सुन तस्करी र हत्या मुद्दा : ‘ठूला नेता पक्रिए पर्दाफास हुन्छ’

माधव घिमिरे, विनोद भण्डारी

विराटनगर — साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बताएका छन् ।

जिल्ला अदालत मोरङमा बयानका क्रममा आइतबार उनले यस्तो बताएका हुन् । ‘को–को संलग्न छन्, यकिन भन्न सक्दिनँ,’ उनले भने, ‘तस्करीबाट आउने सबै सुन इन्डिया जान्छ ।’
गोरेका अनुसार विमानबाट प्रहरीकै पास प्रयोग गरी तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा पुर्‍याइने सुन उनले अनकूल समयमा बाहिर निकाली भरियामार्फत तोकिएका स्थानमा पठाउँथे । यसबापत खत्रीले प्रतिकिलो ५० हजार रुपैयाँ बुझ्थे ।

Yamaha

आफू तस्करीमा सघाउने तल्लो तहको मानिस भएको भन्दै गोरेले आफूभन्दा माथिका नाइके, प्रहरी उच्च अधिकारी र दलका ठूला नेता पक्राउ परे मात्र सुन तस्करीको असली कुरा पर्दाफास हुने बयानमा उल्लेख गरेका छन् । ती व्यक्तिको नाम भने उनले खुलाएका छैनन् ।

‘सुन बाटैमा लुटियो’
गोरेले थाई एयरबाट सुन भित्रिएको तर तोकिएको स्थानमा लैजाने क्रममा बाटैमा लुटिएको अदालतसमक्ष बताएका छन् । ‘दुबईबाट आएको सुन लुटिएकामा कुनै विवाद छैन,’ जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा आइतबार बयान दिँदै उनले भने, ‘कसले लुट्यो भन्नेचाहिँ हालसम्म रहस्यमै छ ।’ भरिया सानु बनको मृत्यु भइसकेकाले सुन कहाँ गयो भन्ने पत्ता लगाउन असहज भएको उनको भनाइ थियो । ‘सुन मालिक भारतीय रहेको जानकारी पाए पनि मैले उसलाई चिनेको छैन,’ उनले बयानमा भनेका छन्, ‘नेपालबाट स्थलमार्ग हुँदै भरिया फेरेर सुन भारत लगिन्थ्यो ।’ तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याएबापत बनले प्रतिकिलो ३५ हजार रुपैयाँ पाउने गरेको गोरेले जनाए ।

जहाजको शौचालयमा राखेर ल्याइने सुन जहाजको सिंढीमा बनाइएको प्वालमा छिराएर हयांगर हुँदै बममार्फत बाहिरिने गरेको बयानमा खुलासा गरिएको छ । थाई एयर र फ्लाइ दुबईका जहाजमार्फत नेपालमा सुन भित्रने गरेको गोरेले बताएका छन् । फ्लाइ दुबईमार्फत आएको सुन राजु महर्जन, राजन थापा, अमरमान डंगोल, तुलाराम थारूसहितको समूहले विमानस्थलको यात्रु ओसार्ने बसमा राखेर अनुकूल समयमा बाहिर ल्याउने गरेको उनले जानकारी दिए ।

हराएको सुन ‘भारतीय व्यापारीको’
हराएको भनिएको सुनका मालिक भारतीय रहेको तर उनलाई आफूले नचिनेको गोरेले बयानमा खुलाएका छन् । दुबईबाट सुुन तस्करी गर्न आफूसमेतको संलग्नता रहेको भने उनले स्विकारेका छन् ।

