कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयरले डोजर चलाउँदा पत्रकारसहित ५ घाइते

लालप्रसाद शर्मा

पोखरा — मानवीय अतिक्रमणमा परेको फिर्केखोला किनारमा पैदलमार्ग बनाउने योजनाको शुभारम्भ गर्ने क्रममा डोजरको बकेट घुम्दा ५ जना खोलामा खसेर घाइते भएका छन् । पोखरा लेखनाथ महानगर प्रमुख मानबहादुर जिसी डोजरभित्र पस्नासाथ घुमेको बकेटले तस्बिर लिन पुगेका सञ्चारकर्मी र हेर्न गएका सर्वसाधारणलाई घचेटेको थियो । 

मेयरले डोजर चलाउँदा पत्रकारसहित ५ घाइते

बकेटले ठेल्दा रेलिङ भाँचिएपछि रेलिङसहित पत्रकारहरु रन्जन अधिकारी क्षेत्री र सन्देश श्रेष्ठ, स्थानीय गौरी पौडेललगायत ५ जना पनि २० मिटर तल खोलामा खसेका थिए । पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । अन्य उपचारपछि घर फर्किएका छन् । डोजरको बकेट विस्तारै घुमेकाले ठूलो क्षति हुनबाट जोगिएको हो । डोजर चलेको हेर्न थुप्रै सर्वसाधारण झुम्मिएका थिए । प्रमुख अतिथि जिसी चढेर सिटमा बसिनसक्दै डोजरको लिभर एक्कासि दब्दा बकेट घुमेको थियो । बकेट घुमेर रेलिङ भाँचेर खस्ने बेलामा सर्वसाधारण चिच्चाए पनि चालकले कुनै मेसो नपाएको प्रष्ट देखिन्थ्यो ।


मानवीय अतिक्रमणमा परेको फिर्केखोला संरक्षण अभियान अन्तर्गत पहिलो चरणमा महानगरको ५ नम्बर वडामा पर्ने खोलाको किनारमा पैदलमार्गको शुक्रबार शुभारम्भ गरिएको थियो ।


अँधेरीकुनादेखि गाईघाट (फेवातालसँग जोडिएको) सम्मको साढे ६ किलोमिटर लामो खोलाको प्रायः सबै क्षेत्र अतिक्रमित छ । खोला सीमा (राईट अफ वे) नापजाँच गर्ने क्रममा ५ मिटरभित्रै २ सय ११ वटा संरचना बनेका महानगरले जनाएको छ । तीमध्ये वडा ५ मामात्रै ५० संरचना छन् ।


पहिलो चरणमा सिद्धार्थ चोकदेखि सोपाल समाज घरसम्म ३ सय ६० मिटरमा पैदल मार्ग बनाउन लागिएको हो । यसका लागि १ करोड ७२ लाख रुपैयाँ लाग्ने अनुमान गर्दै महानगरले रकम छुट्याइएको छ । किनारबाट ५ मिटरमा पैदल मार्ग बनाइने र त्यसको सपोर्टका लागि शेर, ग्याविन वाल लगाइनेछ । पछि सव वे (सवारी चलाउन सकिने) को रुपमा प्रयोग पनि गर्न सकिने प्राविधिकले जनाएका छन् । ‘फिर्के प्राकृतिक सम्पदा भएकाले यसको संरक्षणमा लागिएको हो,’ महानगरको वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले भने, ‘पर्यटकीय शहरको सुन्दरता भित्री क्षेत्रमा पनि बिस्तार गर्न चाहान्छौं ।’ अहिले संरक्षण गरी सुन्दरता नजोगाए भावी पुस्ताले धिक्कार्ने उनले बताए ।


अहिले ट्याक खोल्दै जाने र विस्तारै खोलाको दुवैतर्फ ‘क्लियर’ गराउने योजनामा महानगर छ । ‘५ मिटरभित्र परेका संरचना हटाउने सहमति अनुसार काम थालिएको हो,’ महानगरका इन्जिनियर महेन्द्र गोदारले भने, ‘खोला संरक्षणका लागि गुरुयोजना तयार हुँदैछ । सोही योजना अन्तर्गतको यो एउटा सानो प्याकेज शुभारम्भ गरी सन्देश दिन खोजिएको हो ।’ दुई वर्षभित्र खोलाको दुवै किनारमा पैदलमार्ग बनाइसक्ने उनले सुनाए । उनकै संयोजकत्वमा खोलाको नापजाँच भएको थियो । महानगरको विवरण अनुसार ५ मिटरभित्र ८६ कच्ची टहरा, ७२ आरसिसी पक्की भवन, घरको कम्पाउन्ड र टप ३०, समाज घर र अन्य संघसंस्था ११, सरकारी भवन ७, विद्यालय ३ र २ वटा मठमन्दिर मापदण्डविपरित बनेका छन् ।


संरचना खोलामाथि र खोलामै जग राखेर बनाइएको छ । अतिक्रमणका कारण खोला साँघुरिएको छ भने ढल मिसाउँदा फोहोर र दुर्गन्धित बनेको छ । ढल सिधै फेवातालमा मिसिन्छ । खोलाको निकासै बन्द भएर वर्षायाममा भौतिक तथा मानवीय क्षती व्यहोर्नुपर्ने अवस्था छ ।


२०६० मा खोलाको जग्गा छाडेर ६ मिटर मापदण्ड तोकिएको थियो । २०७२ को भूकम्पपछि शहरी बिकास मन्त्रालयले १० मिटर बनाएको छ । न्युनतम ८ देखि ४० मिटरसम्मको चौडाई रहेको खोला किनारको जग्गा सार्वजनिक पनि हो । तर खोलाको चौडाई अहिले कतैकतै एक मिटर पनि छैन ।


महानगर प्रमुख मानबहादुर जिसीले पैदलमार्गको शुभारम्म्भ गर्दै खोला सबै सफाई गरेर छाड्ने जनाए । उनले पैदलमार्गपछि शहरको शोभा बढ्ने भन्दै कसैलाई पनि नोक्सान पुर्‍याउने चाहना नरहेको बताए ।

प्रकाशित : असार १, २०७५ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?