समाजसँग अनुमति लिने वातावरण बनिनसकेको बताए । ‘तर, कोही कभर गाउन अनुमति माग्न आए हामी स्रष्टासम्म पुर्‍याइदिन सक्छौं,’ उनले भने ।

स्रष्टा सचेत हुँदा हालै ‘कृ’ फिल्मका निर्माताले कपिराइट होल्डरलाई ११ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको उदाहरण दिँदै पराजुलीले भने, ‘युटयुबको मुद्दामा त ११ लाख होइन, ११ करोडकै क्षतिपूर्तिसमेत तिर्नुपर्ने हुन सक्छ ।’

अनुमतिबेगर कभर गाउनेलाई स्रष्टा वा प्रतिलिपि अधिकार धनीले चाहे जस्तोसुकै कारबाही हुन सक्ने उनले बताए । प्रतिलिपि अधिकार ऐन, २०५९ को भाग १६, उपदफा २ मा सांगीतिक रचनालाई पुनरुत्पादन गर्दा रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर गर्न नपाइने उल्लेख छ । योभन्दा अघि भाग ८ मा रचयिताको नैतिक अधिकारअन्तर्गत रचनाका प्रतिहरूमा आफ्नो नाम उल्लेख गर्न लगाउने, आफ्ना रचना बिगारे त्यसलाई रोक्नेजस्ता प्रावधान समावेश छन् ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?