कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन तस्करी र हत्या मुद्दा : आज थुनछेक आदेश हुने सम्भावना

पक्राउ थप दुईजनालाई विराटनगर ल्याइयो

विराटनगर — ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) का सम्बन्धमा आइतबार जिल्ला अदालत मोरङले थुनछेकको आदेश दिने सम्भावना छ ।

सुन तस्करी र हत्या मुद्दा : आज थुनछेक आदेश हुने सम्भावना

यसअघि शुक्रबारसम्म उनको बयान लिइएको थियो । आइतबार शाक्यलगायतलाई यातना दिइएको र सम्बन्धित अरु श्रव्यदृश्य सामग्री देखाएर थप बयान लिइने अदालत स्रोतले जनाएको छ ।


यो प्रक्रिया पूरा भएपछि सरकारी वकिलले गोरेलाई थुनामै राख्नुपर्ने माग गर्दै अभियोग प्रमाणित गर्नका लागि बहस गर्नेछन् । त्यसपछि गोरेका तर्फबाट वकालतनामा दर्ता गराएका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि आवश्यक परे फेरि सरकारी वकिलका तर्फबाट प्रत्युत्तर बहस हुने र यो सकिएपछि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माबाट थुनछेकको आदेश जारी हुनेछ ।


बयानमा गोरेले शाक्यको हत्यामा आफू जिम्मेवार नरहेको बताएका छन् । तर सुन खोज्ने क्रममा कुटपिट भने गरेको उनले स्वीकारेका छन् । सुन तस्करी प्रकरणमा आफू मुख्य जिम्मेवार नभएको भन्दै उनले अरुको पनि संलग्नता रहेको बयान दिएको अदालत स्रोतले जनाएको छ ।


उनकै बयानका आधारमा प्रहरीले मोरङ उर्लाबारीका ३८ वर्षीय रेवन्तकुमार आचार्यलाई प्रहरीले पक्राउ गरिसकेको छ । मोरङ जिल्ला अदालतमा जारी बयानका क्रममा गोरेले सहयोगीका रुपमा नाम उल्लेख गरेपछि आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । उर्लाबारीमा सुनचाँदीको पसल रहेका आचार्यले सुन खोजीका क्रममा भरिया भनिएकाहरुलाई यातना दिन सहयोग गरेको जनाइएको छ । उनी तत्कालीन नेकपा एमालेका कार्यकर्ता समेत रहेको जनाइएको छ ।


यो मुद्दामा यसअघि अदालतले पूर्व डिआइजी गोविन्दप्रसाद निरौलालगायत २८ जनालाई थुनामा राख्न आदेश दिइसकेको छ । मोरङ जिल्ला कारागार साँघुरो भएकाले उनीहरुलाई अदालतको अनुमतिमा सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा लगेर राखिएको छ । आरोपीमध्ये एकजना साधारण तारेखमा छाडिएका थिए भने अर्का एकजनालाई धरौटीमा रिहा गरिएको थियो ।


थप दुईजना विराटनगर ल्याइयो


यो प्रकरण छानबिन गर्न गठित उच्चस्तरीय समितिले अवैध विदेशी मुद्रा कारोबारमा संलग्न भएको आरोपमा मनी चेन्जर सञ्चालक मदन सिलवाल र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका सवारीचालक फाल्दुन गुरुङलाई मोरङ पठाएको छ ।


समितिका अनुसार भुजुङले भान्जा भनेर सम्बोधन गर्ने फाल्दुन तस्करीको सुन ओसारपसारमा संलग्न थिए । उनलाई दुई साताअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समितिले मुद्दा चलाउनका लागि मोरङ पठाएको हो ।


सिलवाल युनियन मनी चेन्जर र मित्रनगर मनी चेन्जरका सञ्चालक हुन् । अवैध रूपमा अमेरिकी डलर संकलन गरी दुबईबाट सुन किन्नका निम्ति गोरेलाई उपलब्ध गराउने गरेको समितिको अनुसन्धानबाट खुलेको छ । यसअघि संगठित सुन तस्करीमा हुन्डी र मनी चेन्जरका कारोबारी संलग्न भएको भन्दै समितिले झापामा मनी ट्रान्सफर चलाएर बसेका विनोद अधिकारी र हुन्डी कारोबारमा संलग्न दोलखाका मोतीलाल श्रेष्ठलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?