कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजगढ विमानस्थल निर्माण: साढे २४ लाख रूख काटिँदै

ठूलो जंगल रित्तो हुँदा वन्यजन्तुको बासस्थान पर्सा निकुञ्जतिर स्थानान्तरण हुने
अब्दुल्लाह मियाँ

काठमाडौँ — निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सानाठूला गरी साढे २४ लाखभन्दा बढी रूख काटिने भएको छ । सरकारले बाराको कोहल्बी नगरपालिका–८ र जितपुर सिमरा उपमहानगरपालिका–१ मा पर्ने ८ हजार ४५.७९ हेक्टर क्षेत्रमा दोस्रो विमानस्थल निर्माण अघि बढाएको छ ।

निजगढ विमानस्थल निर्माण: साढे २४ लाख रूख काटिँदै

वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनअनुसार ५ लाख ८५ हजार ४ सय ९९ ठूला र १८ लाख ६४ हजार ८ सय २० वटा पोल आकारका रूख काटिनेछन् । तीमध्ये १ लाख ९८ हजार ४ सय ५० छिप्पिएका सालका रूख छन् भने ४ लाख ५ हजार वटा रूख पोल आकारका छन् ।

अन्य रूखमा सिसौ, खयर र सोही प्रजातिमा पर्ने सिमल, बोताध्याँरो र कर्मा जातका छन् । यी सबै रूखबाट उत्पादन हुने काठ र दाउराको मूल्य करिब ५ खर्ब ९६ करोड रुपैयाँ हुने अनुमान छ । विमानस्थल निर्माण हुने क्षेत्रमा प्रतिहेक्टर ३ हजार ९ सय प्राकृतिक बोटबिरुवा रहेको देखिन्छ । ती रुख वनसँगको सहकार्यमा नेपाली सेनाले काट्नेछ ।

रुख नोक्सानीको शोधभर्नास्वरूप निर्माणकर्ताले एक रुख बराबर २५ बिरुवा रोप्नुपर्ने प्रतिवेदनमा छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बारामा दोस्रो विमानस्थल निर्माण अघि बढाएको हो । सन् १९९५ मा दोस्रो विमानस्थलका लागि गरिएको सम्भाव्यता अध्ययनले निजगढसहित ८ वटा वैकल्पिक स्थान औंल्याएको थियो । बाराका जिल्ला वन अधिकृत (डीएफओ) ज्ञानेन्द्र मिश्रका अनुसार मन्त्रिपरिषद्बाट रुख कटान स्वीकृत भएपछि मात्र फिल्डमा काम सुरु हुनेछ । ‘पहिला रुखको नम्बरिङ गरिनेछ,’ मिश्रले कान्तिपुरसित भने, ‘त्यसपछि वन कार्यालयले रुखको छपान गर्नेछ । छपानमा क्षेत्रीय वन निर्देशनालयबाट चेकजाँच पनि हुनेछ ।’

जाँचपछि वन कार्यालयले रुख कटान आदेश दिने र त्यसपछि मात्र प्रस्तावकले रुख काट्नेछ । काटिएका रुख प्रस्तावकले वन कार्यालयलाई हस्तान्तरण गर्नेछ । आयोजनास्थलमा काटिने अधिकांश रुख सहजनाथ साझेदारी र तामागढी साझेदारी वनमा पर्छन् । त्यसैले त्यहाँबाट उत्पादन हुने ५० प्रतिशत काठ दुवै साझेदारी वनले पाउनेछन् भने ५० प्रतिशत जिल्ला वन कार्यालयको अंश हुनेछ । वनले पाएको ५० प्रतिशतबाट जिल्ला वन पैदावार आपूर्ति समितिलाई छुटयाएर बचेको काठ मात्र वन कार्यालयले बिक्री गर्न पाउने मिश्रले बताए ।

प्रतिवेदनअनुसार वन क्षेत्रको क्षतिपूर्तिबापत २१ अर्ब २१ करोड ५७ लाख १० हजार रुपैयाँ वनलाई हस्तान्तरण गरिनेछ । प्रतिवेदनमा ठूलो जंगल खाली हुँदा वन्यजन्तुको बासस्थान पर्सा निकुञ्जतिर स्थानान्तरण हुने उल्लेख छ । विमानस्थल बनाइने क्षेत्र पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि निजगढसँगै जोडिएको छ भने उत्तरतिर पर्सा निकुञ्ज फैलिएको छ ।

यो क्षेत्रमा रहेको जंगलबाट ठूला वन्यजन्तु हात्ती, बाघ र गैंडाको पूर्व–पश्चिम आउजाउ गर्ने करिडोर भए पनि त्यसबारे प्रतिवेदन मौन छ । वन्यजन्तुका लागि अलग्गै करिडोरको सट्टा विमानस्थल क्षेत्रमा अग्लो ‘चेनलिंक तारबार’ लगाएर वन्यजन्तुलाई रोकिने प्रतिवेदनमा उल्लेख छ । नेपालका हात्तीबारे विद्यावारिधि गरिरहेका पर्सा निकुञ्जका सहायक वार्डेन अशोक रामले भने वन्यजन्तु विमानस्थलभित्रै पसेर विमानसँग फाइट गर्न सक्ने सम्भावना औंल्याए । ‘ठूला वन्यजन्तु हात्ती, बाघ र गैंडालाई तारबारले रोक्न सकिन्न,’ अशोकले भने, ‘भएको सानो करिडोर पनि मास्ने हो भने भित्रै समस्या आउने भएकाले अहिले नै सोच्नुको विकल्प छैन ।’

प्रतिवेदनमा पर्सा निकुञ्जलाई कम आँकिएको छ । प्रतिवेदनमा छ ‘विमानस्थल पर्सा निकुञ्जसँग नजिक रहे पनि विमानस्थल वरिपरि ठूलठूला चरा जस्तै चिल, गिद्धलाई आकर्षित हुने वस्तु नभएकाले चरा आतंक हुने देखिँदैन ।’ ईआईए प्रतिवेदनबारे परामर्श लिइएका विशेषज्ञहरूले ‘चरा धपाउन स्क्वाड र फोहोर व्यवस्थापनस्थलबारे’ स्पष्ट उल्लेख गर्न सुझाएका छन् । त्यस्तै, विमान उड्ने र ल्यान्ड हुने बेलामा आवाजले वन्यजन्तुमा प्रभाव पार्ने भएकाले त्यो विषय पनि उल्लेख गर्न सुझाएका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७५ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?