प्रदेश नं ३ : पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

रासस

हेटौँडा — प्रदेश नं ३ को बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५÷०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया केसी र रीता माझीले छुट्टाछुट्टै राखेको संशोधन प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो । 

Yamaha

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाएको जिज्ञासा र प्रश्नको जवाफ दिँदै प्रदेश नं ३ मा निजी क्षेत्र र सरकारको साझेदारीमा करिब १०० मेगावाट विद्युत् उत्पादन गर्ने रणनीतिका साथ सरकारले लगानीको वातावरण तयार गरी कार्यान्वयन गर्ने बताए ।

मुख्यमन्त्री पौडेलले रसुवाको हिमाली क्षेत्र लाङ्टाङलगायत पर्यटकीय क्षेत्रको विकास र रेडपाण्डाको अनुसन्धान, सम्वर्द्धन गर्ने एवं वातावरणमा स्वच्छता ल्याउने कार्यमा योगदान गरेका डा प्रल्हाद योञ्जनलाई सम्मान गर्न स्याफ्रुबेंसीदेखि लाङ्टाङ उपत्यकाको क्याङजिङ पदयात्रा मार्गलाई डा प्रह्लाद योञ्जन रेड पाण्डा पदयात्रा मार्ग नामकरण गरिएको जानकारी दिए ।

यसैगरी उनले प्रदेश नं ३ मा उत्पादनमूलक रोजगारी दिलाउन सरकारले सहकारीबाट सञ्चालन हुँदै आएको आर्थिक गतिविधिलाई अब घरेलु उद्योग तथा मझौला उद्योग स्थापना र विस्तारमा पनि जोडी लागु गर्ने नीति रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री पौडेलले आगामी २०८५ साल वैशाख १ गतेसम्म काठमाडौँ उपत्यकालगायत चितवन, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रसुवा क्षेत्रमा हल्का सवारी साधनको चाप बढ्दै जाँदा पैदल यात्रुलाई आगमनमा कठिनाइ हुनाका साथै वातावरण प्रदूषित हुने भएकाले ती क्षेत्रमा पेट्रोलबाट चल्ने हल्का एवं हेभी सवारी साधनलाई निषेध गर्ने र विद्युतीय सवारी साधानलाई उच्च प्राथमिकताका साथ सञ्चालनमा ल्याउने सरकारको प्रमुख योजना रहेको बताए ।

प्रदेशसभाको अर्को बैठक यही जेठ ३० गते अपराह्न २ बजे बस्नेछ ।

Esewa Pasal

प्रकाशित : जेष्ठ २४, २०७५ १९:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘जहाँ पायो त्यहीँ बाटो काट्छन् पैदलयात्री ’

विद्या राई

काठमाडौँ — भक्तपुरको बालकोट बस्ने प्रतिरोध सुवेदीको नयाँ बानेश्वरमा निजी कम्पनी छ । कौशलटार–लोकन्थली–जडिबुटी–कोटेश्वर–तीनकुने हुँदै उनी दैनिक मोटरसाइकल हाँकेर कार्यालय धाउनुपर्छ । उनको कार्यालय जाने र फर्कने समय प्रायः एउटै हुन्छ ।

उक्त समयमा सवारी जामले उनी हैरान बनेका छ नै, जथाभावी बाटो काट्ने पैदलयात्रीका कारण मोटरसाइकल हाँक्न झनै समस्या हुने गरेको सुनाउँछन् ।

बाटो काट्नका लागि आकाशेपुल जेब्राक्रसिङ छ। तर, पैदययात्रीहरु आफ्नो सहज जहाँ पायो त्यहीँबाट बाटो काट्ने गर्दा दुर्घटनाको जोखिम हुन्छ। सुवेदीलाई नयाँ बानेश्वरको पिपलबोट क्षेत्रमा सबैभन्दा बढी समस्या हुन्छ। आकाशे पुल छ, केहीबाहेक धेरैले आकाशे पुल प्रयोग गर्दैनन्।

‘बाटो काट्नैहरु नि धेरै हुन्छन्, सवारीको चाप पनि हुन्छ, बाटो क्रस गर्न एकदमै अफ्ठ्यारो हुन्छ, दुर्घटना हुने चान्स अत्यधिक हुन्छ,’ उनले भने। पैदलयात्रीले आकाशे पुल मात्रै प्रयोग गरे पनि दुर्घटनाको जोखिम निकै कम हुने उनी बताउँछन्। पुरानो बानेश्वर, थापागाउँ, शंखमुल, मिनभवनको चौबाटो पर्ने भएकाले सवारीको चाप धेरै हुन्छ।

शिक्षा विकास तथा समन्वय इकाइ ललितपुर शाखाकी अधिकृत शारदा राउतको पनि सुवेदीको जस्तै अनुभव छ। दैनिक कार्यालय ओहोरदोहोर गर्नुपर्छ। स्कुटर हाँकेर चक्रपथखण्ड कोटेश्वर–बालकुमारी–ग्वार्को–सातदोबाटो हुँदै कार्यालय पुग्दा र फर्कदा सकस पर्छ। कारण, भर्खरै विस्तार भएको चक्रपथमा आकाशे पुल, जेब्रा क्रसिङ्ग, ट्राफिक लाइन, सिग्नल केहि छैन।

‘पैदलयात्रुले जति बेला पनि जहाँबाटै बाटो काटिदिन्छन्, सजग भएन भने दुर्घटना भै हाल्छ,’ उनले भनिन्। ‘सवारीको चाप, जामसँगै स्कुटरको गतिलाई नियन्त्रण गर्नुपर्ने त छदै छ,पैदलयात्रु कहाँ कतिबेला बाटो काट्दैछन् निक्कै ख्याल गर्नुपर्ने हुन्छ। ’ सुवेदीले भनिन्, ‘जाम र पैदल यात्रुको ख्याल राख्दै कार्यालय पुग्न र फर्कन समय लाग्ने गरेको छ। ’

लाइसेन्स लिएर भर्खरै सवारी चलाउन थालेकाहरुलाई अझ समस्या छ। उनीहरुलाई सवारीको चाप,आफ्नो शरिरको सुरक्षासँगै सवारीलाई नियन्त्रणमा राख्ने हम्मे–हम्मे परिरहेका बेला पैदलयात्रुको समेत ख्याल गर्नुपर्ने हुन्छ। कतिपय पैदलयात्रु ट्राफिक नियम सम्बन्धि जानकारी नभएकाले जहाँ पायो त्यहीँ बाटो काट्छन्। थाहा पाएर पनि सजिलोका लागि बाटो काट्नेहरु पनि उति नै हुन्छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले भने, –‘पहिलो कुरा ज्ञानको कमी छ, कतिपय थाहा पाएर पनि नपाएजसो गरेर जथाभावी बाटो काट्छन्।’ जेब्रा क्रसिङ २० मिटर पर भए पनि बीचैमा काट्छन्। आकाशेपुलको माथिबाट हिँड्नुपर्नेमा तलैबाट बाटो काट्छन्। दुर्घटनाको जोखिम अत्यधिक रहेको उनले बताए।

उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदल यात्रुको मृत्यु हुने गरेको महाशाखाको आकँलन छ। चालकको लापारवाहीले सबैभन्दा बढी दुर्घटना हुने गरेको छ। महाशाखाको तथ्याकंअनुसार आर्थिक वर्ष ०७४/०७५ वैशाखसम्म उपत्यकामा चार हजार आठ सय ८४ वटा दुर्घटना चालकको लापारवाहीका कारणले भएको छ।

तीव्रगति, मापसे, यान्त्रिक गडबढी, ओभरटेक, पैदलयात्रुको लापारवाही, तोडफोड, सडकको अवस्थाका कारण पनि दुर्घटना हुने गरेको उपरीक्षक मैनालीले बताए। महाशाखाका अनुसार चालू आर्थिक वर्षमा पैदलयात्रुको लापारवाहीका कारण चार वटा दुर्घटना भए। बैशाखमा भएका पाँच हजार एक सय ८० दुर्घटनामा परी एक सय ४९ को ज्यान गएको महाशाखाले जनाएको छ। ती दुर्घटनामा परी एक सय ८४ गम्भीर घाइते भएका थिए भने तीन हजार तीन सय ८५ जना सामान्य घाइते भए।

‘निलोपुलदेखि सुकेधारासम्म हिँडेर आउँदा फुटपाथ छैन, सडकमा नहिँडेर विकल्प छैन,’ पैदलयात्रु नारायणप्रसाद अधिकारीले भने। काठमाडौं महानगरपालिकाका भौतिक शाखाका इन्जिनियर रामबहादुर थापा सडकहरु कालोपत्रे गर्ने र फुटपाथ बनाउने काम भैरहेको बताउँछन्।

फुटपाथ भएकोमा फुटपाथबाटै र नभएकोमा दाहिने साइडबाट हिडँ्नुपर्ने ट्राफिक नियम छ। यति समेत पालना हुदैन। कतिपय पैदलयात्रीले फुटपाथ, जेब्रा क्रसिङ, आकाशेपुल जस्ता पूर्वाधार नभएर बीचैमा काट्ने गरेको बताउँछन्।

जेब्राक्रसिङ भएर पनि अधिकांश ठाउँमा रेखाकंन मेटिएका छन्। चक्रपथको बीएण्डबी अस्पताल अगाडिको आकाशेपुल प्रयोगमा छैन। यो ठाउँलाई ललितपुर ट्राफिक प्रहरीले दुर्घटनाग्रस्त क्षेत्र मानेको छ। कतिपयले जेब्रा क्रसिङ, आकाशेपुल पुग्ने समय झेल्नुभन्दा सजिलोका लागि बीचैबाट बाटो काट्ने गरेको बताउँछन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाको कार्यकालमा सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिडँ्नेलाई दुई सय रुपैयाँ जरिवनाको अभियान सञ्चालन गरेका थिए। बढ्दो सवारी र दुर्घटना सम्बन्धि सचेतनामूलक अभियान सञ्चालन गरिएको थियो।

उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदल यात्रुको मृत्यु भएको भन्दै न्यूनीकरणका लागि गत वर्षको जेठ १ गतदेखि एकमहिनासम्म अभियान चलाइएको थियो। उपत्यकाका २६ वटा सामुदायिक केन्द्रमार्फत जनचेतना कार्यक्रम अन्तर्गत सञ्चालन भएको थियो।

त्यसबेला ट्राफिक प्रहरीले उपत्यकाबाट एकदिन जथाभावी बाटो काट्ने साढे तीन हजार पैदलयात्रहिरुलाई नियन्त्रणमा लिएर जरिवना गराएको थियो। जरिवना तिर्न नसक्ने र नचाहनेलाई तीन घण्टा प्रहरीे कार्यालयमा नियन्त्रणमा राखेर, आधा घण्टा जति सचेतना कक्षा दिएर छाडिएको थियो।

यो अभियान चलाउन्जेल प्रभावकारी देखिएपनि निरन्तरता पाउन सकेन। त्यसपछिको अवस्था जस्ताको त्यस्तै छ। ‘अभियानका रुपमा चलाएका थियौँ, जनशक्ति अभावले गर्दा निरन्तरता दिन सकिएन,’ प्रहरी उपरीक्षक मैनालीले भने। ‘यात्रुले २०/३० मिटरको दुरीमा बाटो काट्दिन्छन्, सडकमा छरिएर हिडँ्छन्, सबैतिर ट्राफिक परिचालन गर्न त सकिदैन नि।’ काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन जिल्लामा जम्मा एक हजार तीन सय ट्राफिक प्रहरी छन्।

सडकमा गाईवस्तु छाडा छोड्दा, फुटपाथमा व्यवसाय र सटर सञ्चालन गरेर पैदल यात्रुलाई हिडँ्ने बाटो हुदैन। कतिपय स्थानमा सडकको आधाजसो भाग नै ओगटेर यात्रुहरु हिड्छन्। यसकारण धेरै दुर्घटना हुने गरेका छन्।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सर्वसाधारणलाई जनचेतनामुलक कार्यक्रम पर्याप्त सञ्चालन गरेपनि व्यवहारमा लागू नगरेको बताउँछन्। फुटपाथमा भएका व्यवसाय, सटरहरुलाई महानगरीय प्रहरी लगाएर पटक पटक हटाएको, जफत गरेको, जरिवाना गराएको भएपनि कमी हुन सकेन। ‘जनचेतनामुलक कार्यक्रमहरु पनि गरेकै हो, बाटो काट्नेहरु सजिलो खोज्छन्, कि त बारै लगाइदिनुपर्छ नत्र व्यवहारमा लागू गर्न गाह्रो छ,’ उनले भने।

प्रकाशित : जेष्ठ २४, २०७५ १९:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT