कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन तस्करी प्रकरणमा थप दुई पक्राउ

हुन्डी र अवैध विदेशी मुद्रा कारोबारसम्बन्धमा अनुसन्धान गर्दै समिति
जनकराज सापकोटा

काठमाडौँ — लुटिएको ३३ किलो सुन र सनम शाक्य हत्याबारे अनुसन्धान गर्न बनेको विशेष समितिले थप दुई जनालाई पक्राउ गरी मुद्दा चलाउनका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाएको छ ।

सुन तस्करी प्रकरणमा थप दुई पक्राउ

समितिले अवैध विदेशी मुद्रा कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका मनी चेन्जर सञ्चालक मदन सिलवाल र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका सवारीचालक फाल्दुन गुरुङलाई शुक्रबार साँझ मोरङ पठाएको हो ।


समितिका अनुसार भुजुङले भान्जा भनेर सम्बोधन गर्ने फाल्दुन तस्करीको सुन ओसारपसारमा संलग्न थिए । उनलाई दुई साताअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समितिले मुद्दा चलाउनका लागि मोरङ पठाएको हो ।


पक्राउलगत्तै मोरङ पठाइएका सिलवाल भने युनियन मनी चेन्जर र मित्रनगर मनी चेन्जरका सञ्चालक हुन् । समिति स्रोतका अनुसार सिलवालले अवैध रूपमा अमेरिकी डलर संकलन गरी दुबईबाट सुन किन्नका निम्ति गोरेलाई उपलब्ध गराउँथे ।


पछिल्लो केही वर्ष मात्रै उनले दुई करोड रुपैयाँभन्दा धेरै डलर संकलन गरिसकेको देखिन्छ ।


धेरै पैसा पाउने लोभमा सिलवालले अवैध रूपमा डलर संकलन गरी वैदेशिक रोजगारीमा जाने कामदारमार्फत दुबई बस्ने गोरेको हातमा डलर पुर्‍याउने गरेको समितिको दाबी छ । अवैध मार्ग हुँदै दुबई पुगेको डलर सुन किन्नका निम्ति प्रयोग भएको निष्कर्ष समितिले निकालेको छ ।


समितिका एक सदस्यका अनुसार बैंकले भन्दा मनी चेन्जरहरूले डलरको सटही रकम धेरै दिनुको कारण नै अवैध कारोबारमा लगानी गर्नका निम्ति हो । ती सदस्यले सिलवालले पनि प्रचलित बजार भाउभन्दा धेरै रुपैयाँ दिएर डलर सटही गर्ने गरेको र अवैध सुन किन्नका निम्ति गोरेलाई उपलब्ध गराउने गरेको बताए ।


कान्तिपुरसँगको कुराकानीमा ती सदस्यले संगठित तस्करीमार्फत नेपाल भित्रिएको अवैध सुनको ८० प्रतिशतभन्दा धेरै हिस्सा भारतीय बजारमा जाने गरेको बताए । यसरी भारत पुग्ने सुनका लगानीकर्ता भारतीय नै हुने र उनीहरूले सुन किन्ने पैसा हुन्डीमार्फत सोझै दुबई पठाउने गरेको ती सदस्यले दाबी गरे ।


संगठित सुन तस्करीमा हुन्डी र मनी चेन्जरका कारोबारी संलग्न भएको भन्दै समितिले यसअघि नै झापामा मनी ट्रान्सफर चलाएर बसेका विनोद अधिकारी र हुन्डी कारोबारमा संलग्न दोलखाका मोतीलाल श्रेष्ठलाई पक्राउ गरिसकेको छ ।


सुन तस्करीको वित्तीय प्रभाव केलाउँदै समितिले संगठित तस्करीमा हुन्डी कारोबारीको भूमिकासम्बन्धमा अनुसन्धान थालेको छ । अवैध कारोबारीले दुबईमा सुन किन्न आवश्यक पर्ने रकम हुन्डी र विदेशी मुद्रा कारोबारीमार्फत पाउने समितिको बुझाइ छ । त्यसैले समितिले संगठित सुन तस्करी, हुन्डी र अवैध विदेशी मुद्राको कारोबारलाई जोडेर हेर्ने प्रयास गरेको छ ।


स्रोतका अनुसार समितिले वित्तीय अपचलन र विदेशी मुद्रा अपचलनसँग संगठित सुन तस्करीको सम्बन्ध र यसले पार्ने प्रभावबारे विस्तृत अनुसन्धान गर्न राष्ट्र बैंकबाट एक विज्ञ सदस्यलाई बोलाएको छ । समितिका एक सदस्यले भने राष्ट्र बैंकका ती अधिकारीले संगठित सुन तस्करले कसरी पैसा जुटाउँछन् ?


न्यून बिजकीकरण, हुन्डी र अवैध विदेशी मुद्राको कारोबारसँग सुन तस्करीको कनेक्सन कसरी जोडिन्छ र यसले मुलुकको वित्तीय प्रणालीमा कस्तो असर पार्छ भन्नेबारे निष्कर्ष निकाल्नेछ ।

प्रकाशित : जेष्ठ १२, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?