कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकाली बाढीका ५ वर्ष : अझै हटेन त्रास

मनोज बडू

दार्चुला — महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगामा वितण्डा मच्चाएको ५ वर्ष बिते पनि तटीय क्षेत्रका बासिन्दामा त्रास कायमै छ । यसपटक पनि वर्षा सुरु भइसकेकाले उनीहरू त्रासैत्रासमा रात बिताउन बाध्य छन् ।

महाकाली बाढीका ५ वर्ष : अझै हटेन त्रास

२०७० असार २ गते आएको बाढीले १ सय ५६ घरमा पूर्णरूपमा क्षति पुर्‍याएको थियो । ९ सय ५८ रोपनीमा निर्मित १३ वटा सरकारी कार्यालयका ३२ वटा भवन बगाएको थियो । ३ सय ५३ परिवारको सरसामान नदीमा बगेको थियो । ३२ करोड ५६ लाखको क्षति भएको थियो । नदी किनारमा तटबन्ध निर्माणको काम सुरु भए पनि अझैसम्म पूरा नहुँदा स्थानीय त्रासमा छन् । सरकारले बाढीपीडितको पुन:स्थापनाको पहलसमेत गरेको छैन । कतिपय अहिले पनि आफन्तको घरमा आश्रय लिएर बस्न बाध्य छन् । केही परिवार सदरमुकाम छाडेर गाउँ सरेका छन् । सरकारबाट हालसम्म कुनै क्षतिपूर्ति तथा राहत रकम नपाएको गुनासो गरेका छन् ।

बाढीको वितण्डाले सदरमुकाम खलंगाको रूप नै फेरिएको छ । रिङनेताल र गल्फै क्षेत्रका बासिन्दाको पुन:स्थापना हुन सकेको छैन । ५ वर्ष बितिसक्दा पनि पुनर्निर्माण नहुँदा सदरमुकाम खलंगाको बजार क्षेत्रबाहेकका बस्तीमा बाढीको जोखिम उस्तै छ । वर्षा सुरु हुनासाथ तटीय क्षेत्रका स्थानीय नदीतिर हेरेरै रात कटाउन बाध्य छन् । ‘फेरि बाढी आएर घरबारविहीन भइन्छ कि भन्ने चिन्ता लाग्छ,’ मालिकार्जुन–६ भोल्यानीका अर्जुनसिंह महरले भने । वर्षायाममा नदीको सतह बढ्नेबित्तिकै घर छाड्ने तयारीमा बस्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘बाढी आएको वर्ष जमिन धस्सिएर गाउँमा सबैका घर चर्के,’ उनले भने, ‘नदीले तटीय क्षेत्र कटान गरिरहेको छ ।’ अहिलेसम्म सरकारले पुनर्निर्माण र पुन:स्थापनाको व्यवस्था नगरेको उनको गुनासो छ ।

‘कमाउ जमिन आधाभन्दा बढी पहिरोमा परिसक्यो,’ सोही ठाउँका वीरराम लुहारले भने, ‘बाढीले पूरै जमिन नलगेकाले पीडितको सूचीमा नाम अटाउन सकेन । राहत पाइने कुनै ठाउँ नभएपछि अहिले आरा चलाएर घरधन्दा चलाइरहेको छु ।’

व्यास–५ धौलाकोटदेखि लालीको सेरा गाउँसम्मको क्षेत्र बाढीसँगै पहिरोको उच्च जोखिममा छ । कतिपय गाउँमा नदी किनारसम्म बस्ती बसेकाले वर्षातमा सधैं जोखिम रहने स्थानीयले बताए । तटीय क्षेत्रका खलंगाबाहेक व्यासको तिग्रम, दुहुको खेतीगाउँ, महाकाली नगरपालिकाको श्रीबगड, कलोन, किम्तडी, धाप, सकार, दत्तु, बेत र मालिकार्जुन गाउँपालिकाको भर्तोला, खेतार, जौलजिवी, उकु, भोल्यानी, बाकु र लेकम गाउँपालिकाको बाकु, सेरालगायतका बस्ती जोखिममा छन् । यीमध्ये पनि श्रीबगड, सकार, जौलजिवी र भौल्यानी लगायतका बस्ती भने बाढीको उच्च जोखिममा रहेको जिल्ला प्रशासनले जनाएको छ । दर्जनौंमध्ये केही बस्तीमा मात्र तारजालीसहितको अस्थायी तटबन्ध निर्माण भएको छ ।

स्थानीय सुरेन्द्रबहादुर बमले महाकाली नगरपालिका–१ श्रीबगडका दुईवटै बस्ती बाढीको उच्च जोखिम रहेकाले पक्की तटबन्ध निर्माणको माग गरे पनि कसैले चासो नदिएको बताए । ‘नदीमा पानीको सतह बढ्नेबित्तिकै त्यसको बहावले नेपालतिर हान्छ,’ उनले भने, ‘धौलीगंगा जलविद्युत् परियोजनाको केन्द्रीय कार्यालय रहेको उक्त ठाउँमा भारतले पक्की तटबन्ध बनाएकाले पनि हाम्रोतिर जोखिम बढाएको हो ।’ बाढीको त्रासैत्रासमा पाँच वर्ष बितेको महाकाली नगरपालिका–४ बंगाबगडका पीडित हरकसिंह बडालले बताए । ‘बंगाबगडमा भारतको खोतिला पहिरोले थप जोखिम निम्त्याउने सम्भावना बढेको छ,’ उनले भने । उक्त क्षेत्रमा पहिरो खसेको दुई वर्षभन्दा बढी भइसक्यो । गत फागुनमा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी र उनका भारतीय समकक्षीको उपस्थितिमा सिँचाइ विभागका इन्जिनियरले पहिरो क्षेत्रको स्थलगत भ्रमण गरेको थियो ।

प्राविधिक रिपोर्टका आधारमा पहिरो तत्काल हटाउने जनाए पनि अहिलेसम्म खासै प्रगति हुन नसकेको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलचन्द्र देवकोटाले बताए । शनिबार भारतको पिथौरागढ जिल्लाका सिँचाइ विभाग प्रमुख आउने जानकारी भए पनि नआएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । ‘सिँचाइ विभागका प्रतिनिधि आएको भए शनिबार नै दुवै देशका प्राविधिक टोलीले स्थलगत भ्रमण गरी उक्त पहिरो हटाउनेबारे ठोस निर्णय गरिन्थ्यो,’ उनले भने ।

भीषण बाढीले विस्थापित भएका खलंगाका बासिन्दा पुरानै थातथलोमा फर्किन सकेका छैनन् । सरकारले पुन:स्थापनाको ठोस कार्यक्रम नल्याउँदा उनीहरू विस्थापित अवस्थामै छन् । गाउँमा घरखेत हुने पीडित भने उतै फर्केका छन् । गाउँको घरखेत बेचेर सदरमुकाम आएकाहरूको बिजोग छ । आफन्तकै शरणमा दिन बिताइरहेका छन् ।

महाकाली नदी नियन्त्रण आयोजनाले जिल्ला सदरमुकाम खलंगाको बजार क्षेत्र र महाकाली तटीय क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको छ । ५ वर्षे गुरुयोजना बनाएर निर्माण सुरु गरिए पनि समयमै पूरा नहुँदा स्थानीय त्रासमै बस्न बाध्य भएको बताउँछन् ।

प्रकाशित : असार ३, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?