कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीर अस्पतालमा फाइव्रोस्क्यानबाट कलेजो परीक्षण सुरु

अतुल मिश्र

काठमाडौँ — वीर अस्पतालको लिभर युनिटमा कलेजोको लचकता जाच्ने ‘फाइब्रोस्क्यान’, मेसिनबाट सोमबारदेखि सेवा दिन थालिएको छ ।

वीर अस्पतालमा फाइव्रोस्क्यानबाट कलेजो परीक्षण सुरु

यो सँगै अब परीक्षणको लागि कलेजो को टुक्रा काटेर बायोप्सी गर्नुपर्ने झन्झटिलो र जोखिमयुक्त प्रकृयाको समेत अन्त्य भएको छ ।


अस्पतालका अनुसार यो मुलुकमा सरकारी र मेडिकल कलेजहरुमा सुरु गरिएको यस्तो प्रकारको पहिलो परीक्षण मेसिन हो ।


हाल निजी क्षेत्रमा सञ्चालनमा रहेको फाइव्रोस्क्यान पुरानो मोडेलको ‘म्यानुअल’ भए पनि वीरको मेसिन भने पुर्ण ‘कम्प्युटराइज्ड’ हो ।


वीरमा भएको मेसिनको मूल्य करिब २ करोड ५० लाख रुपैयाँ पर्छ ।


निजी क्षेत्रमा करिब सात हजार पाँच सय रुपैयाँभन्दा बढी परीक्षण शुल्क रहेपनि वीरले भने तीन हजार रुपैयाँ सेवा शुल्क निर्धारण गरेको छ ।


फाइव्रोस्क्यान मेसिनद्वारा कलेजो कति कडा, लचकदार छ भन्ने थाहा पाइन्छ । एउटा स्वस्थ कलेजो मोलायम हुनुको साथै लचिलो समेत हुन्छ ।


‘यो स्क्यान मेसिनले कलेजोमा कति कडापन आएको छ र यसको काम गर्ने क्षमतामा कति ह्रास आएको मापन गरिन्छ’, प्रा.डा. अनिलकुमार मिश्र भन्छन्, ‘यति मात्र नभएर कलेजोमा वोसोको मात्रावारे समेत परीक्षण गरिन्छ ।’


धेरै कडापन आएको अवस्थामा कलेजो काम लायक छ वा प्रत्यारोपण नै अन्तिम विकल्प रहेको वारेसमेत यो मेसिनले देखाएको परिणामलाई अध्ययन गरि निर्णय गरिन्छ ।


यो मेसिन नभएको अवस्थामा भने कलेजो वारे जान्न धेरै कठिन प्रकृया अपनाउनु पथ्र्यो ।


यसअघि अस्पतालमा विरामी भर्ना गरेर वायोप्सी प्रकृया अन्तर्गत कलेजोको टुक्रा काटेर परिक्षण गरिन्थ्यो ।


सानो शल्यक्रिया जस्तै रहेको यस्तो वायोप्सी गर्दा एक सय जना मध्ये एक जनाको मृत्यु हुने सम्भावना रहने गरेको औल्याउदै प्रा.डा. मिश्र भन्छन्, 'यति मात्र नभइ विशेष परिस्थितिमा रक्तश्राव बढ्दा मृत्यु हुने वा रगत चढाउनुपर्ने अवस्थाको जोखिम समेत रहन्थ्यो ।’


वायोप्सीमा रिपोर्ट आउन करिव ७ दिन पर्खनु परे पनि फाइव्रोस्क्यान परीक्षणको १० मिनेटमै कलेजोको अवस्था बारे रिपोर्ट आउँछ ।


फाइव्रोसक्यानले बिरामीको कलेजो भएको भागमा एक प्रकारको जेल लगाएर अल्ट्रासाउन्ड जस्तै करिब पाँच मिनेट परीक्षण गरेर कलेजोबारे थाहा पाइन्छ ।


‘फाइव्रोस्क्यान अल्ट्रासाउन्ड जस्तै हो, पेट माथिबाट गरिने कुनै पनि प्रकारको साइड इफेक्ट नभएको शतप्रतिसत सुरक्षित परीक्षणह हो’, डा. मिश्रका अनुसार पहिले वायोप्सी गराउनु पर्ने वाध्यताले केहि विरामीहरु परीक्षण गराउन हच्केर रोगसमेत बढाउने गरेपनि अब जो सुकै सहजै यो प्रकृयामा जान सक्छन् ।


वीरको कलेजो युनिटमा आउने कुल विरामीको करिव ८० प्रतिशतलाई फाइव्रोस्क्यान परीक्षणको आवश्यकता देखिने गरिएकोसमेत उनी औल्याउछन् ।


यो मेसिन कलेजो रोग सम्वन्धि अनुसन्धानमा समेत उपयोगी हुने डा.मिश्र बताउछन् ।


हाल बुधबार दिउँसो १ बजे देखि साँझ ५ बजे र शुक्रवार विहान ९ वजे देखि दिउसो ५ बजेसम्म फाइव्रोसक्यान परीक्षण गरिए पनि उपभोत्ताको माग अनुसार सेवा बढाउदै सातामा ६ दिनसम्म सञ्चालन गर्ने लक्ष्य युनिटको छ ।

प्रकाशित : असार ४, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?