कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सशस्त्रकाे गाडीमा काठ तस्करी प्रकरण : डिएसपी भण्डारीसहित चार निलम्बित

धनकुटा — सशस्त्र प्रहरी बल अरुण गुल्म संखुवासभा चैनपुरको सवारी साधनमा अवैध काठ तस्करी गरिएको घटनाका मुख्य आरोपित डीएसपी रामप्रसाद भण्डारी र तीन प्रहरी जवान निलम्बनमा परेका छन् ।

सशस्त्रकाे गाडीमा काठ तस्करी प्रकरण : डिएसपी भण्डारीसहित चार निलम्बित

गत जेठ २१ गते राती चैनपुरस्थित अरुण गुल्मको बा१झ १६६९ नम्बरको ट्रकमा करिब सात लाख मुल्य पर्ने एक सय क्यूबिक फिट बढी सखुवाका काठ धनकुटा हुँदै विराटनगरतर्फ तस्करी गरिएको थियो ।

मुख्य आरोपित डीएसपी खनालसहित सशस्त्रका जवान विनोद कट्टेल, मिलनकुमार राई र दिपेन्द्रकुमार कर्माकार निलम्बनमा परेको स्रोतले जनाएको छ । घटनाको अनुसन्धानका लागि सशस्त्रको पूर्व क्षेत्रीय बराह बाहिनी पकलीका प्रहरी उपरीक्षक गुणाखर खनालको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । तर पुन: सशस्त्रको हेडक्वाटरले डीआइजी सुरजकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेपछि प्रतिवेदन मुख्यालयमा पठाएको छ । खनाल नेतृत्वको छानबिन समितिले संगठनको नीति विपरित मर्यादा नाघेर कुनै निकायमा जानकारी समेत नगराई बदनियतपूर्ण कार्य गरेको निष्कर्ष निकालेको जनाइएको छ ।

छानबिन समितिले घटनाबारे स्थलगत वस्तुस्थिति अध्ययन गर्दै दोषी माथि विभागीय कारबाही गरिने पनि स्रोतले उल्लेख गरेको छ । अन्य जिल्लामा निकासी प्रतिबन्धित सखुवाको काठ भेटिएपछि सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मको मुलघाटस्थित चेक पोष्टले नियन्त्रणमा लिएको थियो । काठसहित आफ्नै कार्यालयको सवारी साधन सशस्त्र प्रहरी मुलघाटका इन्चार्ज इन्सपेक्टर दुर्गा भट्टले नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएको चार दिनपछि ती काठ जिल्ला वन कार्यालय धनकुटालाई बुझाइएको छ । संखुवासभादेखिका सुरक्षा चेक पोष्ट पार गर्दै धनकुटासम्म पुग्दा तस्करीमा प्रयोग गरिएको सवारी साधन कसरी उम्कियो भन्ने रहस्य भने अझै खुल्न सकेको छैन । सशस्त्र मुख्यालयले प्रतिवेदन माथि अध्ययन गरिरहेकोले विभागीय कारबाही नहुन्जेल आरोपितहरु निलम्बनमा रहेको जनाएको छ ।

प्रकाशित : असार १, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?