कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौथो पूर्व–पश्चिम लोकमार्ग निर्माण हुने

चुरे–भित्री मधेस हुँदै १२ सय किमि लामो ‘मदन भण्डारी पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने निर्णय

काठमाडौँ — सरकारले चुरे तथा भित्री मधेस हुँदै नयाँ ‘पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग’ निर्माण गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सरकारले आफ्ना नेता स्व. मदन भण्डारीका नाममा चौथो पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने महत्त्वाकांक्षी कार्यक्रम अघि सारेको हो । 

चौथो पूर्व–पश्चिम लोकमार्ग निर्माण हुने

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेलधुराको रूपाल (महाकाली नदी) सम्म मदन भण्डारी लोकमार्ग बनाउने निर्णय गरेको हो ।


यसको लम्बाइ १ हजार २ सय किलोमिटर हुने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।


चौथो पूर्व–पश्चिम लोकमार्ग चुरे र भित्री मधेसमा पर्ने झापाको शान्तिनगरदेखि चतरा, गाईघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, तम्घास, सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुढा हुँदै रूपालसम्म निर्माण हुनेछ । यो लोकमार्गले चुरे र भित्री मधेसमा पर्ने १४ जिल्ला झापा, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, नवलपरासी, पाल्पा, गुल्मी, प्यूठान, दाङ, सुर्खेत, डोटी, कैलाली र डडेलधुरालाई जोड्ने छ ।


पूर्व–पश्चिम महेन्द्र लोकमार्ग, हुलाकी लोकमार्ग र मध्यपहाडी लोकमार्गपछि सरकारले चौथो योजना अघि बढाउन लागेको हो । निर्माण सम्पन्न भइसकेको १ हजार २७ किमि लामो पूर्व–पश्चिम महेन्द्र लोकमार्ग २५ वर्षदेखि सञ्चालनमा छ । झापादेखि कञ्चनपुरको चाँदनी–दोधारा जोड्ने दोस्रो पूर्व–पश्चिम हुलाकी लोकमार्ग निर्माण धीमा गतिमा भइरहेको छ ।


झापादेखि कञ्चनपुरसम्म तराई–मधेसको दक्षिणी भेग भएर बन्ने १ हजार २७ किमि लम्बाइको यो लोकमार्गको निर्माण कार्य २० प्रतिशत हाराहारी मात्र सकिएको छ । करिब ८० प्रतिशत ठाउँमा ट्रयाक खोल्नै बाँकी छ ।


२०५० मा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखर नेपाल भ्रमणमा आउँदा भारतले हुलाकी लोकमार्ग बनाइदिने घोषणा गरेको थियो । भारतीय सहयोग पर्याप्त नआउँदा निर्माणले गति लिन सकेको छैन । अघिल्लो वर्षदेखि सरकारले आफ्नै खर्चमा निर्माणलाई गति दिने निर्णय गरे पनि काम अघि बढेको छैन ।


तेस्रो पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको ट्रयाक खोल्ने कार्य सकिनै लागेको छ । आगामी आर्थिक वर्षभित्रै यो लोकमार्गको ट्रयाक पूर्ण रूपमा खुली यातायात सञ्चालनमा आउने दाबी भौतिक पूर्वाधार मन्त्रालयको छ ।


पूर्वमा पाँचथरको चियोभन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्गको लम्बाइ १ हजार ७ सय ७६ किमि छ । ट्रयाक खुलेपछि सडकको रेखांकन सोझ्याएर १ हजार ३ सय किमिमा छोट्टयाउने योजना मन्त्रालयको छ ।


चौथो मदन भण्डारी पूर्व–पश्चिम लोकमार्गमा पर्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौंडा खण्डमा खोलिएको ट्रयाक यातायात सञ्चालन हुन सक्ने अवस्थामा छ । यो खण्डको लम्बाइ ३ सय ८० किमि छ । मधेस आन्दोलनका बेला महेन्द्र लोकमार्ग बन्द हुँदा तराईका यात्रु र मालवाहक गाडी यो खण्डको धरान–चतरा हुुँदै हेटौंडा र राजधानी आउने तथा राजधानी–हेटौंडा हुँदै धरानसम्म जाने गरेका थिए ।


कालोपत्रे र पुल निर्माण सुरु भइसकेको यस खण्डमा सरकारले एक वर्षअघि नै करिब १२ अर्ब रुपैयाँमा चारवटा ठेक्का सम्झौता गरी काम अघि बढाएको छ ।


बाँकी खण्डको भने अध्ययन र सडकको एलाइन्मेन्ट (रेखांकन) गर्नै बाँकी छ । यो काम तत्काल अघि बढाइने जानकारी भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले दिए । ती अधिकारीका अनुसार कतिपय ठाउँमा निर्माण भइसकेका सडकसमेत पर्ने भएकाले लोकमार्ग निर्माण छिटो अघि बढाउन सकिनेछ ।


नीति तथा कार्यक्रममार्फत सरकारले यो लोकमार्ग निर्माण गर्ने घोषणा गरिसकेको छ । जेठ १५ मा आउने बजेटमा रकम विनियोजन गरिने जानकारीसमेत ती अधिकारीले दिए ।

प्रकाशित : जेष्ठ ७, २०७५ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?