अदालतले लिपिबद्ध गरेको ३७ पृष्ठको बयानमा उल्लेख छ– ‘मसमेत भई दुबईबाट नेपाल सुन भित्र्याउने गरेको तथ्यमा कुनै विवाद छैन, २०७४/१०/०९ गते भारतीय व्यापारीले मगाएको साढे ३३ किलो सुन हराएको कुरासमेत यथार्थ हो । हराएको सुन पत्ता लगाउनका लागि थाई एयरलाइन्सका कर्मचारीदेखि भुजुङ गुरुङ, छिरिङ गुरुङ र मेरा सहयोगीलाई समेत शंकाको घेरामा राखी मैले अनुसन्धान गरेको हुँ । सनम शाक्यलाई कसैले अपहरण गरेको छैन, उनलाई मार्ने उद्देश्यसमेत कसैको थिएन, घटना भवितव्यवश भयो । सनम मेरा मिलनसार र विश्वासिला मित्र थिए, मैले सनमलाई कर्तव्य गरी मारेको होइन ।’

हराएको सुन पत्ता लगाउने क्रममा फागुन १७ गते शाक्यलाई कुटपिट गर्दै सोधपुछ गरे पनि मार्ने नियत नभएको उनले बताएका छन् । टेकबहादुर मल्ल र शाक्यबीच मनमुटाव भएकाले उनैले करेन्ट लगाएको दाबी गोरेको छ । शाक्यलाई लाक्पा शेर्पा, टुकबहादुर, सुरेन्द्र र मल्लले कर्तव्य गरी मारेको उनले बयानमा खुलाएका छन् ।

अनुसन्धानमा खटिएका सई बालकृष्ण सञ्जेललाई दुई वर्षअघि चिनेको र आफूले सुनको कारोबार गर्ने गरेको बताउँदा उनले त्यस्तो काम नगर्न सम्झाएको गोरेले बताएका छन् । ‘सनमको मृत्युपछि सञ्जेललाई फोन गरी मैले नै जानकारी दिएको हुँ, उनीहरू मलाई सहयोग गर्न भनी काठमाडौंबाट हिँडेको र बाटामा पैसा लेनदेनको विषयमा फोनमा गफ भएको व्यहोरा ठीक हो,’ बयानमा उल्लेख छ, ‘तर, उनीहरूसँग भेट नहुँदै म इन्डिया गइसकेको थिएँ, पछि के भयो थाहा भएन ।’

प्रतिवादीमध्येका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला आफ्ना बुबा नेत्रप्रसादको साथी भएकाले ‘काका’ भन्ने गरेको उल्लेख गर्दै गोरेले आफूले सुनको कारोबार गर्ने कुरा निरौला र बुबालाई थाहा नभएको बताएका छन् ।

आफूलाई बचाइदिने भन्दै डीएसपी केसी र सई सञ्जेलले रकम लेनदेनको कुरा गरे पनि विश्वास नलागेपछि भारततर्फ भागेको उनको भनाइ छ । प्रतिवादीमध्येका एसएसपी दिवेश लोहनीलाई आफूले नचिनेको र कुनै सम्पर्क नभएको गोरेले उल्लेख गरेका छन् ।

फ्लाइ दुबई र थाई एयरवेजबाट आउने सुनबारे विमानस्थलका सुरक्षाकर्मीलाई थाहा नहुने तर प्रहरीकै पास प्रयोग गरी ‘अर्को तेस्रो लाइन’ बाट सुन भित्र्याई प्रहरीकै मिलेमतोमा बाहिर ल्याइने गरेको गोरेले खुुलासा गरे । उनका अनुसार एकपटकमा २५ देखि ३० किलोसम्म सुन आउने गथ्र्यो । भरियालाई प्रहरीले पास उपलब्ध गराएछि बिनाचेकजाँच सुन बाहिर ल्याइन्थ्यो ।

‘सुन बोक्ने मानिस सहजै प्रहरीका हाकिमको कोठामा जान्थे, झोला त्यहीँ छाडी हिंड्थे । पछि प्रहरीले नै अनुकूल समयमा बाहिर निकालेर तोकिएको स्थानमा छाडिदिन्थे,’ उनले भने । सुन तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा जाने गरेको र उनले अनुकूल समयमा बाहिर निकाली सहकर्मी भरियालाई तोकिएको स्थानमा पुर्‍याउन लगाउने गरेको बयानमा उल्लेख छ । खत्रीले आफ्ना चालक र अंगरक्षकमार्फत आफैंले चढ्ने गाडीमा राखेर सुन बाहिर पुर्‍याउने गरेको र उनको सरुवापछि यो तरिका रोकिएको गोरेको भनाइ छ । खत्रीले सुन बाहिर निकालेबापत प्रतिकिलो ५० हजार रुपैयाँ बुझ्ने गरेको र यो लाइनबाट ४ सय किलोदेखि ५ सय किलोसम्म सुन आउने गरेको गोरेले बयानमा भनेका छन् ।

