कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी राजमार्गमा अब मापदण्ड अनुसारका सवारी मात्र

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्गमा मापदण्डका सवारी साधन शुक्रबारबाट चल्न थालेका छन् । सर्वोच्चले अन्तरिम आदेश जारी गरी मापदण्ड विपरितका सवारी साधन नचलाउन भनेको पाँच दिन पछि स्थानीय प्रशासनले कार्यान्वयनमा ल्याएको हो ।

बीपी राजमार्गमा अब मापदण्ड अनुसारका सवारी मात्र

अन्तरिम आदेशको पत्र ढिला आएकाले कार्यान्वयनमा ढिलाइ भएको प्रहरीले जनाएको छ ।

भारवहन क्षमता बढी भएका मालवाहक र तोकिएको सिटसंख्याभन्दा बढी भएका यात्रुवाहक सवारी साधनलाई कमलामाई नगरपालिका ४ को हिरापानीबाट फर्काइएको छ । शुक्रबार चारसयभन्दा बढी मापदण्ड विपरितका सवारी साधनलाई फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले जानकारी दिए । यात्रुवाहक सवारी साधनका यात्रुलाई मापदण्ड अनुसारका साना सवारीमा पठाइएको समेत उनले जानकारी दिए ।

बीपी राजमार्गमा बढी भरवहन भएका सवारी साधनलाइ रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले जेठ २१ गते अन्तरिम आदेश जारी गर्दै बढी भरवहन क्षमताका ठुला सवारीलाइ रोक लगाएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गत जेठ १३ मा वीपी राजमार्गमा ठुला सवारी साधन समेत चल्न पाउने निर्णय गरेका थिए । त्यस विरुद्ध अधिवक्ता कैलाश दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

मापदण्ड अनुसार विभागले मंसिरमा गरेको पत्राचारमा सवारी साधन सहित कुल १० टन–(जीभीडव्लु) भन्दा भारवहन बढी भएकालाइ रोक लगाउने र कमलामाई नगरपालिकाको भिमानमा साँझ ६ बजे रोकी विहान ५ बजे छाड्ने र काभ्रेको काभ्रेभन्ज्याङमा साँझ ५ बजे रोकी विहान ५ बजे छाड्ने उल्लेख थियो ।

यातायात व्यवस्था विभागले सार्वजनिक निर्माण प्रयोजनको प्रकृति हेरि चारहजार दुइसय एमएम ह्लिवेस सम्मका ट्रिपर अस्थायी पटके इजाजत दिने, सार्वजनिक निर्माण प्रयोग हुने हेभी इक्वीमेन्ट, तथा निर्माण सामाग्री ढुवानी, सडक विभागको सिफारिसमा सञ्चालन अनुमती दिने, विवाह, क्रियाकर्म, तथा शैक्षिक भ्रमणमा ठुला यात्रुवाहक सवारी साधनलाइ समय निर्धारण गरि अस्थायी पटके सञ्चालन गर्न दिने पत्राचार यसअघि गरेको थियो ।

यातायात व्यवस्था विभागले वीपी राजमार्गमा बढी भारवहन क्षमता भएका सवारी साधनलाइ चल्न दिने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको आदेश अनुसार सूचना नै प्रकाशन गरेर मापदण्ड तोकी बढी भारवहन क्षमता भएका सवारी साधनलाई चल्न दिने यातायात व्यवस्था विभागले निर्णय गरेकामा कानून विपरित भएको भन्दै रिट परेको थियो । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधन ह्लिवेस चारहजार दुइसय २५ एमएमको चालक सहित ३२ सिट भएको बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चल्न दिने नयाँ निर्णय गरेको थियो ।

यातायात व्यवस्था विभागले मालबाहक सवारी साधनमा समेत ६ टन भारवहन क्षमता वृद्धि गरि चल्न दिने निर्णय गरेको छ । मालवाहक सवारी जिभिडव्लु (कुल वजन) १६२०० किलो ( १६.२ टन) ह्लिवेसचारहजार दुइसय २५ एमएमसम्मका सवारी साधन प्रति एक्सल भार १०.२ टन नबढ्ने गरि राति ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि अनुमती दिएको थियो । मापदण्ड अनुसारका सवारी र तौल मापनका लागि मेशिन पठाउन सम्बन्धित निकायमा लेखि पठाएको समेत प्रहरी सहायक निरिक्षक पाण्डेले जानकारी दिए ।


प्रकाशित : जेष्ठ २५, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?