कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चारमन्त्रीको दबाबमा टेलिभिजन कार्यक्रम बन्द !

मन्त्री बास्कोटाले अन्तर्वार्ता दिँदा झुट् बोलेको कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यक्रम बन्द गरिएको सञ्चालक थापाको दाबी

काठमाडौँ — १२ वर्षदेखि निरन्तर रुपमा चल्दै आएको नेपाल टेलिभिजनको 'सिधा प्रश्न' कार्यक्रम टेलिभिजन व्यवस्थापनले बन्द गरेको छ ।

सञ्चारमन्त्रीको दबाबमा टेलिभिजन कार्यक्रम बन्द !

शनिबार बेलुकी ८ बजेर ५० मिनेटमा प्रसारण हुँदै आएको उक्त कार्यक्रम सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बन्द गर्न दबाब दिएपछि बन्द भएको कार्यक्रम निर्माता तथा प्रस्तोता राजु थापाले आरोप लगाएका छन् ।


केही दिनअघि सोही कार्यक्रममा मन्त्री बास्कोटाले अन्तर्वार्ता दिँदा झुट् बोलेको कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यक्रम बन्द गरिएको थापाको दाबी छ । अन्तर्वार्तामा 'तपाईले श्रीमतीको माइतीबाट आएको १७ तोला सुन र ६० तोला चाँदी भनेर सम्पत्ति विवरणमा उल्लेख गर्नु भएको छ त ?' भन्दा सञ्चारमन्त्री बाँस्कोटाले उल्टै प्रश्नकर्ता थापाले झूट बोलेको भनेर दाबी गरेका थिए । उत्तिनैखेर थापाले सुन र चाँदी श्रीमतीको माइतीले दिएको भनेर सञ्चारमन्त्रीले नै बुझाएको सम्पत्ति विवरण पढेर सुनाएका थिए । त्यसपछि मन्त्रीले फेरि श्रीमतीलाई माइतीले दिएको भन्दै प्रस्ट्याउने कोसिस गरेका थिए ।


थापाले भने, 'मेरो कार्यक्रम किन बन्द गरियो भनेर टेलिभिजन व्यवस्थापनले लिखित केही भनेको छैन । तर, टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले तपाईको कार्यक्रम बन्द हुन्छ भनेर एक्कासी भन्नुभयो ।'


रोकाको भनाइ उद्धृत गर्दै थापाले भने, 'सञ्चारमन्त्री तपाईंको अस्तिको कार्यक्रमदेखि फायर हुनुहुन्छ । हामीले तपाईको लागि केही गर्न सकेनौं । अब कार्यक्रम उत्पादन नगर्नुहोला ।'


तर, महाप्रबन्धक रोकाले भने विश्वकप फुटबल लाइभ गर्नु परेकोले कार्यक्रम बन्द गरिएको प्रतिक्रिया दिएका छन् । उनले भने, 'उहाँको कार्यक्रमको करार पनि सकिन लागेको थियो । यही बेला विश्वकप फुटबलको लाइभ पनि हुँदै छ । त्यसैले यो हप्तादेखि कार्यक्रम बन्द गरिएको हो ।'


थापा भने करार सकिनँ लागेपनि नेपाल टेलिभिजनले एक महिनाअघि नै जानकारी दिने र रिन्यु नहुन्जेलसम्म कार्यक्रम उत्पादन गर्न दिइराख्ने प्रावधान रहेको बताए । उनले भने, 'करार सकिएपनि अर्को वर्षको करार नहुन्जेलसम्म टेलिभिजनमा कार्यक्रम उत्पादन गरेर प्रसारण गर्ने चलन छ । त्यसैले मैले अझै भदौसम्म कार्यक्रम गर्न पाउँछु ।'


उनले मन्त्री बास्कोटाले कार्यक्रम बन्द गर्न दिएको भन्ने समाचारको खण्डन गरे ।


उनले भने, 'आज बिहानदेखि सोसल मिडियामा कार्यक्रम बन्द गर्न दबाब दिएको भनेर भाइरल भएपछि उल्टै मन्त्रीज्युले चासो देखाउनु भएको थियो ।'


उक्त कार्यक्रम नेपाल टेलिभिजनको समाचार शाखाले उत्पादन गर्दै आएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?