कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याउ फर्काउँदै हेलम्बु

अनिश तिवारी

हेलम्बु (सिन्धुपाल्चोक) — हेलम्बुको निगालेगाउँका छिरिङ लामा ह्योल्मो दुई दशकपछि स्याउ खेतीमा फर्किएका छन् । भारतको हिमाचलबाट ५ सय बिरुवा ल्याएर हेलम्बुमा स्याउ फर्काउन उनी कस्सिएका हुन् ।अज्ञात रोगले स्याउ सखाप भएपछि खेती नै छाडेका किसान पुन: स्याउ खेतीमा जुटेका छन् ।

स्याउ फर्काउँदै हेलम्बु

अज्ञात रोगले स्याउ सखाप भएपछि खेती नै छाडेका किसान पुन: स्याउ खेतीमा जुटेका छन् । ‘गाउँभरको स्याउ कीरा लागेर स्वाहा भयो, त्यसपछि यहाँका कृषक सबै डराएर स्याउ खेती छाडे,’ छिरिङले फुलिरहेको स्याउको बिरुवा देखाएर हर्ष पोखे, ‘त्यसबेलाको नाम फर्काउन फेरि एक भएर लागेका छौं ।’ स्याउले चिनिएको पर्यटकीय हेलम्बु गाउँमा स्याउको नामोनिसान हराएपछि फेरि खेती गर्न र चिनाउन सबै कृषक एक भएर लागिरहेको उनले सुनाए ।

‘कहिल्यै नहराउने गरी स्याउलाई निरन्तरता दिन लागिरहेका छौं,’ उनले भने । ह्योल्मोको निगालेको झन्डै आधा जमिनमा हजारभन्दा बढी स्याउको बिरुवा रोपिएको छ । शेर्माथाना कर्मतोप्के लामाले पर्यटकलाई आकर्षित गर्ने मनोरम स्थलमा स्याउको वातावरणअनुसार रोपण गरिएको बताए । ‘पहिलेको अवस्थामा ल्याउन हेलम्बुमा स्याउको बीजारोपण गरेका छौं,’ लामाले भने । प्राविधिक रूपमा माटो परीक्षण गरी समय–समयमा सल्लाह लिएर स्याउको बिरुवा हेरचाह गर्ने उनको योजना छ । ६० परिवारले हजारौं बिरुवा रोपेर स्याउ खेती बढाउँदै लगिरहेका छन् ।

‘हेलम्बुको किउल, शेर्माथान, मेलम्चीघ्याङ मात्रै होइन, बरुवा र बासखर्कजस्ता हिमाली गाउँमा स्याउ खेतीलाई तीव्र रूपमा अगाडि बढाइएको छ,’ उनले भने । छिरिङ र कर्मताप्केजस्ता हेलम्बु गाउँपालिकाभरका कृषक स्याउको पहिचान फर्काउन लागिरहेका छन् ।

‘स्याउको रूखमा फूल खेल्न थालेपछि यहाँका कृषक उत्साहित भएर एकैसाथ खटिरहेका छन्,’ स्थानीय जिमी लामाले भने । कृषकको लक्ष्य हेलम्बुलाई स्याउको पकेट क्षेत्र बनाउनु मात्रै नभई पहिचान पुन:स्थापित गर्नु हो । ‘गाउँमा कृषि प्राविधिक नभएकाले रोग लागेर फेरि सखाप होला भन्ने डर त अझै छ,’ लामाले भने ।

नेपाल मात्रै नभई भारत र तेस्रो मुलुकमा समेत चर्चा कमाएको हेलम्बुको स्याउको पुरानो रूख अहिले अस्तित्व गुमाएर जिङरिङ्ग भएको छ । पहिलेजस्तै फेरि हेलम्बुका बस्तीमा लटरम्मै स्याउ फलाउन सबै गाउँमा स्याउका बिरुवा रोपिएको उनले बताए ।

व्यक्तिगत र सामूहिक प्रयासमा हेलम्बुवासीले स्याउ खेती लगाएर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अर्काे लक्ष्य छ । २०४१ सालमा हेलम्बु आई शिक्षण पेसामा रहेका पूर्ण गौतम पहिले पनि यहाँका बोटबाट आफैं स्याउ टिपेर खाएको सम्झन्छन् । ‘स्याउ फलेकै कारण दुई/तीन दिन पैदल गरेर भए पनि अन्य जिल्लाबाट यहाँ घुम्न आउनेको लर्को हुन्थ्यो,’ उनले भने । बजार नभएकाले पहिले उत्पादन गरिएको स्याउ गाईबस्तुलाई खुवाउने गरिएको तर अहिले राम्रो बजार पाइने भएकाले सबै हौसिरहेको जनाए ।

गाउँँ पूर्वाधारमा बलियो बनिसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पा सुनाउँछन् । ‘यस्ता नमुना कामलाई पूरा सहयोग गर्नेछौं, चाहिँदो प्राविधिक खटाएर माटो परीक्षण र सल्लाह दिने व्यवस्था गरिनेछ,’ शेर्पाले भने ।

प्रकाशित : असार ३, २०७५ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?