कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँ चितुवा पाइने देशका मन्त्रीहरु बिस्केकमा 

अब्दुल्लाह मियाँ

काठमाडौं — हिउँ चितुवा पाइने १२ देशका मन्त्रीहरुको उच्चस्तरीय बैठक बिहीबार र शुक्रवार किर्गिस्तानको बिस्केकमा हुँदैछ । ‘जिएसएलइपी’ कार्यसमितिको तेस्रो बैठकमा भाग लिन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयको जैविक विविधता महाशाखा प्रमुख डा.महेश्वर ढकाल मंगलबार किर्गिस्तान प्रस्थान गरेका छन् । 

हिउँ चितुवा पाइने देशका मन्त्रीहरु बिस्केकमा 

सन् २०१७ देखि नेपालले हिउँ चितुवा पाईने देशका सदस्यहरुको अध्यक्षता गरिरहेको छ । २०७३ माघ पहिलो साता काठमाडौंमा भएको कार्यसमितिको दोस्रो बैठकले नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको थियो । बिहीबार र शुक्रबार बिस्केकमा हुने बैठकमा १२ वटै देशका वन, वातावरण र जलवायु परिवर्तनमन्त्री सहभागी हुनेछन् ।


बैठकमा हिउँ चितुवा संरक्षण कार्ययोजना सम्बन्धि २०१७ को घोषणा पत्रको कार्यान्वयनको अवस्था, हिउँ चितुवा अध्ययन–अनुसन्धान र संरक्षणसम्बन्धि नयाँ परियोजना तयारी, हिउँ चितुवाको विश्वव्यापी संख्या र अवैध चोरी सिकारबारे बहस हुने सहसचिव ढकालले बताए ।


विश्वका १२ देशमा हिउँ चितुवाका २३ भू–दृश्यक्षेत्र पहिचान गरिएकामा तीन वटा नेपालमा पर्छन् । कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण, सगरमाथा र लाङटाङ निकुञ्ज तथा गौरीशंकर संरक्षण क्षेत्र समेटिएको पूर्वी ब्लक, मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्र समेटिएको मध्यक्षेत्रको ब्लक र ढोरपाटन सिकार आरक्ष, शे–फोक्सुण्डो, रारा र खप्तड निकुञ्जसहित अपिनाम्पा संरक्षण क्षेत्र समेटिएको पश्चिम ब्लक गरी तीन ब्लकमा हिउँ चितुवा संरक्षणको काम भइरहेको हो ।


यी मध्ये पूर्वी ब्लकको कञ्चनजंघाका हिउँ चितुवाको घाँटीमा रेडियो स्याटेलाईट कलर झुण्ड्याएर तिनले विचरण गर्ने क्षेत्र र तिनको आहारलगायतको अवस्थाबारे अध्ययन भइरहेको छ । पुरानो आँकडा अनुसार नेपालमा ३ देखि ५ सयको हाराहारीमा रहेका हिउँ चितुवा विश्वभर ३ देखि करिब ६ हजारको संख्यामा छन् ।


१२ देशमा हिउँ चितुवा विचरण गर्ने क्षेत्र (बासस्थान) १७ लाख ७६ हजार वर्गकिलोमिटर छ । नेपालमा संरक्षित सूचीमा रहेको यो सुन्दर र आकर्षक वन्यजन्तु साइटिसको अनुसूची १ मा छ ।

डेढ वर्षअघि नेपालमा भएको ‘जिएसएलइपी’ को दोस्रो बैठकले हिमाली क्षेत्रको जैविक विविधता र हिउँ चितुवा अनुसन्धानमा सबै मुलुकले युवा पुस्तालाई सक्रिय बनाउने घोषणा गरेको थियो ।


यस्तै, मानव र हिउँ चितुवाबीचको बढ्दो द्वन्द्व न्यून गर्न स्थानीय जनताको जीवनस्तर माथि उठाउने, जिपिकोपार्जन सुधार गर्ने र उनीहरुलाई आयआर्जनका कार्यक्रमसमेत सञ्चालन गर्न हिउँ चितुवा पाइने मुलुक सहमत भएका छन् ।

जलवायु परिवर्तनका कारण बासस्थान खल्बलिएपछि तल्लो क्षेत्रका मानव वस्तीमा आएर हिउँ चितुवाले याक, चौरी मार्ने गरेको छ । त्यसबाट स्थानीय बासिन्दा हिउँ चितुवादेखि रुष्ट बन्ने गरेका छन् । हिउँ चितुवाले ती बाहेक झारल, नायन, फ्याउ मुसा, हिमाली बाख्रा र चरासमेत मारेर खान्छ ।


हिउँ चितुवा अनुसन्धानका लागि नयाा प्रविधिको विकास गर्ने, हिउँचितुवा संरक्षणका लागि सहयोग आदानप्रदान, संरक्षणका लागि आर्थिक स्रोतको खोज र पहिचान लगायतका मुद्दामा पनि साझेदारी गर्ने निर्णय गरेको छ ।

यस्तै, हिउँ चितुवाको अन्तर्राष्टिय व्यापार नियन्त्रणमा अपनाउनुपर्ने साझा रणनीति, तालिमप्राप्त जनशक्ति उत्पादन, वैज्ञानिक अनुगमन पद्दतीमा पनि सँगसँगै काम गर्ने घोषणा भएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?