कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटा उदाहरण : लक्ष्यभन्दा बढी काम

मेनुका ढुंगाना

अछाम — देशकै समृद्धिको आधार मानिएको मध्यपहाडी लोकमार्गको अछाम खण्डमा निर्माणले तीव्रता लिएको छ । जिल्लामा लोकमार्गलाई विभिन्न चार खण्डमा छुट्टयाएर काम भइरहेको छ । लोकमार्गको ६० किलोमिटर हिस्सा अछाममा पर्छ ।

एउटा उदाहरण : लक्ष्यभन्दा बढी काम

२०७३ वैशाखमा सम्झौता भई २०७६ वैशाख १५ सम्म कालोपत्रे सक्ने लक्ष्य राखेको आयोजनाले अछाममा दुई वर्षमै लक्ष्यभन्दा १५ प्रतिशत बढी काम गरिसकेको छ । २ वर्षमा चारै खण्डमा ५० प्रतिशत काम सक्नुपर्ने लक्ष्य रहेकोमा ६५ प्रतिशतभन्दा बढी भइसकेको आयोजनाको पश्चिम खण्ड दाङका इन्जिनियर तुलाराम शर्माले बताए । काम यही गतिमा अघि बढे २०७५ असोजसम्ममा कालोपत्रे भइसक्ने उनको दाबी छ । शर्मा भन्छन्, ‘सबैभन्दा बढी काम १७ किमि रहेको मंगलसेनदेखि ठाटिखाँद खण्डमा भएको छ । त्यहाँ असार मसान्तसम्म ९० प्रतिशत काम सम्पन्न भइसक्छ ।’


मंगलसेन–ठाटिखाँद खण्डमा ३३ करोड लागतमा ठेकेदार कम्पनी शर्मा/चन्द्रा एन्ड वसन्त/दिवा जेभीले काम गरिरहेको छ । १७ किमि दूरीको ठाटिखाँद–विनायक खण्ड पनि ३३ करोडमै अनक लुम्बिनी/ राजेन्द्र जेभी निर्माण कम्पनीले जिम्मा लिएको छ ।


यस्तै विनायक बेल्खेतको १५ किमि खण्डमा २९ करोड लागतमा गंगोत्री ओसिस जेभीले काम गरिरहेको छ । ११ किमिको कैलाश खोलादेखि बयालपाटा खण्डको लामा पिएस जेभीले २२ करोडमा ठेक्का लिएको छ ।


अहिले सडकको पेभमेन्ट (बेसकोर्स र डीबीएसडी) को काम भइरहेको छ । ठाटिखाँद–मंगलसेन खण्डको १७ किमिमध्ये ३ किमि मात्र बेसको काम बाँकी रहेको र अन्य क्षेत्रमा पिच गर्न सुरु भइसकेको कम्पनीका साइट इन्चार्ज देवहरि सिटौलाले बताए । भुक्तानी अलि कम देखिए पनि कामका हिसाबले करिब अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।


आफ्नो कम्पनीले जिम्मा लिएका हरेक काम प्रभावकारी र गुणस्तरीय बनाउने आफ्नो नीति रहेको र मध्यपहाडीमा पनि त्यसैअनुसार काम भइरहेको चन्द्रा एन्ड बसन्त कन्स्ट्रक्सनका प्रमुख गणेश चन्दले बताए । ‘आफूले जिम्मा पाएको कामलाई राष्ट्रिय सम्पत्ति सम्झेर गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर लागिपरेका छौं,’ उनले भने ।


सडक कालोपत्रे भएपछि आर्थिक गतिविधि बढ्नुका साथै तराईका जिल्ला जोड्न छोटो रुट हुने भन्दै स्थानीय बासिन्दा व्यग्र प्रतीक्षामा छन् । लोकमार्गले अछामसहित छिमेकी जिल्लाहरूमा पनि सडक सञ्जाल विस्तार भई आर्थिक गतिविधिहरू बढ्ने र यस क्षेत्रको समृद्धि हुने आशा गरिएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?