‘उपचार त भयो घर कसरी फर्कने ?’
काठमाडौँ — मुगुको छायानाथ रारा नगरपालिका १० झाकोटकी ४६ वर्षीया चुक्का नेपाली उपचार गर्ने खर्च नहुँदा आङ खस्ने समस्याबाट लामो समय थलिइन् । १० वर्षसम्म पीडा सहनुपर्यो । पहिलो पटक भएको अप्रेसन पनि राम्रोसँग नहुँदा झन् बढी पीडा खेप्नुपर्यो ।
उपचारका लागि सुरुमा बाँकेको कोहलपुर पुगिन् । त्योबेला आङ खस्ने समस्या भएको भन्दै चिकित्सकले पाठेघरको अप्रेसन गरिदिए ।
उपचारपश्चात् घर फर्किइन् । ‘ऋण गरेर उपचार गराउन लगेको थिएँ,’ उनका पति रंगवीरले भने, ‘उपचारमा १ लाख २९ हजार खर्च भयो, अझै ३५ हजार ऋण तिर्न बाँकी छ ।’ दम्पती पहिलो पटक वैशाख २८ गते काठमाडौं आए । मुगुबाट नेपालगन्जसम्म जहाजमा र त्यहाँबाट गाडी चढेर काठमाडौं ओर्लिए । ‘यो ठाउँमा कोही आफ्ना छैनन्,’ रंगवीरले भने । कोहलपुरमा अप्रेसन गरेको एक वर्षपछि समस्या देखियो । त्यसपछि उनीहरू मुगु र जुम्लाका अस्पताल पुगे । कतै उपचार सम्भव भएन । उल्टै ऋण गरेको पैसा सकियो । ‘जुम्लामा राम्रा डाक्टर आउँछन् भनेर १२ हजार ऋण गरेर त्यहाँ पनि पुर्याएँ,’ रंगवीरले भने, ‘त्यहाँ डाक्टर नै रहेनछन्, दुई हप्तासम्म कुर्न सकिएन, उपचार नै नगरी फर्कियौं ।’ तीनदिन हिँडेर जुम्ला पुगे पनि उपचार नहुँदा निराश भएर फर्किएको उनले बताए ।
आफ्नो बारीको अन्नले ३ महिनाभन्दा बढी खान पुग्दैन । खाद्य संस्थानबाट चामल किनेर खानुपर्ने बाध्यता छ । ऋण धेरै भइसकेको थियो । यस्तोमा काठमाडौं ल्याएर उपचार गर्ने कुरा त झन् सपनाजस्तै थियो । खर्च नभएपछि उपचारको आस मारेर बसेकी चुक्काको अवस्थाबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भयो । अमेरिकामा बस्दै आएकी सिर्जना शर्मा उप्रेतीले उपचारका लागि ५० हजार २ सय आर्थिक सहयोग गरिन् । त्यही सहयोगले दम्पती काठमाडौं आउने अवसर पाए । उनीहरूलाई काठमाडौंको पवित्र समाज सेवा नेपालकी दीक्षा चापागाईंले लगेर आश्रममा राखिन् । अस्पतालसम्म उनैले पुर्याएर भर्ना गरिदिइन् । जेठ २ गते बुधबार उपचारका लागि थापाथलीस्थित प्रसूति गृह पुगे । चिकित्सकको सल्लाहअनुसार शुक्रबार पाठेघरको अप्रेसन भयो ।
अहिले चुक्काको उपचार चलिरहेको छ । ‘पैसा सकियो, डाक्टरले भिटामिन खुवाउनु भनेका छन् तर किन्ने पैसा छैन,’ रंगवीरले दु:ख पोखे, ‘पैसा नभएर घर फर्कन समस्या छ, के पैसाले भिटामिन किनेर खुवाउनु ?’ चुक्कालाई ढाड दुख्ने समस्या पनि छ । अस्पतालको २ सय १८ नम्बर बेडमा रहेकी उनले भनिन्, ‘अब उपचार गरेपछि ठीक हुन्छ कि भन्ने आस छ ।’ उनको उपचारमा संलग्न चिकित्सक डा.गेहनाथ बरालले सामाजिक सुरक्षा युनिटमार्फत उपचारमा नि:शुल्क हुनेजति सबै सुविधा उपलब्ध गराएको बताए । रंगवीरसँग अब ५ हजार रुपैयाँ मात्र बाँकी छ । तर, औषधि किन्न र अस्पातलमा बसेको खानाको पैसा तिर्न बाँकी नै छ । ‘घर जान भाडा महँगो छ, आफूसँग यहीँ बस्ने पैसा छैन,’ उनले भने, ‘गरिब भएपछि यस्तै हुँदो रैछ, विकटमा घर छ, कसरी पुग्ने भन्ने चिन्ता लागिरहेछ ।’
प्रकाशित : जेष्ठ ८, २०७५ ०७:३२