कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा रगत अभाव

शंकर आचार्य

पर्सा — वीरगन्जमा मागको तुलनामा रगत अभाव देखिएको छ । गर्मीमा रक्तदान कम हुने र बिरामी पनि बढ्ने भएकाले रगत अभाव हुने गरेको छ । पछिल्ला दिन ‘ओ’ र ‘बी’ पोजिटिभ रगतको माग ह्वात्तै बढेको छ ।

वीरगन्जमा रगत अभाव

माग बढिरहे पनि रक्त सञ्चार केन्द्र वीरगन्जमा रगतको मौज्दात स्वात्तै घटेको छ । शनिबार सिर्सिया खल्वाटोलामा रक्तदान कार्यक्रमबाट ६० पोका रगत संकलन हुँदा पनि आइतबार केन्द्रमा करिब १ सय २५ पोका रगत मात्र मौज्दात छ ।


रेडक्रस सोसाइटी वीरगन्जका सहायक राजन श्रीवास्तवले पर्सादेखि रौतहटसम्मै रक्तदान गर्ने प्रवृत्ति अत्यन्त कम रहेकाले अभाव हुने गरेको बताए । ‘सर्वसाधारणमा अझै पनि रक्तदानसम्बन्धी चेतनाको कमी छ,’ उनले भने, ‘आवश्यकता परेर आउनेहरू पनि सट्टाबापतको रगत दिन हच्किन्छन्, उनीहरू बिरामी आफ्नो छिमेकी वा परको नातेदार रहेको भनी ढाँट्छन् ।


उनका अनुसार रगतको आवश्यकता जतिबेला जोसुकैलाई पर्न सक्ने थाहा पाएर पनि बुझ पचाउने धेरै हुन्छन् । वीरगन्जमा उपक्षेत्रीय स्तरको सरकारी अस्पताल र निजी अस्पताल तथा पोलिक्लिनिक पनि एक दर्जन हाराहारी रहेकाले दैनिक ठूलो परिमाणमा रगत आवश्यक पर्ने गरेको श्रीवास्तवको भनाइ छ ।


भारतदेखिका बिरामी उपचार गराउन आउने भएकाले रगतको अत्यधिक माग हुने गरेको छ । केन्द्रमा दैनिक ५० देखि ६० पोका रगतको माग आउने गरेको उनले बताए । ‘रगत माग्न आउनेलाई खाली हात फर्काउन सकिंदैन, गम्भीर बिरामीको हकमा हामी सिफारिस पनि खोज्दैनौं,’ उनले भने, ‘तर आपूर्ति र वितरणको तालमेल मिलाउन अत्यन्तै गाह्रो भइरहेको छ ।’


डेढ वर्षअघि केन्द्रमा रगत ‘सेपरेटर कम्पोनेन्ट मेसिन’ पनि प्रयोगमा ल्याइएको छ । यसबाट एक पोका रगतलाई तीन पोकासम्म बनाउन सकिन्छ । रक्तदाताले दिने रगतबाट अब रिच प्लाज्मा, प्याक्सेल र फ्रेस फ्रोजन प्लाज्मा गरी रक्ततत्त्वलाई ३ श्रेणीमा विभाजन गर्न सकिन्छ । केन्द्रकी प्राविधिक दिल्लीमाया घिमिरेका अनुुसार प्याक्सेल रातो रगत हो भने पीआरपी र फ्रेस फ्रोजन प्लाज्मा सेतो तत्त्व हो ।


नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार फ्रेस फ्रोजन प्लाज्मा रगत बाक्लो पार्ने तत्त्व कमी भएका बिरामीलाई दिइन्छ । रिच प्लाज्मा भने डेंगु, क्यान्सर रोगी, रगतमा प्लेटलेट कमी भएका, सर्पदंशका बिरामी, कलेजो फेल भएका र मुटु रोगसम्बन्धी औषधि खानेहरूलाई दिइन्छ । प्याक्सेल सामान्य रगतको कमी भएका सबै बिरामीलाई दिइन्छ । पछिल्लो समय सेतो रगत अर्थात् रिच प्लाज्माको माग बढिरहेको सिंहले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?