कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरुङमा पुरिएका ४ को ३९ घण्टा पछि जीवितै उद्धार

दीपेन्द्र शाक्य

संखुवासभा — अरुण तेस्रोको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको आइतबार जीवितै उद्धार गरिएको छ ।मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका उनीहरुको ३९ घण्टा पछि जीवितै उद्धार गरिएको हो ।

सुरुङमा पुरिएका ४ को ३९ घण्टा पछि जीवितै उद्धार

सुरुङको प्रवेशद्वारामा पहिरो झरेपछि उनीहरु शुक्रबार राति पौने ९ बजेबाट सम्पर्कविहीन थिए । सुरुङमा गरिएको व्लास्टिङ सफा गर्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । सुरुङभित्र २ नेपाली र २ भारतीय कामदार पुरिएका थिए ।


कालिकोट सिउना गाउँपालिका-४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका-१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोरको आइतबार बिहान ११ बजे सकुशल उद्धार गरिएको हो । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर ईलेक्टोनिक मिस्त्री थिए । पहिरो करिब ६० मिटर माथिबाट खसेको थियो । पहिरो पन्छाउने क्रममा सुरुङको मुखमा भएको ठूलो ढुंगा विस्फोट गराएपछि पुरिएकाहरुको आवाज बाहिर सुनिएको थियो । त्यसपछि डोरीको सहायताले उनीहरुलाई बाहिर निकालिएको थियो ।


उनीहरुको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । पुरिएकाहरु जीवितै हुने आशंका पछि घटनास्थलमा चिकित्सक समेतको टोली तयारी अवस्थामा राखिएको थियो । शनिबार बिहानबाट उनीहरुको उद्धार भए पनि भीरबाट धेरै माटो र ढुंगासहितको पहिरो झरेकाले कठिनाई भएको थियो । घटनास्थलमा रौताहा कम्पनी समेतका ६ वटा स्काईभेटर र डोजर प्रयोग गरिएको थियो । उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दा खटिएको डीएसपी श्यामकुमार सारुमगरले बताए ।


घटनास्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा पर्छ ।


प्रकाशित : असार ३, २०७५ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?