कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको चीन भ्रमण- नयाँदिल्ली भन्छ : नो कमेन्ट

टिप्पणी
अधिकारीहरू यसपटक प्रधानमन्त्रीस्तरको भ्रमणका बारेमा प्रतिक्रियाविहीन देखिन्छन् 

नयाँदिल्ली — प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका सम्बन्धमा दिल्लीमा ‘रहस्यमय मौनता’ देखिएको छ । विगतमा ‘नेपाल चीनतिर ढल्कियो, केपी ओली र चीनबीच विशेष सम्बन्ध’ जस्ता शीर्षकलाई प्राथमिकतामा राख्ने भारतीय प्रमुख सञ्चार माध्यमले समेत ओलीको चीन भ्रमणका सम्बन्धमा औपचारिकता मात्र पूरा गरेको देखिन्छ ।

प्रधानमन्त्रीको चीन भ्रमण- नयाँदिल्ली भन्छ : नो कमेन्ट

विगतमा मन्त्रीस्तरको भ्रमणमा समेत विशेष चासो र टिप्पणी गर्ने गरेका अधिकारीहरू यसपटक प्रधानमन्त्रीस्तरको भ्रमणका बारेमा समेत प्रतिक्रियाविहीन देखिन्छन् । अनौपचारिक कुराकानीमा समेत उनीहरू यो नेपाल र चीनबीचको मामिला हो भन्दै पन्छिने गरेका छन् ।

ओलीको भ्रमणलाई भारतले कसरी हेरिरहेको छ भन्ने कान्तिपुरको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले कुनै पनि प्रतिक्रिया दिन चाहेनन् । उनले भने, ‘नो कमेन्ट ।’ गत साता विदेश मन्त्रालयका एक अधिकारीसँग सम्पर्क गर्दा पनि उनले ओलीको भ्रमण ‘नेपाल र चीनबीचको मामिला’ भन्दै कुनै प्रतिक्रिया दिन चाहेनन् ।

किन एकाएक फेरियो दिल्लीको व्यवहार ? यसका पछाडि पछिल्लो समय विकसित हुँदै आएको चीन र भारतबीचको सम्बन्धलाई प्रमुख कारण मान्छन् विदेश मामिलाका जानकारहरू । उनीहरू विदेश सचिव विजय गोखलेले गत फेब्रअुरीमा निर्देशन जारी गरेपछि चीनका सम्बन्धमा सार्वजनिक रूपमा प्रतिक्रिया जनाउने क्रम रोकिएको दाबी गर्छन् । तिब्बती धर्मगुरु दलाई लामाको भारत निर्वासनको ६० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा उपस्थित नहुन सरकारका तर्फबाट उच्च राजनीतिक तह तथा सरकारी अधिकारीलाई विशेष निर्देशन नै जारी भएको थियो ।

विदेश सचिव विजय गोखलेका तर्फबाट मन्त्रिपरिषद् सचिवले त्यस्तो निर्देशन जारी गरेका थिए । उक्त निर्देशन औपचारिक रूपमा कार्यक्रम विशेषका लागि भनिए पनि सरकारका बहालवाला र पूर्वअधिकारीहरू सबैलाई चीनका सम्बन्धमा कुनै पनि टिप्पणी नगर्न दिएको निर्देशन अहिले पनि उत्तिकै प्रभावकारी रहेको दिल्लीस्थित एक विदेश मामिलाका जानकारले बताए ।

त्यसमाथि गत महिना चीनको उहानमा सम्पन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चीन फिङबीचको अनौपचारिक ‘समिट’ पछि चीनसँगको सम्बन्धलाई लिएर नयाँदिल्ली अलि बढी नै संवेदनशील देखिन्छ । एक वर्षअघिको दोक्लम विवादका कारण चिसिएको सम्बन्ध उहान बैठकपछि सुधारोन्मुख देखिएको बुझाइ दिल्लीको छ ।

किनकि सम्बन्ध सुधारमा विदेश सचिव गोखलेको विशेष पहल रहेको थियो । त्यसकारण पनि बेइजिङमा भारतीय राजदूतसमेत रहिसकेका उनी चीनसँगको सम्बन्धलाई लिएर अलि बढी नै सजग देखिन्छन् । गोखलेकै पहलमा चीनका सम्बन्धमा कुनै टिप्पणी नगर्न निर्देशन जारी हुनुबाट पनि त्यो प्रस्ट हुन्छ । त्यसो त दिल्लीस्थित राजनीतिक विश्लेषकहरू आगामी वर्ष हुने लोकसभा चुनावपूर्व छिमेकहरूसँगको सम्बन्धलाई ‘रिसेट’ गर्ने नीतिअनुरूप पछिल्लो समय भारतले चीन र नेपालसितको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेको दाबी गर्छन् ।

चीन–नेपालसँग सम्बन्ध विस्तार गर्दा आफ्नो भूराजनीतिक चासो र संवेदनशीलतालाई चीनले विशेष ध्यान दिन्छ भन्ने कुरामा भारत विश्वस्त भएका कारण पनि ओलीको भ्रमणका बारेमा खासै संशय नराखेको दाबी गर्नेहरू पनि छन् । नयाँ दिल्लीस्थित थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसनका सिनियर फेलो तथा सुरक्षा र परराष्ट्र मामिलाका जानकार मनोज जोशी चीन र भारतबीच पछिल्लो समय विकसित ‘र्‍यापो’ का कारण पनि नयाँ दिल्ली मौन रहेको बताउँछन् । ‘दिल्ली र बेइजिङ नै सिधा संवाद र सम्पर्क छ र कुनै पनि कन्फ्युजन छैन,’ जोशीले भने, ‘अनि बाहिरी रूपमा देखिने गरी अनावश्यक चासो किन राख्नुपर्‍यो ?’

तर, अंग्रेजी न्युज पोर्टल द प्रिन्टकी राष्ट्रिय तथा रणनीतिक मामिला सम्पादक ज्योति मलहोत्रा भने यसलाई ओलीको दिल्ली भ्रमणको प्रभाव ठान्छिन् । ‘उक्त भ्रमणपछि दुई देशबीच कायम तिक्तता हट्न गई कर्मचारीका हातमा रहेको सम्बन्ध राजनीतिक ट्रयाकमा आएको छ,’ उनले भनिन्, ‘नेपाललाई पनि चीनजस्तो नयाँ मित्र चाहिने तर, त्यो मित्रता नेपाल–भारतबीचको सदियौं पुरानो र पारिवारिक सम्बन्धको बदलामा नहुने बुझाइ भारतको नेतृत्वमा विकास भएकाले पनि हो ।’

प्रकाशित : असार ५, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?