बयानमा उल्लेख छ– ‘प्रतिवादी टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र सुरेन्द्र गौतम सुनका भरिया हुन् । भोजराज भण्डारी जग्गाको कारोबारी हुन् । रुस्तम भन्ने मोहम्मद रुस्तम मियाँ, टुकबहादुर मगर, रोहित आचार्य, नरेन्द्र कार्की पनि भरिया नै हुन् । लाक्पा शेर्पा मेरा ड्राइभर हुन्, उनीसँग सुन तस्करीको सम्बन्ध छैन । मदन घिमिरे सुन पूर्वतिर आउँदा सेटलमेन्ट गर्थे । भविन तामाङले सानु बमबाट सुन बुझ्ने काम गर्थे ।’

प्रतिवादी छिरिङ वालेङ घलेले सुन तस्करीको धन्दा चलाउने गरेको र आफू उनकै लाइनमा बसेर काम गर्ने गरेको गोरेको भनाइ छ । प्रतिवादीमध्ये सुनीलकुमार अग्रवाल र कृष्णगोपाल अग्रवालले सुनमा लगानी गर्ने गरेको उनले बताएका छन् ।

प्रतिवादी चाचाजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल भारतीय व्यापारीका मानिस भएको र उनले सुन बुझेर भारत पठाउने गरेको गोरेले खुलाएका छन् । प्रतिवादीमध्येका बेनु श्रेष्ठसमेत सुनका लगानीकर्ता भएको उनले बयानमा बताएका छन् । प्रतिवादीमध्येका विमानस्थल कर्मचारीहरू सबैले सुन बाहिर निकाल्न सघाउने गरेको गोरेले उल्लेख गरेका छन् ।

प्रहरीले बरामद गरेको रजिस्टर र डाइरीमा उल्लिखित सुन कारोबारको विवरण सत्य भएको उल्लेख गर्दै सबै हिसाबकिताब शाक्यले राख्ने गरेको गोरेले बताएका छन् । डायरीमा कोड भाषा प्रयोग गर्ने गरेको स्विकार्दै गोरेले त्यसमा उल्लेख भएका अधिकांश व्यक्तिलाई आफूले चिनेको उल्लेख गरेका छन् ।

विदेशबाट सुन मगाउने व्यक्तिहरू सुनसरीको इटहरीस्थित चाँदनी ज्वेलर्सका मालिक बेनु श्रेष्ठ, पोखरा घर भएका प्रमोद श्रेष्ठ, अमुल भनिने भारतीय नागरिक, झापाको भद्रपुरका सुन पसल सञ्चालक अर्जुन शिवाकोटी, भारत दार्जिलिङका रोशन अग्रवाल, धरानका सुनील अग्रवाल, भारत कोलकाताका राजकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाललगायत रहेको उनले बताएका छन् ।
प्रतिवादीमध्ये प्रमोदकुमार श्रेष्ठ, कपिलराज पुरी, हेमन्त गौतम, रोशन भनिने गुप्तलाल भुसाल, गीता श्रेष्ठ, अमरमान डंगोल, विष्णुबहादुर खडका, अमर भनिने अम्बरबहादुर थापा मगर, एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित केसीलाई आफूले नचिनेको उनले बयानमा बताएका छन् ।

गोरेलाई थुनामा राख्न आदेश
बयानपछि अदालतले गोरेलाई थुनामा राख्न आदेश दिएको छ । सुन तस्करी, भरियामाथि यातना र हत्या, लास दबाउने काममा सक्रियता, आपराधिक समूह स्थापना र सञ्चालनमा संलग्नताजस्ता प्रमाणका आधारमा उनी कसुरदार देखिएको अदालतको ठम्याइ छ ।

गोरेको बयानपछि आइतबार जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक र सहायक न्यायाधिवक्ता रोहित पोखरेलले थुनछेक बहस गरेका थिए । त्यसपछि गोरेका तर्फबाट अधिवक्ता यामबहादुर मगरले बहस गरेका थिए ।

थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका स्रेस्तेदार निमित्त केदारप्रसाद गौतमले बताए । संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्तको ११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि थुनामा राख्न न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले आदेश दिएको हो । उनलाई नियमानुसार सिदा खान पाउने गरी थुनुवा पुर्जी दिई मोरङ कारागार पठाउन आदेशमा उल्लेख छ ।

Esewa Pasal

प्रकाशित : जेष्ठ १३, २०७५ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बुद्ध नेपालगन्जबाट दिल्ली उड्ने

सुरज कुँवर

काठमाडौँ — आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्जदेखि भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्ने भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले यसबारे खुलासा गरेका हुन् ।

‘सोमबार हामी नेपालगन्ज–दिल्ली–नेपालगन्ज उडानका लागि नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिँदैछौं,’ बुद्धका बजार तथा बिक्री विभागका निर्देशक रुपेश जोशीले कान्तिपुरसँग भने।

उनले कम्तीमा अबको ६ देखि नौ महिनाभित्र बुद्धले नेपालगन्जदेखि दिल्ली सीधा उडान भर्ने दाबी गरे। ‘भारतीय पक्षबाट गत बिहीबार कन्फर्म भएको हो,’ प्रवन्ध निर्देशक बस्नेतले भने, ‘अबको बाँकी हवाई रुटको काम सरकारको हो।’ निजी क्षेत्रमा सर्वाधिक कारोबार गर्ने बुद्धको यो निर्णयले नेपालगन्जको अर्थतन्त्र कायापलट हुने भनिएको छ।

सिन्धुपाल्चोकको तातोपानी नाका भुकम्पपछि अवरुद्ध भएपछि तिब्बतको मानसरोबार जाने भारतीय तीर्थयात्रीको रुट काठमाडौंबाट नेपालगन्जतर्फ सरेको थियो। अहिले नेपालगन्जपारिको भारतीय बजार लखनउबाट वार्षिक ३० हजार हाराहारी तीर्थयात्री हुम्ला सिमिकोट हुँदै मनसरोबर जान थालेपछि नेपालगन्ज तीर्थयात्रीका लागि हब बनेको छ। जेठदेखि ५ महिना मानसरोबर जाने तिर्थयात्रीहरु नेपालगन्ज नाकाबाट पस्छन्। यस्मा अधिकांश भारतीय नागरिक छन्।

बुद्धको दिल्ली उडानले थप पर्यटक भित्रिने र त्यहाँको अर्थतन्त्र कायापलट हुने प्रबन्ध निर्देशक बस्नेतले बताए। बुद्धले दिल्ली उडान थालेपछि अहिले उडानमा रहेका एटीआर–५००–७२ विमान उडाउने भनेको छ। २२ हजार ५ सय सम्म अधिकतम उडान तौल (एमटीओडब्लु) भएका यस्ता ५ वटा विमान यस कम्पनीसँग छन्। बुद्धका प्राविधिकहरुले यो विमानबाट नेपालगन्जदेखि दिल्ली १ घन्टा हाराहारी उडान समय हुने भनेका छन्।

