कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्यो मिर्गौला प्रत्यारोपण

अघिल्लो वर्ष १ सय ३२ बिरामीको मिर्गौला प्रत्यारोपण गरिएकोमा चालु आर्थिक वर्ष १ सय ५० जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।
विमल खतिवडा

काठमाडौँ — मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भएदेखि चालु आर्थिक वर्षको आठ महिनामा ६ सय ५० बिरामीको मिर्गौला प्रत्यारोपण तथा डायलासिस गरिएको छ । गत वर्षको तुलनामा मिर्गाैला प्रत्यारोपण गर्ने बिरामी संख्या पनि बढेको छ ।

बढ्यो मिर्गौला प्रत्यारोपण

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्ष १ सय ३२ बिरामीको मिर्गौला प्रत्यारोपण गरिएकोमा चालु आर्थिक वर्ष १ सय ५० जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।


प्रथम आठ महिनामा ४७ वटा स्वास्थ्य चौकीमा नयाँ प्रयोगशाला सेवा सञ्चालन गरिएको छ । ५८ जिल्लामा पुराना मेसिन विस्थापित गरी नयाँ बायोकेमेस्ट्री एनालाइजरबाट सेवा विस्तार भएको छ । चालु आर्थिक वर्ष ४ हजार ७ सय १८ स्वास्थ्य संस्था सञ्चालनमा छन् ।


नेपालमा १ सय २३ वटा अस्पताल, २ सय ४ प्राथमिक स्वास्थ्य केन्द्र, ४ हजार ९ स्वाथ्यचौकी र ३ सय ८२ आयुर्वेदिक औषधालय छन् ।


देशभरका स्वास्थ्य संस्थामा गरी ८ हजार १ सय ७२ शैय्या छ । जम्मा स्वास्थ्य जनशक्ति (डाक्टर, स्वास्थ्य सहायक, नर्स, कविराज, वैद्य, महिला स्वयंसेविका) ८९ हजार २ सय ४३ छन् ।


अर्थ मन्त्रालयले आइतबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आर्थिक वर्षको प्रथम आठ महिनामा १ करोड २३ लाख पटक मुलुकभरका सबै सरकारी, निजी र सामुदायिक संस्थाबाट बहिरंग सेवा प्रवाह भएको जनाएको छ । ६ लाख ८५ हजार बिरामी अस्पताल भर्ना भएका र ११ लाख १७ हजारले आकस्मिक सेवा लिएका छन् ।


सर्वेक्षणअनुसार २०७४/७५ को प्रथम ८ महिनामा ४ लाख ३१ हजार अस्थायी र १९ हजार स्थायी गरी ४ लाख ५० हजार परिवार नियोजन सेवाको नयाँ प्रायोगकर्ता छन् । त्यस्तै नेपालमा प्रति १० लाख जनसंख्यामा ९२ कुष्ठरोगका बिरामी छन् ।


सुरु अवस्थामै कुष्ठरोगका बिरामी पहिचान गरी उपचार गरिएकाले यसबाट हुने अपांगताको दरमा कमी आएको छ । ६६ स्थानीय तहमा सक्रिय विधिबाट कुष्ठरोगी खोजी गर्ने कार्यक्रम सञ्चालनमा छ ।


आर्थिक वर्ष ०७४/०७५ को प्रथम आठ महिनामा ३० स्थानबाट एचआईभी संक्रमितलाई सिडिफोर सेवा उपलब्ध गराइएको छ । ७० वटा एआरटी केन्द्रबाट १५ हजार जनालाई सेवा दिइएको छ ।


७७ वटै जिल्लामा समुदायमा आधारित सिबी पीएमटीसीटी सेवा विस्तार गरिएको छ । १ सय ७५ वटा एचटीसीबाट एचआईभी परीक्षण सेवा सञ्चालन भइरहेको छ । यो अवधिमा ६ लाख ९० हजारको एचआईभी परीक्षण गरिएको छ ।


राष्ट्रिय बिमा नीति, २०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति ०७१ बमोजिम चालु आर्थिक वर्षको ८ महिनामा करिब ६ लाख १० हजार बिमित भएका छन् । जसमा करिब ६ दशमलव ७ प्रतिशत अति गरिब नागरिक छन् ।


बिमितमध्ये करिब २३ प्रतिशतले बिमा कार्यक्रमबाट स्वास्थ्य सेवा उपभोग गरेका छन् । राष्ट्रिय नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत २५ शय्यासम्मका अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ तथा स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाईबाट ३१ प्रकारका अत्यावश्यक औषधि नि:शुल्क वितरण हुँदै आएको छ । १५ वर्षमुनिका ६ सय ९१ र ७५ वर्षमाथिका ४ सय ८५ मुटुरोगीको नि:शुल्क उपचार भएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?