कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाहिने भन्दा बढी न्यायाधीश : कानुनमन्त्री 

काठमाडौँ — कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले न्यायालयभित्रको अनावश्यक दरबन्दी हटाइने बताएका छन् । लामो समयसम्म प्रधानन्यायाधीश कायममुकायम रहेपनि अदालतका कुनै पनि काम प्रभावित नहुने उनको धारणा थियो ।

चाहिने भन्दा बढी न्यायाधीश : कानुनमन्त्री 

‘चाहिने भन्दा धेरै न्यायाधीश पद रहेछन् । हामी पुनरावलोकन गरिरहेका छौं’, आइतबार सञ्चार केन्द्रमा आयोजित एक कार्यक्रममा तामाङ्गले भने ।


केही पद रिक्त भएको विषय भन्दा पदमा बहाल रहेका न्यायाधीशबाट राम्रो काम भएको छ कि छैन भनी अनुगमन गर्नु महत्वपूर्ण रहेकोले आफ्नो ध्यान त्यसतर्फ हुने उनले बताए ।


मेलमिलापसम्बन्धी काम गर्ने संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रद्वारा आयोजित उक्त कार्यक्रमममा मन्त्री तामाङ्गले संविधानको प्रक्रिया अनुसार प्रधानन्याायाधीश नियुक्तिको काम भइरहेको जानकारी दिए । ‘संसदको नियमावली बनेकाले अब सुनुवाई समिति गठन हुन्छ । त्यस अघि नै संवैधानिक परिषदले प्रधानन्यायाधीशको टुंगो लगाउनेछ’, परिषदका सदस्य समेत रहेका कानुनमन्त्री तामाङले भने ।


‘अदालत शुद्ध हुन सके राज्यका अन्य निकाय पनि शुद्ध हुन्छ । अन्यत्र अनियमितता, भ्रष्टाचार गर्ने व्यक्तिलाई समेत अदालतले कारवाही गर्न सक्छ । आफै शुद्ध भएन भने त्यो काम हुन सक्दैन’, उनले भने ।


समाजमा हुने विवाद, झमेला सकेसम्म मेलमिलापबाटै अन्त हुनुपर्ने, नसकेमा मात्र अदालत पुग्ने मान्यता यस्ता मेलमिलाप केन्द्रको हुने र सरकारले पनि यो कार्यलाई प्राथमिकता दिने मन्त्री तामाङले जानकारी दिए ।


सांसद रामनारायण विडारीले अदालतमा अझै सामन्तीप्रथा रहेकाले त्यसलाई हटाइनुपर्ने बताए । केन्द्रका अध्यक्ष चुपबहादुर थापाले ठूल–ठूला विवाद समेत केन्द्रकै समन्वयमा मेलमिलाप भएको दृष्टान्त राखेका थिए ।


कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौलागाईं, संवैधानिक तथा न्यायिक पत्रकार समाजका अध्यक्ष लिलाधर उपाध्यायसहितले न्यायिक शुद्धताका लागि प्रभावकारी भूमिका निर्वाह गर्न कानुन मन्त्री तामाङलाई सुझाव दिएका थिए ।

प्रकाशित : जेष्ठ २७, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?