अहिले नेपालगन्ज अन्तर्राष्ट्रय हवाई रुटसँग जोडिएको छैन। बुद्धले प्राधिकरणमा आवेदन दिएपछि पर्यटन मन्त्रालयले हवाई रुट खोल्न पहल गर्नुपर्ने हुन्छ। भारतसँग जोडिएका केही रुट चाँडै सञ्चालनमा ल्याइनेबारे प्रधानमन्त्री केपी ओलीले पनि आइतबार संसद्‍मा बोलेका छन्। प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार प्राधिकरणले यसै महिनाको अन्तिममा भारतको नागरिक उड्डयन महानिर्देशनालयका प्राविधिकहरुसँग हवाई रुटबारे वार्ता गर्ने तयारी गरिरहेको छ। यस्मा प्राधिकरणको हवाई ट्राफिक व्यवस्थापन विभागकाका प्राविधिकहरु रहनेछन्।

अहिले नेपालबाट दिल्ली जानुपरे विमानहरु महेन्द्रनगरबाट निस्किने लिमा६२६ रुट हुँदै दिल्लीतर्फ लाग्छन् । अहिले नेपालगन्जबाट बाहिर निस्किने र भित्र पस्ने हवाई रुट छैन । यदि बुद्धले दिल्ली उडान थाले महेन्द्रनगरमाथिको आकाशबाट बनाइएको लिमा ६२६ रुट नै भित्र प्रवेश गर्न प्रयोग गर्नुपर्ने हुन्छ । अहिले यो बाटो एकतर्फी छ । यो रुटजस्तै भैहरवाको आकाशबाट हुँदै लखनउका लागि निस्कीने ब्राभो ३४५, जनकपुरबाट कलकत्ता निस्किने रोमियो ३२५ र विराटनगरबाट ढाकातर्फ जाने रोमियो३४४ रुट छन् । यी रुट एकतर्फी मात्रै हुन् । यी रुटबाट नेपालभित्र पस्न पाइँदैन । अहिले नेपालभित्र विमान प्रवेश गर्ने मुख्य रुटमा दिल्ली र दिल्ली पश्चिमका मुलुकबाट नेपाल आउने हवाई रुट गल्फ ५९८ हो भने ढाकालगायत पूर्वी मुलुकहरुबाट गल्फ ४५३ रुट हो ।

नेपालले भारततर्फका एकतर्फी रुटलाई दुईतर्फी बनाउन पहल गर्दै आएको छ । गत वर्ष पुस ५ गते पर्यटन मन्त्रालयका सहसचिवको नेतृत्वमा ८ सदस्यीय नेपाली टोली रुटका लागि वार्ता गर्न दिल्ली गएको थियो । तर, उक्त छलफलमा भारतीय अधिकारीहरुले जेट एयरको विमानमा आउने हवाई मार्शललाई राति बास बस्नु परे काठमाडौंमा बास दिनुपर्ने शर्त राखेपछि वार्ता निष्कर्षमा पुगेको थिएन । यसपटक नेपाल भम्रणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हवाई रुटबारे पनि बोलेपछी बुद्धलगायत एयरलाइन्सलाई नेपालबाट क्षेत्रीय उडान भर्न सजिलो हुने छ । तर, चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलाइन्सलाई भने भारतले तीन वर्ष बित्न लाग्दा पनि उड्ने अनुमति दिएको छैन । सरकारी स्रोतका अनुसार, हिमालय एयरलाइन्सले लगानीको स्रोत प्रस्ट्याउन नसकेपछि भारतले यो एयरलाइन्सलाई दिल्ली उड्ने अनुमति अहिलेसम्म नदिएको हो ।

नेपाल सरकारले सन् २००९ मा भारतसँग गरेको दुईपक्षीय हवाई सम्झौताअनुसार, वार्षिक १५ लाख ६० हजार सिटको सम्झौता छ । दुवै मुलुकले दिल्ली, मुम्बई, बैंग्लोर, चेन्नाई, हैदरवाद र कलकत्तामा सातामा ३० हजार सिट यात्रु उडान पाउँछन् । यी मुख्य सहरबाहेक भारतले देहेरादुन, बागडौरा, गोरखपुरलगायत २१ वटा पर्यटकीय सहरका लागि भने सिट संख्या असीमित गरेको छ । नेपालले भारतसहित ३८ मुलुकसँग सीधा हवाई सम्पर्कका लागि सम्झौता गरेको छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ १९:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT