आयोगको पत्रले राजपामा तनाव

एक महिनाभित्र महाधिवेशन गरेको जानकारी पठाउनू : आयोग
घनश्याम खड्का

काठमाडौँ — निर्वाचन आयोगले एक महिनाभित्र महाधिवेशन गरेको जानकारी पठाउन पत्र लेखेपछि राष्ट्रिय जनता पार्टी (राजपा) मा एकाएक तनाव बढेको छ । 

फाइल तस्बिर

आफैंले तोकेको म्यादभित्र अधिवेशन गर्न नसकेपछि अबको रजानीतिक दिशा कसरी तय गर्ने भन्नेबारे छलफल गर्न अध्यक्षमण्डल छलफलमा व्यस्त रहेका बेला शुक्रबार आयोगले पत्र पठाएपछि खैलाबैला मच्चिएको सचिवालयका एक सदस्यले बताए । ‘अबको एक महिनाभित्र महाधिवेशन गर्ने मिति सकिन्छ तर यो अवधिमा महाधिवेशन सम्भव छैन,’ एक सदस्यले भने, ‘अब हामीले निर्वाचन आयोगसँग ६ महिनाको थप समय मागेर महाधिवेशनका लागि तयारी गर्नुपर्नेछ ।’

Yamaha


आगामी अधिवेशसनसम्मका लागि राजपाले विधान बनाउने तयारी गरेको छ । त्यसैमाथि मंगलबारदेखि छलफल भइरहेको स्रोतले बतायो । विधान तयार पारेपछि बढीमा ६ महिनाभित्र महाधिवेशन गर्ने राजपाको तयारी छ । गत वर्ष असार २३ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्तिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले एकीकरण गरी नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए । अयोगले असार ३० गते राजपालाई मान्यता दिएको थियो ।

नयाँ दलमा एक वर्षभित्र महाधिवेशन गरेर अध्यक्ष टुंगो लगाउने र त्यस समयसम्मका लागि ६ दलकै नेताको संयुक्त अध्यक्षमण्डलले सामूहिक नेतृत्व गर्ने तय भएको थियो । असार ३० गते त्यो मिति पुगे पनि समयभित्र महाधिवेशन गर्न राजपा असमर्थ भएपछि उसको वैधानिकतामा आयोगले चासो दिएको हो । स्रोतका अनुसार अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर तथा सदस्यहरू राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारीले संसदीय दलको नेता चुनिन चाहेका छन् । सके सर्वसम्मत, नसके चुनाव गराएर भए पनि तत्काल संसदीय दलको नेता चुनिने योजनामा उनीहरू रहेको एक सदस्यले जानकारी दिए ।

Esewa Pasal

प्रकाशित : जेष्ठ २४, २०७५ २०:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्री पोखरेलले भेटे राष्ट्रकविलाई

पूर्ण निको भएर मात्र घर फर्किन सल्लाह
सुरेशराज न्यौपाने

नयाँदिल्ली — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजजमणि पोखरेलले नयाँदिल्लीको मेदान्त अस्पतालमा उपचारार्थ राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

साउथ एसियन युनिभर्सिटीको तेस्रो दीक्षान्त समारोहका लागि बुधबार दिल्ली आएका मन्त्री पोखरेल राष्ट्रकवि घिमिरेलाई भेट्न बिहीबार दिउँसो अस्पताल पुगेका थिए । उनले उपचारमा संलग्न चिकित्सकसँग राष्ट्रकविको उपचार प्रक्रिया र स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । भेटपछि कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘कविज्यूको स्वास्थ्य सुधार भएको छ, उहाँले दुईचार दिन मात्र यहाँ बस्छु भन्नुभएको छ ।’ तर, यसपटक पूर्ण निको भएर मात्र घर फर्किन आफूले सल्लाह दिएको मन्त्री पोखरेलले बताए ।

११ दिन मेदान्तमै उपचार गरेर काठमाडौं फर्किएका राष्ट्रकवि घिमिरे पुन: बिरामी परेपछि जेठ २१ मा नयाँदिल्ली ल्याइएको हो । सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि जेठ ९ मा उनलाई पहिलो पटक मेदान्तमा भर्ना गरिएको थियो । उपचारपछि काठमाडौं फिर्नासाथ निमोनियाँ र रक्तस्रावको समस्या दोहोरिएपछि उनलाई फेरि दिल्ली ल्याइएको हो ।

यसैबीच मन्त्री पोखरेलले मेदान्त अस्पतालका प्रबन्ध निर्देशक डा. नरेश त्रेहानसँग भेटेर अस्पतालमा नेपालीका लागि बेग्लै ‘नेपाल डेस्क’ खोल्न, उपचारका क्रममा आर्थिक संकट बेहोर्नुपर्ने अवस्थामा पुगेका नेपालीलाई विशेष छुट दिन र मेदान्त अस्पतालमा हुने उच्च प्रविधियुक्त उपचार प्रक्रियालाई भिडियो कन्फरेन्समार्फत् नेपालका मेडिकल कलेजसँग जोड्न आग्रह गरे । ‘डा. त्रेहानले प्रस्तावमा सहमति जनाउँदै चाँडो पहल गर्छु भन्नुभएको छ,’ पोखरेलले भने ।

‘गरिबी र पछौटेपन ठूलो शत्रु’
बिहीबारै साउथ एसियन युनिभर्सिटीको तेस्रो दीक्षान्त समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा मन्त्री पोखरेलले दक्षिण एसियाका लागि गरिबी र पछौटेपन सबैभन्दा ठूलो शत्रु भएको बताए । त्यसलाई परास्त गर्न दक्षिण एसियाली मुलुक र जनताबीचको साझेदारीबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।

बुद्ध, नालन्दा तथा तक्षशिलाका कारण शिक्षा र ज्ञानको भूमिका रूपमा इतिहासमै दक्षिण एसियाको नाम रहेको र साउथ एसियन युनिभर्सिटीले त्यसलाई निरन्तरता दिएको उनले बताए । ‘भौतिक सुविधामुखी मात्र नभएर पूरै समाजलाई सही दिशामा डोर्‍याउन तपाईंहरूले हासिल गरेको शिक्षालाई सदुपयोग गर्नुस्’ दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने । समारोहमा मन्त्री पोखरेलले विभिन्न संकायका गरी १७६ जना विद्यार्थीलाई दीक्षान्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रकाशित : जेष्ठ २४, २०७५ २०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT